मोहनविक्रम सिंह
चौथो महाधिवेशनको आलोचना गर्दै झापाली गुट लेख्दछ : “यो गद्दार गुट गद्दार मनमोहन गुटको स्थान ओगटेर सिर्फ विनाशको उपकथा बन्नका लागि राजनीतिक रङ्गमञ्चमा उभिएको छ ।” (व.सं. अङ्क १, पृ. ४०)
शम्भुरामले हाम्रा विषयमा भविष्यवाणी गर्दै भनेका थिए : उनीहरूको अस्तित्व ३ महिनाभित्र खतम हुनेछ । तर त्यसपछि ४ वर्षको लामो समय बितिसकेको छ । चौथो महाधिवेशनलाई “समीक्षा”ले अन्तिम दीपशिखा भनेको थियो । पुष्पलाल गुटले घोषणा गर्यो : “के. न्यू. तासको घर झैँ भत्कन थाल्यो” (नयाँ जनवाद, माघ २, २०३१)
त्योभन्दा धेरै पहिले शम्भुरामले भविष्यवाणी गरेका थिए : “के.न्यू, ३ महिनाभन्दा बढी रहने छैन ।” अब उग्र“वामपन्थी”हरूले हाम्रो पार्टी र आन्दोलनलाई “सिर्फ विनाशको उपकथा” बताएका छन् ।
यसरी स्पष्ट छ कि हाम्रो अन्तय र विनाशको भविष्यवाणी गर्नेबारे दक्षिणपन्थीहरूमा सधैँ होडबाजी चल्दै आएको छ र अब झापाली गुट पनि त्यसमा सामेल भएको छ । तर यस प्रकारका भविष्यवाणीहरूले हाम्रो अन्त्य हुँदैन । खालि एउटै अवस्थामा नै हाम्रो अन्त्य हुन सक्दछ, त्यो अवस्था हो : हाम्रो क्रान्तिकारी चरित्रको ह्रास । जबसम्म हामी आफ्नो क्रान्तिकारी चरित्रप्रति इमान्दार, सच्चा र दृढ रहन्छौँ, दुनियाँको कुनै शक्तिले हामीलाई खतम पार्न सक्दैन । हाम्रो विरुद्धको भविष्यवाणीहरू गलत साबित हुँदै गए, किन ? किनभने उनीहरूमा त्यस प्रकारका भविष्यवाणीहरू हाम्रो चरित्रका सही अध्ययन र विश्लेषणमाथि आधारित थिएनन् । अब उनीहरूले के चाहन्छन् ? दक्षिणपन्थी र “वामपन्थी” अवसरवादीहरूका बिचमा जुनसुकै प्रकारले अन्तर किन नहोस् । तर उनीहरूका भविष्यवाणीबाट प्रस्ट हुन्छ कि उनीहरू यसबारे एकमत छन् : दुवैथरीले हाम्रो अन्त्य चाहन्छन् ।
आफ्ना मुखपत्रहरूमा उनीहरूले हामीलाई “संशोधनवादी गुट”, “क्रान्तिका शत्रु”, “प्रतिक्रान्तिकारी पार्टी”, “अन्तर्राष्ट्रिय केन्द्र सोभियत संशोधनवादलाई मानेर काम गर्ने तत्व”, “नेपालमा क्रान्तिलाई खतम पार्ने साम्राज्यवादी योजनाकै सहयोगी”, “अमेरिकी साम्राज्यवादकै मद्दतगार” आदि बताएका छन् । तर यो राजनीतिक आलोचना होइन । गालीगलौज हो । उनीहरूले राजा र काङ्ग्रेससम्मलाई एउटालाई अमेरिकी साम्राज्यवाद र अर्कालाई सोभियत सामाजिक साम्राज्यवादका दलाल बताएका छन् । उनीहरूले राजाका क्याम्पमा हुनेहरूलाई अमेरिकी, काङ्ग्रेसका क्याम्पमा हुनेहरूलाई भारतीय वा रूसी दलाल बताएका छन् । यो विभाजन उनीहरूको यो समझदारीमाथि आधारित छ कि आजको रूसी र अमेरिकी प्रतिस्पर्धाका पृष्ठभूमिमा कोही या त एउटाको दलाल हुन्छ या अर्काको र कोही एकैसाथ दुवैको दलाल हुन सक्दैन । त्यही नियम अनुसार उनीहरूले रायमाझी र पुष्पलालहरूलाई रूसी र भारतीय दलाल भनेका छन् । (व.सं. अङ्क १, पृ. क्रमशः १६–५५)
त्यो अवस्थामा हामीलाई एकातिर रूस र अर्कोतिर अमेरिकाका दलाल बताउनु स्वयं उनीहरूको घोषित राजनीतिसित अमिल्दो कुरा हो । यो एउटा मात्र उदाहरणबाट पनि यो बताउन पर्याप्त छ कि उनीहरूले हामीलाई जे भनिरहेका छन्, त्यसका पछाडि कुनै सैद्धान्तिक र राजनीतिक आधार छैन । त्यो सिर्फ गाली–गलौज मात्र हो । आखिर उनीहरू यस प्रकारको गाली–गलौजमा किन उत्रे ?
