कपिलवस्तु । राष्ट्रिय जनमोर्चाका केनद्रीय सदस्य मनोज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर गैर जिम्मेवार बनेको बताउनुभएको छ । आफ्नै पार्टीका नेताहरुले काम गर्न दिएनन् भनेर प्रतिनिधि सभा विघटन गर्नुले प्रधानमन्त्रीको गैर जिम्मेवारीपन देखिएको उहाँले बताउनुभयो ।
सोमबार कपिलवस्तुको तौलिहवामा नेकपा (मसाल)सहित पाँच राजनीतिक दलहरुले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेता भट्टले पार्टीभित्रको विवाद मिलाउन नसकेर ओलीले संसदमाथि प्रहार गरेको आरोप लगाउनुभयो ।
प्रधानमन्त्रीको कुनै पनि कार्यक्रम, नीति, बजेट, योजनामा प्रतिनिधि सभाको अवरोध नभएको भट्टले स्पष्ट पार्नुभयो । उहाँले निर्वाचित प्रतिनिधि सभा विघटन गरेर ओलीले देशलाई अन्योलको भूमरीमा हालेको आरोप पनि लगाउनुभयो ।
अहिलेको अवस्थामा चुनाव आवश्यक नभएको उहाँको भनाई थियो । भएको प्रतिनिधि सभालाई मारेर, नयाँ बनाउन ४२ अर्ब खर्च लाग्ने भन्दै ओली उल्टो बाटो हिँडेको भट्टले बताउनुभयो ।
कार्यक्रममा नेकपाका पूर्व प्रतिनिधि सभा सदस्य तथा पूर्व कृषि मन्त्री चक्रपाणि खनालले केपी ओलीको निरंकुश कदमले गर्दा जनताले दुर्दशा बेहोर्नु परेको बताउँदै अब संयुक्त आन्दोलनले मात्र प्रतिगमन रोक्न सकिने बताउनुभयो ।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दानबहादुर चौधरीले आफूहरुले संविधानलाई कालो बताएपनि प्रजातन्त्र, लोकतन्त्र मास्न नहुने बताउँदै ओलीलाई ट्रयाकमा ल्याउन जनता समाजवादी पार्टी आन्दोलनमा लागेको बताउनुभयो ।
नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् पूर्वराजदूत दीपकुमार उपाध्यायले आजसम्मको परिवर्तन संयुक्त आन्दोलन बाटै भएको बताउँदै , कांग्रेस आन्दोलनबाट नभाग्ने स्पष्ट पाुर्नभयो ।
कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य जनसंग शर्मा, केन्द्रीय सल्लाकर रामलौटन तिवारी, केन्द्रीय सदस्य नारायण खनाल, जिल्ला अध्यक्ष कैलाश अग्रहरीले पनि सम्बोधन गर्नु भएको थियो ।
केन्द्रीय स्तरबाटै संयुक्त आन्दोलनको घोषणा हुनु पर्ने वक्ताहरुको जोड थियो ।
कार्यक्रमको अध्यक्षता राष्ट्रिय जनमोर्चाका लिल्ला अध्यक्ष दधिराम आचार्य, सञ्चालन नेकपाका जिल्ला सचिव विष्णु शाह र स्वागत नेकपा (मसाल) का जिल्ला प्रवक्ता छविलाल गैरेले गर्नु भएको थियो ।