रामप्रकाश पुरी ।।
जीन्युजको तुच्छता : साम्राज्यवादी जुठ्यानको फोहर
जीन्युजको तुच्छ क्रियाकलापले नेपालको सार्वभौमिकताको सम्मानमा चोट लागेको कुरा स्पष्ट छ । त्यो एक प्रकारले नेपालको सार्वभौमिकता र स्वतन्त्रतामाथिको आक्रमण पनि हो ।
ब्रिटिस साम्राज्यवादको विश्वव्यापी दबदबा चलिरहेका बेला उपनिवेश कालको उत्कर्षता थियो । त्यस बेला भारतका सयौँ राज्य त्यो औपनिवेशिकताको दासत्वमा विलीन भएका बेला नेपाल नै एउटा त्यस्तो मुलुक थियो, जसले आफूलाई ठाडो शिर बनाएर विश्वसामु सार्वभौम र स्वतन्त्र मुलुकको रूपमा उभ्याउन सफल भएको थियो । त्यो सफलता साम्राज्यवादको कुनै सदासयताबाट नभई देशभक्तिपूर्ण भावना, सङ्घर्ष र कूटनीतिक चातुर्यताबाट प्राप्त भएको थियो । जनतामा भएको देशभक्ति भावनाको विजयका कारणले शासकवर्ग पनि साम्राज्यवादका विरुद्ध खडा हुने हैसियत राख्दथे । त्यो नेपालको स्वतन्त्रता, सार्वभौमिकता र स्वाधीनताका लागि स्वर्णीम इतिहास थियो ।
पछिल्लो समय अर्थात् केही सुगौली सन्धिपछि र केही राणाकालबाट कमजोर बन्दै गएको नेपालको राष्ट्रियता भारतभूमि स्वतन्त्र बनेपछि पैदा भएको भारतीय नयाँ शासकवर्गको मिचाइमा पर्दै आएको छ । उनीहरूमा देखिएको ब्रिटिस साम्राज्यवादी जुठ्यान भारतमा रहेका राज्यका लागि मात्र समस्याको रूपमा रहेको छैन । उक्त जुठ्यानमा हुर्किएको भारतीय साम्राज्यवादी विषवृक्षको छाया स्वतन्त्र र सार्वभौमिक मुलुकमा पनि पर्दै आएको छ ।
भारतीय शासक प्रवृत्तिका विरुद्ध नेपाली जनताले त्यत्तिकै विरोध गर्नुपरेको हैन । उनीहरूको मिचाह, हेपाह र साम्राज्यवादी क्रियाकलापका कारणले नेपाली जनताले भारतीय शासकवर्गको विरोध गर्नुपरेको हो । तर जनताको तर्फबाट त्यस प्रकारले भारतीय साम्राज्यवादका विरुद्ध आवाज प्रखर हुँदै आएको भए पनि नेपाली शासकवर्गमा भने सामन्तवाद र साम्राज्यवादपरस्त चरित्र कायम रहँदै आएको छ । त्यसको परिणाम यो भएको छ कि जनता र शासकवर्गबिचमा नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र स्वाधीनताप्रतिको बुझाइमा फरक रहेको छ । पुर्खाले निर्माण गरेको गरिमामय विरासतलाई सम्झौताहीन प्रकारले अगाडि बढाउनुपर्छ भन्ने जनताको बुझाइ छ भने
स्वार्थलाई केन्द्रमा राखेर साम्राज्यवादी चलखेललाई स्वीकार गर्ने, विभिन्न सन्धिसम्झौता गर्ने, मुलुकलाई उपनिवेश बनाउन खोज्ने शक्तिलाई विभिन्न सुविधा उपलब्ध गराउने आदि कैयन् सम्झौतासहित सत्ता र कुर्सीका लागि राष्ट्रघातसमेत गर्ने चरित्र नेपाली शासकवर्गमा रहँदै आएको छ । त्यसैले उनीहरूले नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र स्वाधीनतालाई गौण बनाउने कार्य गर्दै आएका छन् । यसरी जनता र शासकवर्गबिचमा रहेको खाडलको फाइदा लिएर भारतीय साम्राज्यवादले नेपालका आन्तरिक मामिला, सीमा, पानीसम्बन्धीका सन्धिसम्झौता, व्यापार सम्झौता आदिबाट नेपालको राष्ट्रियता र सार्वभौमिकतालाई चुनौती दिँदै आएको छ ।
जीन्युजले सगरमाथाको नामकरण भारतीयको नामबाट गर्नुपर्छ भनी चलाएको अभियान भारतीय साम्राज्यवादको जुठ्यानबाट उडेको फोहर हो । त्यसको निन्दा र भत्र्सना गर्दै देशको सार्वभौमिकताको रक्षाका लागि जनता एकताबद्ध हुनुको विकल्प रहँदैन ।
विवादास्पद र बद्नाम प्रस्तुति
भारतीय सञ्चार माध्ययमको अविश्वसनीयता, विवादस्पद र निम्नस्तरको प्रस्तुतिका लागि बद्नाम छन् । उनीहरूको हर्कत्ले भारतको सम्पूर्ण सञ्चार जगत्प्रति अविश्वास पैदा हुन्छ । सामाजिक सञ्जालमा उनीहरूका विरुद्ध स्वयम् हजारौँ भारतीयले नकारात्मक टिप्पणी गरिरहेका हुन्छन् ।