“गाली–गलौजको राजनीति” भन्ने एउटा लेखमा लेनिन लेख्दछन् : “राजनीतिमा गाली नै प्रायः गाली गर्नेको दुःखलाग्दो शक्तिहीनता, असहायपन, विचारधारात्मक सन्तोषको कमीलाई पूर्ण रूपले ढाकिदिन्छ ।” (१)
रूसी संशोधनवादीहरूले अपनाएको त्यही प्रकारको नीतिको चर्चा गर्दै जनदैनिक र रातो झण्डाले लेखेका छन् – सोभियत संशोधनवादी नेताहरूले “आफ्नो सिद्धान्तको पूर्ण कमी, उनीहरूको असहायपन र दुःखलाग्दो शक्तिहीनता स्तालिनलाई गाली गरेर लुकाउन खोजेका छन् ।”(२)
झापालीहरू हाम्रा विरुद्ध जसरी एकदम तल्लो स्तरको गाली–गलौजमा उत्रेका छन् । त्यसबाट उनीहरूको “सिद्धान्तको कमी”, “असहायपन” र “दुःखलाग्दो शक्तिहीनता” नै प्रकट हुन्छ ।
उनीहरूले आफ्नो विरोधीहरूलाई “राक्षस”, “नकक्चरा”, “बहुला कुकुर”, “बदमास”, “पागल” आदि शब्द ओकलेका छन् । यो वास्तवमा पातलो सर्मावाद(३) लाई झापाली गुटले पुनः वामपन्थी राजनीतिमा पुनजीर्वित गरेको छ । एकपल्ट माक्र्सवादी साहित्यमा उग्ररूपमा देखापरेका पातलो सर्मावाद अन्त्यमा प्रतिक्रियावादी शक्तिहरूका अगाडि आत्मसमर्पणमा बदलियो । हामी कामना गर्दछौँ, वामपन्थी राजनीतिमा नयाँ रूपमा देखापरेको पातलो सर्मावादको झैँ त्यही हाल नहोस् ।(४)
उनीहरू लेख्दछन् : “मोहनविक्रम गुट अरू सबै गुटले जस्तै तर अझ अगाडि बढेर यस गुटले झापाको महान् किसान विद्रोहको विरोध गर्यो । सहिदका रगतको अपमान गर्यो । त्यस विद्रोहलाई व्यक्तिहत्या, आतङ्कवाद, जोश त राम्रो हो, तर बाटो गलत छ भनेर विकृत रूपमा प्रचार गर्यो ।” (व.सं.अङ्क १, पृ. ५६)
यो सत्य हो, दक्षिणपन्थी भड्कावका विरुद्ध झै उग्र“वामपन्थी” भड्कावका विरुद्ध पनि हामीले सधैँ नै अगाडि बढेर सङ्घर्ष गर्दै आएका छौँ । हामीले उनीहरूको विरोध गरेका हुनाले नै उनीहरूले हाम्रो विरोध गरे । यसरी उनीहरूको हामी विरुद्धको आक्रमणको पछाडि हाम्रो आलोचनाबाट उनीहरूमा उत्पन्न उत्तेजना झुंझलाहट नै एउटा मुख्य कारण हो । उनीहरूका आरोपहरू उनीहरूका प्रतिशोध बदलाका भावनाहरूमाथि आधारित छन् ।
उनीहरू लेख्दछन् : “तिनीहरूले चौथो महाधिवेशन गरेर जुन पार्टीको निर्माण गरे, त्यो प्रतिक्रान्तिकारी पार्टी मात्रै हो । त्यसैकारण झापाका गतिविधिहरूलाई यिनीहरूले अति घृणाका साथ त्यस सङ्घर्षलाई “व्यक्तिहत्या, आतङ्कवाद र उग्रवादको संज्ञा दिएका र क्रान्तिकारीहरूलाई हत्यारा, आतङ्कवादी र अराजकतावादी आदि भनेर तीव्र निन्दा गरेका र तिनीहरूका बारेमा कुत्सित प्रचार गरेका थिए ।” (व.सं. अङ्क १, पृ. ४१)
हो, “त्यसकारण” अर्थात् हामीले उनीहरूमाथि “आतङ्कवादको” आरोप लगाएकाले माक्र्सवादी–लेनिनवादी सिद्धान्तको विरुद्ध गएर पनि उनीहरूको प्रशंसा गरेको भए उनीहरूले हाम्रो पार्टीलाई क्रान्तिकारी पार्टी ठान्थे होलान् । उनीहरूको यो प्रवृत्तिले बताउँछ कि उनीहरूमा आत्मालोचना गर्न र आलोचनालाई रहने र बुझ्ने लेनिनवादी स्प्रिटको कति धेरै कमी छ ? आलोचनाप्रतिको उनीहरूको यो कट्टरपन्थी दृष्टिकोण र प्रशंसाको भोकको नै परिणाम हो कि उनीहरू एक ठाउँमा पी.एल. गुटसम्मको पक्ष लिन पुगेका छन् । हाम्रो पार्टीले सच्चा माक्र्सवादी–लेनिनवादी स्प्रिट र इमानदारी अनुसार उनीहरूका गलत नीतिको अरूलेभन्दा “अझ अगाडि बढेर” विरोध गरेकाले हाम्रा विरुद्ध आफ्नो विरोध देखावटी प्रशंसा अपनाएकाले उनीहरू त्यसको समर्थन गर्न पुगे ।
उनीहरू लेख्दछन् : “मनमोहन र मोहनविक्रम दुवैले पुष्पलालको विरोध गर्दै राजालाई नरम देखाउँछन् ।” (व.सं. अङ्क १, पृ. ४१)
यसरी पुष्पलालको विरोध गरेकोमा उनीहरूले प्रतयालोचना गरेका छन् । यो सीधै पुष्पलाल गुटको समर्थन हो । उनीहरूले पुष्पलाल गुटलाई “गद्दार गुट” भनेका छन् अनि त्यही गुटको हामीले गरेका आलोचनाको विरोधको अर्थ के हो ? कुरा प्रस्ट छ उनीहरूले कसैप्रतिको नीतिलाई त्यसको राजनीतिक चरित्र होइन, उसले गरेको प्रशंसा वा आलोचनालाई आधार बनाएर निश्चित गर्दछन् । त्यही गलत दृष्टिकोणले गर्दा नै उनीहरू हाम्रो पार्टीको यथार्थ मूल्याङ्कन गर्न असमर्थ भएका छन् र एउटा सच्चा माक्र्सवादी–लेनिनवादी पार्टीलाई प्रतिक्रान्तिकारी घोषित गर्न पुगेका छन् । उनीहरूको हामीले आलोचना गरेका छौ“ । तर उनीहरूका विरुद्ध “अति घृणाका साथै” “कृत्सा प्रचार” गरेका छैनौँ ।(५)
यसो गर्नु हामी गैह्रराजनीतिक तरिका सम्झन्छौँ । हाम्रो आलोचना सैद्धान्तिक किसिमको र मैत्रीपूर्ण रहेको छ । त्यतिमात्र होइन, हामीले उनीहरूको “स्प्रिट”को प्रशंसा गरेका छौँ र उनीहरूका विरुद्ध भएको सरकारी दमन र हमलाको विरोध गरेका छौँ । यो कुरा पहिले नै उल्लेख भइसकेको छ । उनीहरूले हाम्रा विरुद्ध जुन आरोप लगाएका छन्, हाम्रो मैत्रीपूर्ण आलोचनाका पछाडिको स्प्रिट बुझ्न नसकेर नै हो । उनीहरूका दृष्टिमा आलोचना भनेपछि त्यो प्रत्येक अवस्थामा शत्रुतापूर्ण हुन्छ, उनीहरूले हामीमाथि “सहिदको रगतको अपमान” गरेको आलोचना गरेका छन् । दुश्मन वर्गका विरुद्धको सङ्घर्ष आत्मोत्सर्ग गर्ने तत्वहरूप्रति हाम्रा मनमा सधैँ आदरको भावना हुन्छ र उनीहरूलाई हामी सहिद मान्दछौँ । तर आदरको अर्थ उनीहरूका गलत विचार र कार्यप्रणालीको सिद्धान्तहीन समर्थन होइन र हनुहुन्न ।
संशोधनवादको मापदण्ड के हो ? त्यो छुट्टाउन उनीहरूले जुन मापदण्डको प्रयोग गरेका छन्, त्यसले उनीहरूलाई अत्यन्त हास्यास्पद बनाइदिएको छ । उनीहरूले आफ्नो कथित झापाको “लाइन”लाई माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ्ग विचारधाराको समकक्ष पुर्यएका छन् र यो दावा गरेका छन् : जसले यो “लाइन”लाई मान्दैन, त्यो संशोधनवादी हो । उनीहरूले यहाँसम्म दावा गर्न पुगेका छन् : “झापा आज क्रान्तिको मापदण्ड बन्दैछ । (व.सं. अङ्क १, पृ ३३)
त्यसेको लाइनलाई केन्द्रित गरी देशभरि नै संशोधनवाद विरोधी निर्णयात्मक लडाइ चल्न थालेको छ ।”(६) उही
