काठमाडौं । विभाजित नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पदबाट राजीनामा दिन आग्रह गर्नुभएको छ ।
नेकपाका उपाध्यक्ष समेत रहेका गौतमले बुधबार तीन बुँदे विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्रीलो राजीनामा दिनुपर्ने र नेकपाको संयुक्त बैठक बोलाउन माग गर्नुभएको छ ।
मंगलबार सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सकारको निर्णय असंवैधानिक ठहर गरेपछि त्यसको स्वागत गर्दै गौतमले राष्ट्रपतिलाई पनि फैसलाको स्वागत गरी प्रतिनिधि सभाको बैठक आह्वान गर्न आग्रह गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ,
१) सम्माननीय राष्ट्रपति महोदयले प्रेस विज्ञप्तिमार्फत संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नुपर्छ।
२) प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिनुपर्छ।
३) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क। केपी शर्मा ओली र क। प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु।