काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गराउने भएको छ। केन्द्रीय बैंकका अनुसार ‘विकास ऋणपत्र, २०८५ घ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो ।
कूल आठवर्षे अवधिको ऋणपत्रको ब्याजदर पनि बोलकबोलका माध्यमबाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले ऋणपत्र खरिद गर्न सक्नेछन् ।
ऋणपत्र धितोमा राखेर कर्जा लिन वा दिन पाइने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ। प्रतिस्पर्धी र अप्रतिस्पर्धी गरी दुई ढाँचामा विकास ऋणपत्र खरिदका लागि बोलकबोल प्रक्रियामा भाग लिन पाइनेछ।
कूल बिक्री गर्न लागिएको रकममध्ये प्रतिस्पर्धीतर्फ ८५ प्रतिशत बराबरको ८ अर्ब २५ करोड र अप्रतिस्पर्धीतर्फ १५ प्रतिशत अर्थात् १ अर्ब ५० करोड गरी विभाजन गरिएको छ।
घटीमा ५० हजार रुपैयाँ र बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जानेअंकमा खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।