प्रथमतः यो इलाकीय अहंवादको नाङ्गो प्रदर्शन हो । त्यसमाथि माक्र्सवाद–लेनिनवादका संस्थापकहरूले हमेशादेखि नै व्यक्तिगत आतङ्कवाद र उग्र“वामपन्थी” भड्कावका विरुद्ध सङ्घर्ष गर्दै आएका छन् । माक्र्सवाद–लेनिनवादका क, ख, गसम्मको ज्ञान भएको मानिसबाट यो छिपेको छैन । यो माक्र्सवाद–लेनिनवाद बाहिरको निम्न पुँजीवादी प्रवृत्ति हो । यही निम्न पुँजीवादी भड्काव झापाको “लाइन”लाई माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ्ग विचारधारालाई जाँच्ने कसौटी बनाइँदैछ । सही तरिका यो हो : हामीले माक्र्सवादी–लेनिनवादी सिद्धान्तको कसौटीमा झापाको “लाइन”लाई पनि जाँच्नु पर्दछ । तर झापालीहरूले त्यसको ठीक विपरीत गर्दैछन् । झापाको कथित लाइनका कसीमा माक्र्सवाद–लेनिनवादलाई जाँच्ने । उनीहरूको व्याख्या अनुसार कोही व्यक्ति सच्चा क्रान्तिकारी र माक्र्सवादी–लेनिनवादी बन्नका लागि त्यसले माक्र्सवाद–लेनिनवादलाई मान्नु मात्र पर्याप्त हुँदैन । तर निर्णयात्मक कुरा यो हो रे : उसले झापाको “लाइन”लाई समर्थन गरोस् । नत्र त्यो संशोधनवादी, गद्दार र अवसरवादी हो रे ?
झापालीहरूले लेखेका छन् : “मोहनविक्रम केही दुईचारवटा भ्रमलाई जोडेर नयाँ मानिसहरूलाई अल्मल्याउन अगाडि बढ्दैछ ।” (व.सं.अङ्क १, पृ. ४२)
हामीले हा–हामा कुरा नगरौँ । हामीले तथ्यलाई अगाडि राखेर कुरा गरौँ । त्यसो गर्ने बित्तिकै स्पष्ट हुने छ कि “केही दुईचारवटा भ्रमलाई जोडेर नयाँ मानिसहरूलाई अल्मल्याउने” काममा झापालीहरू नै अगाडि लागिरहेका छन् । त्यो कार्य उनीहरूले सत्यको गला घोटेर गरिरहेका छन् । उनीहरूले एक–दुई ठाउँमा त्यसो गरेका भए त यो सोच्न सकिन्थ्यो : सायद गल्ती र अज्ञानतावश त्यसो भयो होला ? होइन, यो कार्य उनीहरूले यति धेरै गरेका छन् कि – चौथो महाधिवेशनद्वारा पारित “प्रतिवेदन”मा प्रेसको गल्तीले यो लेखिन गएको छ : “मध्यम किसान र गाउँलाई पार्टी सङ्गठनको आधार बनाउनु” पार्टीको नीति हुनुपर्दछ । (क्रान्ति र पार्टीका तात्कालिक समस्याहरू, पृ. ९८)
त्यो छपाइमा भएको गल्ती थियो । हामी यो भन्न सक्दैनौँ, त्यो गल्ती प्रेस कापीमा भएको थियो वा “प्रुफ रिडिङ”मा ? तर चौथो महाधिवेशनमा पारित “प्रतिवेदन”को गुरुकापीमा स्पष्टसित लेखिएको छ – “मजदुर, किसान र गाउँलाई पार्टी सङ्गठनको आधार बनाउनु” त्यो मूलप्रति हामीसित सुरक्षित छ, यहाँ मजदुर शब्द गल्तीले “मध्यम” लेखिन पुग्यो । मसाल (वर्ष २, चैत्र २०३१)
त्यसको मूल सुधार दिइएको छ । माथिको पंक्तिका ठीक अगाडि लाइनमा लेखिएको छ : “किसानहरूमा सङ्गठन गर्दा गरिब किसान र खेत मजदुरका बिचको कामलाई विशेष प्राथमिकता दिनु” (क्रा.र.पा.का तात्कालिक समस्याहरू, पृ. ९८)
मध्यम किसानलाई पार्टी सङ्गठनको आधार बनाउने विचार राख्दछौँ भनेर प्रचार गर्नु तथ्यको भद्दा प्रकारको तोडमोड हो । यही प्रसङ्गमा पार्टीको वर्तमान अवस्थाको आलोचना वा आत्मालोचना गर्दै लेखिएको छ : किसान वर्गको बीचमा पनि पार्टीको काम सामान्यतः धनी किसान र विशेषतः मध्यमवर्गका बीचमा नै सीमित छ । गरिब किसान र खेत मजदुरका बीचमा कहीँ पनि काम भएको छैन । मजदुर भन्ने कुरा त क्रमशः किसान, बहस र पार्टी दस्तावेजहरूको विषय मात्र बन्न पुगेको छ । पार्टीका लागि यो भन्दा ठुलो दुर्गतिको विषय अरू के हुन सक्दछ ? (क्रा.पा.ता. समस्याहरू, पृ. ९७)
