दिनेश रैदास, दाङ ।
राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले दाङको विकट राजपुर गाउँपालिका–५ महतिनिया खोला स्थित निर्माणधिन अथिङ्ग्रे सिंचाई कुलो बाँधको स्थलगत अवलोकन गर्नु भएको छ ।
पूर्व सभाषदसमेत रहेका कार्यकारी अध्यक्ष नेपाली नेतृत्वको टोली बुधबार बाँध निर्माणस्थलमा पुगी भइरहेको कामको जानकारी लिनुभएको हो । कार्यकारी अध्यक्ष नेपाली तथा राजमो दाङ जिल्ला उपाध्यक्ष तथा महेश रिजाल त्यहाँ पुग्दा स्थानीय किसान नेता दिलकुमार रोकाले स्वागत गर्नु भएको थियो ।
उक्त कुलो बाँध गत श्रावण महिनामा झुप्पाखाडा खोलामा भिषण बाढी आउँदा क्षत् विक्षेद गरिदिएको थियो । कुलो बाँध पुनः निर्माणका लागि राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रम कार्यान्वयन इकाई कार्यालय बुटवलको आर्थिक तथा प्राविधिक अनुदान सहयोग र स्थानीय उपभोक्ताहरूको जनश्रमदानबाट निर्माण भइरहेको छ ।
कुलो बाँधबाट पूर्व खोला गाउँ, राउत डाँडा गाँउ र भण्डारी टोल गाउँका झण्डै तीस घरधुरीको अन्दाजी ३५ बिघा जमीनमा सिंचाई सुविधा पुग्नेछ । उक्त कार्यको रेखदेख कार्यान्वयन इकाइका प्राविधिक प्रकाश बस्नेतले गरिरहनु भएको छ भने राजपुर गाउँपालिका वार्ड नं ५ का वार्ड अध्यक्ष नरेन्द्र सिंह भण्डारीले समन्वय गरी रहनु भएको छ ।

उक्त क्षेत्र दाङ देउखुरीको संवेदनशील दक्षिणी चुरे क्षेत्रमा अवस्थित रहेको छ ।
विगत केही वर्षदेखि जिल्ला भू संरक्षण कार्यालय दाङ हुँदै हाल सरकारको राष्टपति चुरे तराई मधेश संरक्षण विकास समिति खुमलटार ललितपुरले बीस वर्षे गुरूयोजना बनाई त्यस क्षेत्रका स्थानीय किसानहरूको सहभागितामा नदी किनारा व्यवस्थापन, पानी मूल संरक्षण, वृक्षरोपण, वन वातारण संरक्षण, चराचुरूङ्गी वन्यजन्तु संरक्षण र पशुपालन, फलफूल खेती लगायतका आयमुलक कार्यहरू गर्दै पर्यापर्यटन विकासमा समेत उल्लेखनीय भूमिका खेलेको छ ।





