धनगढी । राष्ट्रिय जनमोर्चा कैलालीले जिल्ला सचिव जगतप्रसाद जोशीको सार्वजनिक आलोचना गरेको छ । दलित समुदायप्रति होच्याउने शब्द प्रयोग गरेको भन्दै अध्यक्ष दयाराम सञ्ज्यालले सोमबार एक विज्ञप्ति प्रकाशित गरी सचिव जोशीको आलोचना गर्नुभएको हो ।
जोशीले एक जना घनिष्ट मित्रसँग वार्तालापका क्रममा दलित समुदायलाई होच्याउने शब्द प्रयोग गरेको र त्यसले उनीहरुको आत्मसम्मानमा ठेस पर्याएको राजमोले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय जनमोर्चा कैलालीका जिल्ला सचिव का. जगतप्रसाद जोशी र उहाँका एकजना घनिस्ट मित्रबीच टेलीफोनमा भएको नितान्त व्यक्तिगत वार्तालाप सामाजिक सन्जाल मार्फत सार्वजनिक भएकोले वार्तालापमा का. जगतप्रसाद जोशीले प्रयोग गर्नुभएको शब्दावलीले विवाद उत्पन्न भएकोले त्यसबारे स्पष्ट पार्न यो विज्ञप्ति जारी गरिएको छ ।
वार्तालापको दौरानमा का. जोशीले प्रयोग गर्नु भएको शब्दवालीले दलित समुदायलाई होच्याउने र उनीहरुको आत्मसम्मानमा ठेस पुर्याउने कार्य भएकोले का. जोशीलाई सार्वजनिक रुपमा आलोचना गरिन्छ ।’