यसरी “भूल सुधार” बिना पनि माथिका प्रसङ्गहरूबाट यो बुझ्न गाह्रो पर्दैन कि हामीले मध्यम किसानहरूलाई पार्टी सङ्गठनको आधार बनाउने जस्ता सिद्धान्तहीन कुरा गरेका थिएनौँ । तर त्यो छपाइको गल्तीलाई त्यो पनि हाम्रो भूल सुधार प्रकाशित भएको करिब ३ महिनापछि उनीहरूले हामीमाथि आक्रमणको माध्यम बनाए । उनीहरूले लेखे : “यो गुट …..मध्यम किसानलाई पार्टीको आधार बनाउने कुरा गर्दछ”(७) (व.सं. अङ्क १, पृ. ४३)
उनीहरूको तर्क र आलोचनाको आधार कति कमजोर रहेछ ? त्यसको यो एउटा राम्रो उदाहरण हो ।(८)
माथि त उनीहरूको बेइमानी तथ्यलाई केही बङ्ग्याएर प्रस्तुत गर्नेसम्म मात्र सीमित छ । तर उनीहरूले सोझै र खुला रूपले झूठो बोलेका पनि थुप्रै उदाहरण पाइन्छन् । उनीहरू लेख्दछन् : “दोस्रो महाधिवेशन ०१४ देखि नै गद्दार मनमोहन र मोहनविक्रम दुवैले “विधान सभा”को माग गर्ने संशोधनवादी लाइन लिए । फेरि संसदको निर्वाचन गर्ने लाइनलाई मान्दै २०१५ सालको चुनावमा भाग लिन पुगे । (व.सं. १, पृ. ४१)
यो सबैलाई थाहा भएको कुरा हो कि मनमोहन द्वितीय महाधिवेशनमा उपस्थित थिएनन् । उनी उपचारका लागि चीन गएका थिए । चीनबाट फर्केपछि पनि उनले संविधानसभाको लाइनलाई कहिल्यै समर्थन गरेनन् । त्यसै गरेर उनले ०१५ सालको चुनावमा भाग लिएको भन्ने कुरा पनि झूठो हो । यी सबै कुरा हामीले मनमोहनको रक्षाका लागि गरिरहेका छैनौँ । यी सब कुरालाई खालि यो कुराको नमूनाका रूपमा प्रस्तुत गरिरहेका छौँ – झापाली गुटले कति धेरै झुठो बोल्दो रहेछ ?”
मोहनविक्रमले द्वितीय महाधिवेशनदेखि नै विधान सभाको लाइन लिएको सत्य हो । तर तृतीय महाधिवेशनमा उनले लिएको लाइनबारे उनीहरूले पुनः झुठो बोलेका छन् । उनीहरू लेख्दछन् ः “संसदको विघटनपछि…. मोहनविक्रमको संविधानसभा” माग गर्ने लाइन पनि “सर्वसत्तासम्पन्न” संसदको नजिक हुनाले यसले पनि त्यही लाइनलाई स्वीकार गर्यो । (व.सं. अङ्क १, पृ. ४१)
टी.एल.ले तृतीय महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र र सर्वसत्तासम्पन्न संसदको प्रस्ताव पेश गरेका थिए । अनि उनले “सर्वसत्ता सम्पन्न संसद”को लाइन स्वीकार गर्ने कुरा कहाँबाट उठ्दछ ? पछि पनि उनले टी.एल. को लाइनलाई समर्थन गरेनन् ।(९)
उनीहरूको विराटनगरको एउटा मजदुर आन्दोलन र हड्तालको सिलसिलामा भएका “पर्चाबजी”को चर्चा गर्दै लेखेका छन् : “नयाँ र पुराना संशोधनवादी गुट, खासगरी मोहनविक्रम तथा डी.पी. गुटले पर्चा राजनीतिको विरुद्धमा “यसले मजदुरहरूको हत्या हुन्छ, पक्राउ परेका मजदुरहरू छुट्दैनन्” भनेर प्रचार गर्न थाले ।” (व.सं. अङ्क २)
