दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १९ को सुनालिथान सामुदायिक वन उपभोक्ता समूहभित्र पर्ने वन तथा आबादी क्षेत्रमा स्वर्गद्वारी माइन्स एण्ड मिनरल्स प्रालीले चुनढुंगा उत्खनन गर्न थालेको भन्दै स्थानीय आन्दोलित भएका छन् । विरोधमा उत्रिएका स्थानीय जनताले उत्खनन हुन नदिने बताएका छ्न् ।
त्यसका लागि स्थानीयले चुनढुंगा उत्खनन रोक्का संघर्ष समिती नै गठन गरेका छ्न् । स्थानीय अगुवा तथा राष्ट्रिय जनमोर्चा घोराही उपमहानगरपालिका १९ का अध्यक्ष मंगल घर्ती मगरको संयोजकत्वमा ५२ सदस्यीय चुनढुंगा उत्खनन रोक्का संघर्ष समिती गठन भएको संयोजक मंगल घर्ती मगरले बताउनु भएको छ ।
त्यहाँ रहेको त्रीबेणी टोल विकास संस्थाको बैठकले संघर्ष समिती गठन गरेको हो । उत्खनन भयो भने त्यहाँका जनताको जीवन संकटपूर्ण हुने, पानीका मुहान सुक्ने, पर्यावरण बिग्रने, उत्पादन रोकिने जस्ता समस्या हुने भन्दै उत्खनन नगर्न संघर्ष समितिले माग गरेको छ ।





