काठमाडौं । सरकारले पहिलो चरणमा पाँचवटा र दोस्रो चरणमा दुईवटा प्रदेशमा निर्वाचन गराउने निर्णय गरेको छ । आगामी २०७८ वैशाख १७ र २७ का लागि घोषित निर्वाचन कसरी गर्ने भन्ने विषयमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।
बैठकले पहिलो चरणमा वैशाख १७ गते प्रदेश नम्बर १, २, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशमा र दोस्रो चरणमा वैशाख २७ गते बागमती र सुदूरपश्चिम प्रदेशमा निर्वाचन गराउने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले जनाएको छ ।
सोही विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओली आज निर्वाचन आयोग जाँदै हुनुहुन्छ । देशका १३५ वटै निर्वाचन क्षेत्रमा कर्मचारी, सुरक्षा, मतपत्रलगायत विषयमा आयोगलाई सरकारले के कस्ता सहयोग गर्नुपर्छ भन्ने विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ का लागि चुनाव घोषणा गर्नुभएको हो ।
सोही विषयलाई लिएर नेकपा दुई खेमामा विभाजन भएको छ भने निर्वाचन वा संसद पुनर्स्थापना भन्ने विषयमा राजनीतिक दलहरु विभाजित हुनुका साथै सडक संघर्ष चर्किरहेको छ ।
प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै सडकमा चलिरहेको आन्दोलन, सर्वोच्चमा जारी मुद्दा तथा नेकपा विभाजनको आधिकारिता विवादका कारण वैशाखमा चुनाव हुनेमा राजनीतिक दलका नेताहरु नै विश्वस्त छैनन् ।