झूठको पनि एउटा सीमा हुन्छ तर एकपल्ट लाज पचाइसकेपछि सायद जति झूठ बोल्न पनि लाज लाग्दैन । त्यहाँ कुन प्रकारको अवस्थामा पर्चाबाजी गरियो र कसले त्यसको विरोध ग¥यो ? त्यसबारे हामीलाई केही पनि थाहा छैन । त्यहाँको कोशी–मेची प्रान्तीय कमिटीलाई हाम्रो पार्टीले धेरै पहिले नै भङ्ग गरिसकेको छ र त्यसका प्रमुख व्यक्तिहरूलाई पार्टीबाट निष्काशित गरेको छ । अनि त्यहाँ कुन मानिसहरूका कार्यलाई झापाली गुट हाम्रो “गुट” को कारबाहीको रूपमा प्रचार गरिरहेका छन् ? हामी विभिन्न आन्दोलनहरूका सिलसिलामा पर्चा निकाल्ने कुराको विरोधी छैनौँ । चौथो महाधिवेशनमा पारित प्रतिवेदनमा भनिएको छ : “गतकालमा पार्टीभित्र यहा“सम्म गलत धारणाले काम गरेको थियो कि राजा र व्यवस्थाका विरुद्ध एउटा पर्चासम्म निकाल्नु गलत बताइन्थ्यो ।” (क्रान्ति र पार्टीका तात्कालिक समस्याहरू, पृ. ५५)
यसरी हामी जनतामा आफ्नो राजनीति पुर्याउने एउटा प्रभावशाली माध्यमको रूपमा पर्चाको आवश्यकता र महत्वलाई स्वीकार गर्दछौँ । यस प्रकारको पर्चावाजी वा खुला जनसङ्घर्षको नीतिलाई सबैभन्दा विरोध गर्ने तत्वहरू अरू कोही थिए भने उग्र“वामपन्थी” तत्वहरू नै । पहिले त्यसलाई उनीहरूले संसदीय तरिका बताउँथे । अनि फेरि कहिलेदेखि त्यसलाई क्रान्तिकारी तरिका सम्झन थाले?
माथिका केही उदाहरणबाट यस्तो देखापर्दछ : झुठो बोल्ने र तथ्यहरूको तोडमोड गर्नेबारे कही“ उनीहरू पी.एल. र टी.एल.भन्दा अगाडि बढ्न खोजेका ता होइनन् ?
फुटनोट
१. लेनिन दो कार्यनीतियाँ, (सं. र भाग १), पृ. १५२
२. स्तालिनबाट अनुदिन जोशी प्रकाशन, चितवन, पृ…
३. पातलो सर्मावाद भन्नाले यहाँ तारानाथ शर्माको गोली–गलौजको शैलीलाई लिइएको छ । थाहा भए अनुसार अब उनीहरू पातलो स बाट मोटो श मा बदलिइसकेका छन् रे ? तर उनको मौलिक विशेषता – निम्नस्तरको गाली–गलौजको शैली यथावत् छ । त्यसकारण पातलो सर्मावाद आज पनि कायम छ भन्नु अत्युक्ति हुने छैन ।
४. पातलो सर्मावादलाई व्यवहारमा ढाल्नेबारे पी.एल. गुटबाट चोइटिएको एउटा चोइटाइले झापाली गुटलाई पनि उछिनेर धेरै अगाडि बढेको छ । उनीहरूले प्रयोग गरेको शब्दावलीबाट यो कुराको ज्ञान हुन्छ । हालसालै लिथोद्वारा प्रचारित दुईवटा पत्रिकाहरू “बिउँझ” र “आÞवान” मा उनीहरूले मोहनविक्रम र लामालाई यी शब्दहरूले सम्बोधन गरेका छन् : “लाजले मर्नै नसकेको गद्दार”, “वर्गीय रूपमा सामन्त शोषक”, “पुरानो काङ्ग्रेस, फटाहा, डरछेरुवा, मर्नदेखि डराउने”, “सङ्घर्षदेखि भाग्ने”, “आत्म–समर्पणवादी”, “कातर”, “नेपाल कम्युनिस्ट आन्दोलनको नकारात्मक र घृणित उदाहरण”, “संशोधनवादी गद्दार”, “लाज पचेको वर्गशत्रु”, “आत्म–प्रचारवादी”, “घिनलाग्दो, नेतृत्वको भोकाहरूको एक कुरूप उदाहरण”, “षड्यन्त्रकारी”, “जाली फटाहा”, “हत्यारा पु“जीवादी डिग्री लिन आई.ए., बी.ए. पास गर्ने, सामन्ती छाउरा”, “सामन्तवादको पैताला चाट्ने चुत्थो नोकर, नक्कली क्रान्तिकारी”, “रातो लुगा लगाउको वर्गशत्रु”, “इष्र्यालु”, “ठग”, “खुङ्खार शोषकको छोरा”, “खुद एक खुङ्खार शोषक”, “जनविरोधी”, “महत्वाकाङ्क्षी”, “क्रान्ति विरोधी”, “कालो सर्प”, “धोकेवाज” आदि । अन्त्यमा उनीहरू लेख्दछन् : विश्वासघात गर्नुको सट्टा (मोहन विक्रम) जेलमै किन मर्न सकेन ? उनीहरूको इच्छा अधुरो रहेकोमा हामीलाई दुःख छ । उनीहरूप्रति सहानुभूति प्रकट गर्दै हामी भन्न चाहन्छौ“ ऊ गर्भमै किन मर्न सकेन ?
