काठमाडौं । एक्स्काभेटरले ठक्कर दिएर घाइते भएकी एक महिलालाई चालकले जिउँदै खाल्डोमा पुरेका छन् । सोमबार खाल्डोमा पुरिएकी महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
धादिङको त्रिपुरासुन्दरी–१ सल्यानटारमा घाँसको भारी बोकेर हिँडिरेकी ४५ वर्षीया सरस्वती कुमाल एक्स्काभेटरको ठक्करबाट घाइते भएकी थिइन् । एक्स्काभेटर चालक भीमबहादुर बुढाथोकीले खाडलमा खसेकी महिलालाई उद्धार नगरी खाल्डोमा ढुंगामाटो खन्याएर पुरेका स्थानीयको आरोप छ। खाल्डोमा मान्छे खसेको र चालकले माथिबाट माटोले पुर्दै गरेको दृश्य बसका यात्रुले देखेपछि हल्लाखल्ला भएको थियो ।
बुढाथोकी त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपे सडक निर्माणमा खटिएका एक्स्काभेटर चालक हुन् । घटनापछि चालक बुढाथोकी फरार भएका प्रहरीले जनाएको छ । सडक निर्माणमा खटिएका मजदुरले खाल्डो खनेर कुमालाई बाहिर निकालेका थिए । त्यतिबेलासम्म कुमालको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
कुमालको शव परीक्षणका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटनापछि स्थानीयले एक्स्काभेटरमा ढुंगामुढा गर्नुको साथै आगजनीसमेत गरेका छन् । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।