‘विद्यार्थीले राजनीति गर्नुहुँदैन । राजनीतिमा लागे पढाई बिग्रिन्छ ।’
यो भनाई स्कुल/कलेजका अधिकांश विद्यार्थीहरुले दोहोर्याउने भनाई हो । ती विद्यार्थीका अभिभावक वा शिक्षक र ‘जान्नेबुझ्ने’ हरुले बारम्बार यही भनाई दोहोर्याइरहँदा किशोर मानसिकतामा राजनीतिप्रति अलगाव हुनु स्वाभाविकै हो ।
त्यसमाथि विद्यार्थी राजनीतिको नाममा वर्षाैं कलेजमा भर्ना भइरहने तर ठेक्कापट्टा, गुण्डागर्दी र अवसरको खोजीमा हिँडिरहने विद्यार्थी नेतालाई नै ‘नेता’ मानिआएकाहरुमा स्वतः राजनीतिप्रति वितृष्णा उत्पन्न हुने गर्दछ ।
तर, वास्तविकता त्यस्तो हो त ?
राजनीतिमा सक्रिय हुनुको अर्थ आफ्नो पढाई बिगार्ने होइन, बरु ज्ञानको दायरा फराकिलो बनाउनु हो भन्ने उदाहरण बनेका छन्, अखिल (छैठौं) का केन्द्रीय सदस्य पुरन पाखरेल ।
स्नातक तहमा उत्कृष्ट अंक ल्याएर उतीर्ण गर्नुभएका नेता पोखरेल हालै सम्मानित हुनुभएको छ । पाल्पाको त्रिभुवन क्याम्पसबाट गत वर्ष मानविकी संकाय अन्तर्गत अंग्रेजी विषयमा उत्कृष्ट अंक ल्याएका पोखरेललाई स्थानीय मातृ सेवा स्मृति प्रतिष्ठानले सम्मान गरेको हो । उहाँलाई पूर्वमन्त्री हरि पाण्डेले एक कार्यक्रमबीच सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
राजनीतिमा सक्रिय विद्यार्थी नेता पोखरेलले क्याम्पसमै उत्कृष्ट अंक ल्याउन कसरी सम्भव भयो त ?
उहाँ भन्नुहुन्छ, ‘मैले पढ्ने कुरालाई कुनै शिलशिला बनाएर होइन, आफूलाई इच्छा लागेको बेला पढ्ने गरेको छु । बाहिरको दौडधुपले पढाईलाई कुनै असर गर्दैन । बरु बुझ्न मद्दत नै गर्छ ।’
विद्यार्थीले राजनीति गर्नुहुँदैन वा राजनीतिले पढाई बिग्रन्छ भन्ने भनाई र बुझाई गलत रहेको पोखरेलको भनाई छ ।
‘विद्यार्थी आफैले बुझेर राजनीतिक गर्नुहुँदैन भनेका होइनन्’ पोखरेल भन्नुहुन्छ, ‘शिक्षाका ठेकेदारहरुले विद्यार्थीको मानसिकतामा राजनीति गर्नुहुँदैन भन्ने पारिदिएका छन्, ताकि उनीहरुले विद्यार्थीलाई पढाईबाहेक बाहिरी कुराको ज्ञान नहोस् र आफ्नो लुटको स्वर्ग नभत्कियोस् भन्ने उद्देश्य हो ।’
शैक्षिक क्षेत्रमा हुने गलत गतिविधि बाहिर नजाओस् र विद्रोह नहोस् भन्ने सञ्चालकहरुको उद्देश्य रहने गरेको र त्यसका लागि विद्यार्थीलाई संगठित हुनै नदिने प्रयास गर्ने गरिएको उहाँको बुझाई छ । त्यसो हुन सकेमा मात्र आफूले खाइपाइ आएको लुटको स्वर्ग कायम रहेने पोखरेल बनाउनुहुन्छ ।
पोखरेले अगाडि भन्नुहुन्छ, ‘जब विद्यार्थी राजनीतिमा सक्रिय हुन थाल्छ, संगठन निर्माण गर्न थाल्छ, त्यसपछि उसले आफ्नो धरातल पनि बिश्लेषण गर्न थाल्छ । स्कुल, कलेजमा लिइने शुल्क, पढाई र वास्तविक जीवनको तालमेल, समाजको अवस्था वा समाजमा गरिखाने वर्गमाथि भइरहेको शोषण दमनको अवस्थाबारे बुझ्न थाल्छ । हो, त्यही अवस्था नआओस् भन्नका लागि यथास्थितिवादीहरु विद्यार्थीलाई राजनीतिमा आउन दिन चाहँदैनन् ।’
विद्यार्थीहरु राजनीतिबाट अलग हुनु घातक हुने पोखरेलको भनाई छ । विभिन्न संकाय र विषयका विद्यार्थीलाई आ–आफ्नो क्षेत्रलाई कसरी उत्कृष्ट बनाउने भन्ने जिम्मेवारी रहेको उहाँ बताउनुहुन्छ ।
‘जस्तै, समाजशास्त्रका विद्यार्थीलाई अबको समाज कस्तो बनाउने भन्ने जिम्मेवारी छ । राजनीतिशास्त्रका विद्यार्थीमा भावी राजनीति कसरी असल र जनमुखि बनाउने भन्ने जिम्मेवारी हुन्छ । यस्तै, विज्ञानका विद्यार्थीलाई मानव जीवनका लागि आवश्यक पर्ने नयाँ आविष्कारहरु कसरी गर्ने भन्ने जिम्मेवारी दिइएको छ’ पोखरेल भन्नुहुन्छ, ‘त्यसैले यी जिम्मेवारी पुरा गर्न अध्ययनमा उत्कृष्ट त हुनैपर्छ । त्यो सँगै राजनीति पनि अनिवार्य रुपमा बुझ्नुपर्छ । तबमात्र विद्यार्थीले भविष्यमा आ–आफ्नो जिम्मेवारी पुरा गर्न सक्छ ।’
अन्तमा, हामीले पोखरेललाई सोध्यौं, राजनीतिसँगै पढाईमा उत्कृष्ट हुन विद्यार्थीलाई के सुझाव दिनुहुन्छ ?
पोखरेलको भनाई छ, ‘विद्यार्थीले आफ्नो पढाईमा ध्यान दिनैपर्छ । त्यसको अर्थ रट्ने होइन, बुझेर पढ्ने गर्नुपर्छ । लगातार र जवर्जस्ती भन्दा पनि आफूलाई इच्छा लागेसम्म पढ्ने र बाँकी समय समाजको अध्ययन गर्नुपर्छ । अर्थात् सही राजनीतिक विचारलाई जनताको माझमा लैजाने र संगठित पार्ने प्रयास गर्नुपर्छ ।
हामीले कुरा गर्दा गर्दै अखिल (छैठौं) का केन्द्रीय सदस्य पोखरेलले संगठनको आगामी २२औँ राष्ट्रिय सम्मेलनको तयारीमा आफूहरु लागिरहेको पनि भन्न छुटाउनुभएन ।
आउँदो २०७७ सालको जेठमा कञ्चनपुरमा हुने राष्ट्रिय सम्मेलनको तयारीकै शिलशिलामा आफूहरु लागिरहेको उहाँले बताउनुभयो । त्यसका लागि फागुन ८ गते पाल्पामा जिल्ला भेला गर्न लागिएको पोखरेलले जानकारी दिनुभयो ।