काठमाडौं । सर्वोच्च अदालतले नेकपा एकतालाई मान्यता नदिएर तत्कालिन एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि नेकपा (प्रचण्ड-नेपाल) समूहको स्थायी समिति बैठक सोमबार बसेको छ ।
आजको बैठक नेकपाको अन्तिम बैठक बनेको र अब सर्वोच्चको फैसला अनुसार पूर्व एमाले र माओवादी केन्द्र अलग अलग भएको तत्कालिन नेकपाका प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
‘तत्कालिन अवस्थामा एमाले र माओवादी केन्द्रबीच गरिएको एकता सही थियो । अब सर्वोच्चको निर्णयलाई कार्यान्वयन गर्दै एमाले र माओवादी केन्द्र अलग भएका छन् । आजको बैठक सायद नेकपाको रुपमा अन्तिम हो’ श्रेष्ठले भन्नुभयो ।
उहाँले पार्टी एकतालाई फेरि पनि कायम राख्न आ–आफ्नो ठाउँबाट पहल राख्ने समझदारी बनेको बताउनुभयो । बैठकमा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायत नेताहरु सहभागी थिए । बैठकपछि नेताहरु आ-आफ्नो पूर्वपार्टीमा फर्किएका छन् ।
यसैगरी, नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतले पार्टीको बारेमा गरेको निर्णयलाई सम्मान तथा कार्यान्वयन गर्ने बताउनुभयो ।
‘सर्वोच्च अदालतले मुलुकको परिस्थितिलाई तीन वर्ष अगाडिको अवस्थामा धकेलिदिएको छ,’ खनालले भन्नुभयो, ‘हामी दुई वटा कम्युनिष्ट पार्टी एक भएर नेकपा बनेका थियौं अब सर्वोच्चको फैसलाले त्यसलाई विघटन गर्ने, अवरोध पार्ने गरेको छ। अब हामी फेरि एकपटक नेकपा एमाले र माओवादी केन्द्र भइयो।’