काठमाडौं । विभाजित नेकपाका दुवै समूहलाई निर्वाचन आयोगले कानुनी मान्यता दिएको छैन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहले गरेको विभाजन घोषणालाई निर्वाचन अयोगले अस्वीकार गरेको हो ।
प्रचण्ड–नेपाल र केपी शर्मा ओली समूहले निर्वाचन आयोगमा पार्टी अलग भइसकेको भन्दै दाबी पेश गरेका थिए। दुवै समूहरुले व्यवहारिक रुपमा पार्टी अलग भइसकेको र कानुनी मान्यतामात्रै पाउन बाँकी रहेको बताइरहँदा आयोगले दुवैको दाबी खारेज गर्दै नेकपाको पुरानै व्यवस्थालाई मान्यता दिएको हो।
प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल समूहले पार्टी विभाजन भएको भन्दै आधिकारिक पार्टीका लागि दिएको निवेदनलाई आयोगले मान्यता नदिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
‘आफूले गरेको निर्णय आधिकारिक हो भनि उहाँहरुले गरेको दाबीलाई संशोधन गर्न सकिएन र साबिककै विवरण कायम रहेको निर्णय भएको छ’ प्रवक्ता श्रेष्ठले भन्नुभयो ।
आयोगले गरेको निर्णयको लिखित जानकारी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पठाउने तयारी भएको छ । आयोगको यो निर्णयसँगै औपचारिक रुपमा नेकपा अझै एकै मानिनेछ ।
पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा विभाजित भएको हो ।