काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित संयुक्त सभामा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सरकारका वरिष्ठ मन्त्री तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका महासचिव विप्लवलगायत वरिष्ठ नेताहरु उपस्थित भएका छन् ।
मञ्चमा सरकारको तर्फबाट प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री एवम् वार्ता टोलीका संयोजक रामबहादुर थापा उपस्थित छन् भने विप्लव समूहका तर्फबाट महासचिव चन्दसहित नेताहरु खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला र वार्ता टोलीका सदस्य दीपक चलाउने उपस्थित छन् ।
कार्यक्रमको सञ्चालन सरकारी वार्ता टोलीका सदस्य प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले गरेका छन् भने स्वागत विप्लव समूहको वार्ता टोलीका सदस्य दीपकले गरेका छन् ।
तीन बुँदे सहमति पत्र यस्तो छ,
१० दुवै पक्ष नेपाल सरकार र नेकपा वार्ता र संवादबाट समस्या समाधान गर्न सहमत भएका छौंँ ।
२० नेपाल कम्युनिष्ट पार्टी सबै क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।
३० नेपाल कम्युनिष्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्ध हटाउन, बन्दी रिहाइ र सबै मुद्दा खारेज गर्न सहमति भएको छ ।