तिलक थापा/बागलुङ बजार ।।
अखिल नेपाल युवक सङ्घको चालिसौँ स्थापना दिवस विविध कार्यक्रमसहित २०७७ माघ २६ गते बागलुङमा सम्पन्न भएको छ ।
अखिल नेपाल युवक सङ्घका केन्द्रीय उपाध्यक्ष लक्ष्मण पुन, कोषाध्यक्ष भिमसेन वन, केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला अध्यक्ष जुनविक्रम शाही, पूर्व केन्द्रीय अध्यक्ष तिलक थापासहितको टोलीले बागलुङ कारागारमा रहेका बन्दीका लागि फलफूल वितरण गरेपछि बागलुङ बजारको राष्ट्रिय जनमोर्चाको सभाहलमा स्थापना दिवसको कार्यक्रम गरिएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथिको आषणबाट बोल्दै अखिल नेपाल युवक सङ्घका केन्द्रीय उपाध्यक्ष लक्ष्मण पुनले देश अप्ठ्यारो अवस्थामा रहेको सन्दर्भमा युवाहरू थप प्रशिक्षित र सङ्गठित बनेर सही राजनीतिक संस्कारका लागि अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापा, राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा र उपाध्यक्ष धर्मबहादुर कुँवर, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य रामबहादुर पुन र जिल्ला सचिव तुलवीर श्रीस, अखिल (छैठौं), बागलुङका सचिव दिपेन्द्र पौडेलले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम भिमसेन वनको सञ्चालन र युवक सङ्घ बागलुङ जिल्लाका अध्यक्ष जुनविक्रम शाहीको अध्यक्षतामा सञ्चालन भएको थियो ।