खार्तुम । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एलजेनिनामा सशस्त्र मिलिसियाद्वारा गरिएको आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको सुडानी राज्य सञ्चालित समाचार संस्था सुना न्यूज एजेन्सीले आइतबार जानकारी गराएको छ ।
गत शनिबारबाट सुरु भएको यस झड्पमा परी कम्तीमा ८३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १६० व्यक्ति घाइते भएका सुनाले उपचारमा सम्लग्न चिकित्सक तथा अस्पताल स्रोतलाई उद्धृत गरी उल्लेख गरेको छ ।
“शनिबार बिहानदेखि एलजेनिना सहरमा भएका रक्तपातपूर्ण घटना अझै जारी रहेका छन्, जसमा हाम्रो तथ्याङ्कअनुसार ८३ जना मारिएका र १६० जना घाइते भएका छन्” सुनाले पश्चिम डार्फर राज्यमा रहेको चिकित्सकको समितिलाई उद्धृत गरी लेखेको छ ।
सुरक्षा बल र मेडिकल सेवासहितको यातायातका साधन उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको उक्त समितिले थप जानकारी दिएको छ ।
पश्चिम डार्फरमा शनिबारदेखि चलेको यस घटनालाई नियन्त्रणमा लिन स्थानीय अधिकारीहरूले निषेधाज्ञा आदेशसमेत जारी गरेका छन् ।