माथि उल्लेख गरिएका दुवै पत्रिकाहरू “खोटा विचार” गुटकातर्फबाट निकालिएका हुन् । त्यो गुटको राजनीतिक समझदारी समष्टि रूपमा “नेपाल कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन” मा देखापरेको छ । (ले.का.रोहित)
त्यसमा “नयाँ जनवादी कार्यक्रमलाई थन्क्याएर पनि कम्युनिस्ट एकता कायम गर्ने वा आन्दोलनलाई अगाडि बढाउने तथा राजतन्त्र र गणतन्त्रको” गन्थनमा फस्ने होइन आदि खोटा विचारहरू अगाडि ल्याएको छ । त्यसकारण उनीहरूलाई “खोटो विचार” गुट भन्नु अनुचित हुने छैन । यो पुस्तिकामा उनीहरूले “उत्ताउलो कम्युनिस्ट”को आलोचना गरेका छन् । उनीहरूले लेखेका छन्ः “एकजना, दुईजना व्यक्तिलाई मार्ने व्यक्तिगत आतङ्क”को बाटो “खोटो” विचार हो । (पृ.७६)
उनीहरूले नेपालका उग्र“वामपन्थी” कम्युनिस्टलाई “नेपाली उत्ताउला कम्युनिस्टहरू” भनेका हुन् । यो स्पष्ट झापालीलाई भनेको हो । झापाली गुटको आलोचना गर्दै उनीहरू लेख्दछन्ः “हाम्रा नेपाली उत्ताउला कम्युनिस्टहरूले तिनीहरूका सबै गतिविधि र फलानाहरूलाई समर्थन नगरेकोमा आँखा रातो पारी बहुला भएर जथाभावी गाली गर्ने, सराप्ने र डन्कुइस्टले जस्तै अचानक मौखिक वा लिखित आक्रमण गर्न थालेका छन् ।” (उही पृ.७३)
तर मोहनविक्रमलाई गाली गर्ने प्रश्नमा भने उनीहरूले झापाली गुटसित आफ्नो सहमति व्यक्त गरेका छन् । त्यो कुराको चर्चा गर्दै “खोटा विचार” गुटकातर्फबाट निक्लेको आव्हान लेख्दछः “ऊ (मोहनविक्रम) न घरको हुने छ, न घाटको । शायद त्यसैले होला झापाका साथीहरूले त्यस कुख्यात वर्ग–शत्रुलाई बिना बर्दीको पुलिस भनेर पहिले नै घोषणा गरिदिएको ।” त्यसरी मोहनविक्रमलाई बिना बर्दीको पुलिस भनेको खुशियालीमा पहिले आफैंले “बहुला” र “डनकुइस्ट” जस्ता भन्न पुगेको “नेपाली उत्ताउला कम्युनिस्टहरू” उनीहरूका लागि “झापाली साथी” बन्न पुग्छन् ।
५. १०२९ साल फागुन १६ गते “मातृभूमि”मा प्रकाशित भरतमोहन अधिकारी, कमल कोइराला, महेश उपाध्यायको संयुक्त वक्तव्यमा भनिएको छ : “आज देखापरेको राजनीतिक दृष्टिले व्यक्तिगत हत्या गर्ने जस्तो घृणित कार्यको घनघोर विरोध गरिनुपर्दछ । दोषीले सजाय पाउनुपर्दछ ।” बताइरहनु पर्ने आवश्यकता छैन कि यस प्रकारको विचारसित हाम्रो कहिल्यै सहमति र समर्थन रहेन । हामीले झापाली गुटको कार्यविधिलाई उग्र“वामपन्थी” अर्धअराजकतावादी बतायौँ । तर त्यसलाई “घृणित कार्य” बताउने वा उनीहरूलाई “सजाय हुनुपर्दछ” भन्ने जस्ता घृणित विचार प्रकट गरेनौँ । त्यही सन्दर्भमा मोहनविक्रम सिंहको एउटा वक्तव्य पनि पत्र–पत्रिकाहरूमा प्रकाशित भएको थियो । (हेर्नुहोस् परिशिष्ट ख)
तर त्यसमा पनि झापाली कारबाहीलाई घृणित कार्य बताइएको छैन न दोषीले सजाय पाउनु पर्छ नै भनिएको छ । सामाजिक दृष्टिले यसको उपयोगिता ऋणात्मक नै बढी भएका कारणले मात्र । यसबारे मसालमा प्रकाशित का. छपालीको लेख “झापाकाण्ड” ले त्यसबारे हाम्रो दृष्टिकोणलाई स्पष्टसित राखेको छ । (हेर्नुहोस् परिशिष्ट ख)
