विकास भाटक्षेत्री ।।
आजकल राजनीतिक बहसमा ‘युवा’ शब्द हावी भएको देखिन्छ । युवा भन्ने शब्द आफैमा उर्जावान छ । युवालाई ‘परिवर्तन’ को पर्यायवाची पनि रूप लिने गरिन्छ । युवाले नै केही न केही परिवर्तन ल्याउँछ भन्ने आम विश्वास छ ।
तर प्रश्न उठ्छ, के ‘युवा’ नै अन्तिम ढाल हो त ? देशले ‘युवा’ साँच्चिकै खोजेको हो कि युवाले अन्य देश खोजेको हो ?
नेपालमा १६ देखि ४० वर्षसम्मकालाई आधिकारिक रूपमा युवा मानिन्छ । तर हामीले रूपकको परिवेशमा मानिने ‘युवा’ बारे कसलाई युवा भन्ने वा नभन्ने, आफैमा विवादास्पद छ । विगतका सामाजिक, राजनीतिक उत्तरचढावलाई युवाको दृष्टिकोणबाट हेर्ने हो भने सन्देहास्पद प्रश्न उठ्छन् । आखिर युवा केका लागि ? ‘बलि’ का लागि वा ‘बल’ का लागि ?
धेरै नेपाली युवालाई बलि चढाएर यो देशमा आफ्नो परिपाटी बनाउने शैली थियो, दुर्भाग्यवश अहिलेसम्म यो प्रवृत्ति नेपाली समाज र राजनीतिमा कायमै छ । विभिन्न जनान्दोलनमा मात्र नभई आफ्नो घरभित्र पनि ‘फलानो’ को सपना देखाई युवायुवतीको भित्री आवाज र आकाङ्क्षालाई अँठ्याउने अर्धसामन्ती अभिभावकको कर्तुत पनि ‘बलि’ सरह हो ।
युवा ‘बल’ को कुरा गर्ने नै हो भने भारतीय नवयुवा करमचन्द गान्धी मात्र नभई हाम्रै नेपाली इतिहासले बोकेको नवयुवा सङ्गठित कमरेडको उदाहरण अझै जीवित छ । नेपालका डाँडाकाँडा, तराई–मधेस बाट एकजुट भई गणतन्त्र ल्याएर एक विन्दुमा सफल भएकै हुन् । तर आज आम जनताप्रति जवाफदेही नहुने गणतन्त्र “कागलाई बेल पाक्यो हर्ष न विस्मात्” जस्तै भएको छ । त्यस बेलाका कतिपय नवयुवा नेता सत्तासिन भए पनि आज नेपालले वास्तविक युवा नेता गुमाएको छ ।
तथ्याङ्कअनुसार अहिलेसम्म नेपालबाट ५० लाखभन्दा बढी युवाले वैदेशिक रोजगारका लागि देश छाडेका छन् । तीमध्ये ८० प्रतिशत युवा खाडी मुलुक र मलेसिया गएका छन् । संयुक्त राष्ट्र जनसङ्ख्या कोषका अनुसार नेपालमा धेरै युवा झुग्गीबस्ती र ग्रामीण क्षेत्रमा हुर्किएका छन् । नेपाली जनताको मध्यआयु २४ वर्ष रहेको छ । यसको मतलब यदि जनसङ्ख्यालाई आयुको हिसाबले आरोही क्रममा विभाजन गर्ने हो भने बिचको उमेर २४ वर्ष रहन्छ ।
युवा बढी हुनाले नेपालले जनसाङ्ख्यिकीय लाभांशबाट फाइदा पनि लिन सक्छ । तर के यी युवालाई रोजगारी र शैक्षिक तालिमको प्रावधान गराउन सक्ने भौतिक आधारको बन्दोबस्त छ त ? अहिलेको सन्दर्भमा झन् महामारीले गर्दा देशमा अवसरको कमीको बढी अनुभूति गर्न सकिन्छ र भोकमरीको सिकारले देश नै छाड्नेको ताँती सीमामै देख्न पाइन्छ । सत्ताको दोहन गर्न र राजनीतिक प्रोपोगान्डा फैलाउन युवालाई माध्यम बनाइएको छ । आज कैयौँ युवा अन्योल, रोजगारविहीन मात्र होइन, राज्यबाट शोषित पनि भएका छन् ।
यद्यपि जनसाङ्ख्यिकीय लाभांशले गर्दा उर्जा जनशक्ति हामीसँग छ भन्ने अनुसन्धानकर्ताको ठहर छ । तर यसको फाइदा कसरी हामीले समाज र देश रूपान्तरणको लागि गर्न सक्छौँ भन्नेबारे हाम्रो नीतिमा गम्भीर छलफल हुनुपर्छ; किनभने, अबको ११ वर्षपछि नेपालको औसत जनसङ्ख्या बुढो उमेर अर्थात् ‘एजिङ पपुलेसन’ मा प्रवेश गर्ने छ । यसकारण आर्थिक गतिविधिलगायत सबै क्षेत्रमा धक्का पर्न जाने छ । यसले उत्पादकत्व र उपभोगको मात्रालाई दुरुत्साहन गर्ने हुनाले आर्थिक वृद्धिमा पनि कमी आउन सक्छ । हालको दशकपछि जनशक्ति बुढो हुँदै जाने र यसले भावी उत्पादकत्व र उपभोगमा नकारात्मक प्रभाव पार्ने हुनाले समावेशी आर्थिक विकासमा ठेस पुराउनुका साथै असमानता र गरिबी बढ्ने सङ्केत पनि देखाउँछ ।