त्यसमा पनि उनीहरूको कार्यलाई कतै घृणित भनिएको छैन, त्यसको उल्टो हामीले स्पष्ट शब्दमा उनीहरूको स्प्रिटको समर्थन गरेका छौँ ।
६. पहिले लिथोद्वारा प्रचारित “राजनीतिक र विचारधारात्मक कार्य दिशा सही या गलत हुनुले नै सब कुराको निर्णय गर्दछ” भन्ने लेखमा वाक्य थियो : “झापा आज क्रान्तिको मापदण्ड बन्दैछ ।” तरपछि “वर्गसङ्घर्षमा प्रकाशित रूपमा आएका त्यो लेखमा यो वाक्य हटाइएको छ । यो उनीहरूको “इलाकीय अहंवाद” मा कमी आएको कुराको प्रमाण हो या त्यसबाट उनीहरूको इलाकावादी दृष्टिकोण नाङ्गिएकोले त्यसलाई ढाक्ने चाल† तर यो प्रस्ट हुनु पर्छ कि खाली एउटा वाक्यको हेरफेरले कसैको चरित्र बदलिंदैन ।”
७. पहिले प्रसारित मूल कापीमा यतिमात्र लेखिएको थियो । अहिले मुद्रित लेखमा हातले थपेर लेखिएको छ, गुट “जमिन्दार, धनी किसान रमध्येम किसानलाई पार्टीको आधार बनाउने काम गर्दछ ।” केही महिना भित्रमात्र उनीहरूले अर्को गालीको आविष्कार गरे । तर अर्को ठाउँमा उनीहरूले भन्छन् : यो गुटले “मध्यम किसानलाई पार्टीको आधार बनाएको छ ।” (व.सं. अङ्क १, पृ. २६)
यसरी उनीहरूले प्रकाशनहरूमा बेग्लाबेग्लै ठाउँमा बेग्लाबेग्लै कुरा गरेको कुराले राम्ररी बताउँछ कि उनीहरूको दृष्टिकोणमा कुनै तारताम्य र सामन्जस्यता छैन – एक ठाउँमा एउटा कुरा भनिदियो अर्को ठाउँमा अर्को कुरा । यसले उनीहरूको निष्कर्षको तथ्य र वास्तविकतासित कुनै सम्बन्ध नभएको कुरा प्रस्ट छ ।
८. अब पी.एल. गुटबाट फुटेका “मुक्तिमोर्चा” ले पुनः त्यही छपाईको गल्तीलाई आधार बनाएर हाम्रो विरुद्ध “वैधानिक राजतन्त्र” को अपराधलाई प्रमाणित गर्ने हास्यास्पद प्रयत्न गरेको छ । त्यसमा लेखिएको छ : “मोहनको चिन्तन सङ्गठन र अन्य सम्पूर्ण काम कारबाही निम्नमध्येम वर्गीय हुन् भन्ने स्पष्ट छ” “मध्यम किसान र गाउँलाई पार्टी सङ्गठनका आधार बनाउनु, सहरमा पनि पार्टी कार्यलाई व्यवस्थित पार्दै लैजानु । किसानहरूमा सङ्गठन गर्दा गरिब किसान र खेत मजदुरका बिचको कामलाई विशेष प्राथमिकता दिनु ।” मोहन विक्रमका यही मध्यमवर्गीय आधारभूत चिन्तनले उनलाई वैधानिक राजतन्त्रवादी हुन् भने छर्लङ्ग बनाएको छ । (“मुक्तिमोर्चा”, २०३३, चैत्र, पृ. ३२)
यो भनाइकोबारे बढी छलफल गर्नुपर्ने आवश्यकता छैन । छपाईको एउटा गल्तीलाई आधार बनाएर त्यस प्रकारको आरोप लगाउने उनीहरूको प्रयत्न अत्यन्त नीच र कपटपूर्ण चाल तथा बेइमानी हो । यो सायद पी.एल. सिंहसँग “बस्दा” उनीहरूमा परेको असरको परिणाम हो ।
९. तृतीय महाधिवेशनमा मोहनचन्द्र अधिकारीले “संविधान सभा” को प्रस्ताव राखेका थिए । पछि उनले त्यो प्रस्ताव फिर्ता लिएर तुल्सीलालको “सर्वसत्ता सम्पन्न संसद”को प्रस्तावलाई समर्थन गरे । उनी झापाली गुटका नेता हुन् । आफ्ना नेताको कामलाई मोहनविक्रमको टाउकोमा खन्याएर चोखो बन्न खोज्नु कति निम्नस्तरको जालझेल हो ? बताइरहनु पर्ने आवश्यकता छैन कि यस प्रकारको तरिकासित लेनिनवादको टाढाको पनि सम्बन्ध छैन ।