विकसित देशका ठुला विश्वविद्यालयमा पढ्ने युवादेखि लिएर विदेशमै ज्याला मजदुरी गर्ने युवामा जोस र समाजप्रतिको दायित्व बराबर हुन्छ । तर विकसित देश; जस्तै– अमेरिका, युरोपमा बस्ने युवाले नेपाल फर्केर केही गर्छु भन्ने आत्मविश्वास बढी राखेको हुन्छ । आखिर यस्तो किन ? राष्ट्रप्रतिको स्नेह उतिकै हुन्छ । होइन र ? यस विषयमा आर्थिक पाटा अवश्य छन् । तर त्योभन्दा पहिले हामीले महत्त्वपूर्ण बिर्सिएको कुरो हो, आज नेपाली राजनीतिमा मजदुरको मर्म सङ्गठित रूपमा प्रस्तुत गर्ने प्रतिनिधित्व भएको भए विदेशमा मजदुरी गरेर बस्नेका युवा पनि नेपाललाई कर्मथलो बनाउने र देशकै सामाजिक व्यवस्थामा सक्रिय हुने सपना देख्न सक्ने थिए ।
अब युवा सङ्गठित हुनुपर्छ, नेपाली राजनीतिमा युवा सक्रिय हुनुपर्छ भनेको धेरै सुनिन्छ । यो भनाइ गलत त छैन, न त सत्य नै । कुन आधारले सङ्गठित हुने ? एकजुट कुनै घटना र आन्दोलनले भन्दा पनि पहिले कुनै विचारले हुनुपर्छ ? विचारले अग्रसर हुँदा आत्मबल निर्माण गर्छ र कैयौँ सफल क्रान्ति र परिवर्तनमा यिनै विचार, विधि र अनुशासनको मुख्य भूमिका थियो । विचार र सिद्धान्त बिनाको मुद्दा अपुरो हुन्छ, पानीमा निस्केको फोकाजस्तै ।
हामी कुनै ‘वाद’ मा विश्वास नगर्ने मान्छे हौँ भन्ने जमातले समस्याको जरोसम्म कसरी र कहिले पुग्ला त ? मुख्य त युवाले बुझ्नुपर्ने कुरो हो, हामी कुनै राजनीतिक पार्टीका मान्छे होइनौँ, अराजनीतिक हाँै भन्नु पनि आफैमा एउटा ‘वाद’ हो । समयकालमा हरेक समाजलाई कुनै पनि वादको मूलतत्त्वले बढी प्रभाव पारेकै हुन्छ । त्यस्तै अहिले मौसमजसरी हुने सडक आन्दोलन व्यर्थ नै रहेको पाइन्छ । आज एउटा काण्डमा उर्लिन्छन्, भोलि भने आन्दोलनकारी अर्कै विषयमा रुमलिन्छन्, उम्लिएको दुधझैँ । यसले हामीमा समस्याप्रति गम्भीरता नभएको जनाउँछ । यति भन्दै गर्दा सामाजिक सञ्जालमा बेथिति विरुद्धका आवाज र सडक प्रदर्शनलाई नकारेको पनि होइन । त्यतिसम्म हुनु पनि आफैमा रचना हो । तर वैचारिक भाव कम भएकाले आफैमा दीर्घकालीन कसरी रहला ? त्यसका लागि युवाले नयाँ दर्शनको खोज गर्न जरुरी छ ।
आजकल केही युवा अमेरिका, बेलायत, फिनल्यान्ड, जापानजस्ता विकसित राष्ट्रबाट उच्च शिक्षा हासिल गरेका छन् । उनीहरूमा आधुनिक सिप र तालिमको कमी नभए तापनि उनीहरू पुरातनवादको भुमरीमा बल्झिएका छन्, बल्झाइएको पनि छ । घर र समाजमा रहेका रूढीवादको प्रश्न टेबुलमा राख्न धौ धौ छ । प्रश्न कम तर पालना गर्ने प्रवृत्ति बढी छ, न त हामीलाई राम्रोसँग प्रश्न गर्न घर र विद्यालयले नै सिकाउँछ । यस्तो खडेरीको विकल्प आखिर के त ? देशमा युवाप्रति यतिका चुनौतीसँग लड्नका लागि रायमा भन्दा पनि तथ्याङ्कमा आधारित रणनीति बनाउनुपर्ने खाँचो देखिन्छ ।
आज देश सङ्घीयतामा जाँदै गर्दा प्रादेशिक अर्थराजनीति, भूगोल, सामाजिक बनावटलाई केन्द्रमा राखेर नीति आयोग बनाई समस्याको हल गर्न युवा परिचालन गर्न सकिन्थ्यो र यो महामारीको बेला त अझ आवश्यक पनि बनेको छ । त्यसैले विभिन्न विषय र शासकीय तत्त्वमा संस्थागत उथलपुथल हुन अत्यन्त जरुरी छ । बिडम्बना ! सरकार विविध राजनैतिक लेनदेनमा लिप्त छ ।
“युवा अघि सर्छ, देश अघि बढ्छ” त कैयौँ राजनीतिक पार्टीका नारासमेत छन् । युवालाई क्यारमको ‘गोटी’ जस्तै प्रयोग गरिएको छ । स्ट्राइकर हान्ने व्यक्ति वा संस्था त बुर्जुवा राष्ट्रवादको गीत सिकाउँदै हिँडेका छन् भने कसरी चिरोस् त पुरातनवादका चपेटालाई यी दिशाहीन युवाहरूले ? कसरी देओस् त समाजलाई नयाँव्यवस्था ? नयाँदिशा ! यस्तो चिन्तन र परिस्थितिमा युवा गोटी, जति अगाडि सर्छ, त्यति छिटो नै क्यारमबोर्डको प्वालमा पस्ने छन् । यसरी यहाँ देशले ‘देश’ गुमाउँदै छ र युवाले ‘युवा’ ।