पहिले नेपालका प्रधानमन्त्री केपी ओली र चिनियाँ राजदूत होउ यान्छीबिचमा कपोल्कल्पित संवादको रिपोर्ट बजाएर बद्नामी कमाएको जीन्युजका कारण भारतीय च्यानलमाथि नेपालका केबल अपरेटरले प्रसारण गर्न रोक लगाएका थिए । उनीहरूको प्रस्तुति चरित्रहत्या गर्नेदेखि लिएर कपोल्कल्पित विवरण बनाउनेसम्मको आयाममा फैलिएको हुन्छ । त्यसो गरेर उनीहरूले स्वतन्त्र र सार्वभौम मुलुकको प्रतिष्ठामाथि आँच पु¥याउनेसमेत कार्य गरेका छन् ।
प्रथम– उनीहरूको अविश्वसनीय, द्वितीय विवादास्पद प्रस्तुति दिने, र तृतीय, सार्वभौम र स्वतन्त्र मुलुकका प्रतिष्ठामाथि समेत आ“च आउने प्रकारले झुट्टा विवरण सम्प्रेषण गर्नेजस्ता निम्नस्तरका कार्य गर्दै आएकाले तिनीहरू बद्नाम पनि छन् । उनीहरूको बद्नामी नेपाली आँखाको दृष्टिकोणबाट मात्र होइन, भारतीय समाजमा पनि व्यापक छ । त्यसरी तिनीहरूको पीतपत्रकारिता पराकाष्ठामा पुगेको देखिन्छ ।
२०७२ सालको भूकम्पको बेलामा तिनीहरूले नेपाली समाजलाई असह्य रूपमा प्रस्तुत गर्न खोज्दा नेपालीको तर्फबाट त्यसको दह्रो प्रतिवाद भयो । त्यसबाट भारतीय सञ्चारक्षेत्रप्रतिको नेपाली समाजमा विश्वासको आधार भत्किन सुरु ग¥यो । त्यो क्रमलाई अगाडि बढाउँदै गत केही महिनाअगाडि नेपालका प्रधानमन्त्री केपी ओलीको चरित्रहत्यासहित सामग्री प्रसारण गर्ने तहसम्म आएको थियो । अहिले सगरमाथासम्बन्धी सम्प्रेषण गरिएका सामग्रीले त्यो संस्थालाई निम्नस्तरका कार्य गर्ने संस्थाको रूपमा उभ्याइदिएको छ । यसबाट भारतीय सञ्चारक्षेत्र खोक्रो, अविश्वसनीय र विवादास्पद भएको कुरा स्पष्ट छ ।
के यो कार्य एउटा तुच्छ संस्थाले मात्र गर्न सम्भव हुन्छ ?
अहिले जीन्युजले सगरमाथाको भारतीय नाम दिने जुन अभियान चलाइरहेको छ, त्यो एउटा सञ्चार संस्थाको मात्र कार्य हो भनेर विश्वास गर्न गाह्रो पर्दछ । एउटा स्वतन्त्र र सार्वभौम मुलुकको राष्ट्रियता र सार्वभौमिकतालाई नै चुनौती दिने गरी अभियान चलाउनका लागि एउटा तुच्छ संस्थालाई कसरी सम्भव हुन गयो ? विचारणीय प्रश्न यही हो ।
नेपालप्रतिको भारतीय साम्राज्यवादको व्यवहार ब्रिटिस साम्राज्यवादले छोडेर गएदेखि त्यसले अपनाउँदै आएको व्यवहारबाट प्रष्ट हुँदै आएको छ । लामो समयसम्म ब्रिटिस साम्राज्यवादको गुलामी ब्यहोरेको भारतको भूमिबाट ब्रिटिसले आफ्नो साम्राज्यवादी प्रवृत्तिलाई छोडेको थियो । दासताको उत्पीडनबाट नकारात्मक शिक्षा लिनुका साटो भारतीय शासकवर्गले त्यही बाटो अपनाउँदै आएका छन् । यो तथ्यगत विवरणमाथि आधारित छ । तल उल्लेख भएका विषयमा त्यो कुराको पुष्टि अन्तर्निहित छ ।
ब्रिटिस साम्राज्यवादको उपनिवेश हुनुभन्दा पहिले भारत भूमिमा सयौँ राज्य थिए । भारतको कुनै पनि पुर्खाले भारत एकीकरणको लागि योगदान दिएको इतिहास देखिँदैन । अहिलेको भारत ब्रिटिस साम्राज्यवादको योगदान भएकाले भारत एउटा राज्यको रूपमा भारतीय स्वतन्त्रतापछि नै विकसित हुन गएको थियो ।
स्वतन्त्रता आन्दोलनमा एकजुट भई लडेका भारतीय भूमिका जनतालाई उपनिवेशपूर्वको राज्यको नागरिक हुने वा एकीकृत भारतको नागरिक हुने भन्ने निश्चय भएको भए कस्मिर र हैदरावादले अलग राज्यको रूपमा रहने भनेर आफूलाई प्रस्तुत गर्दैनथे । त्यस्तै, स्वतन्त्रतापछि विभाजन भएर भारत र पाकिस्तान बन्ने स्थिति पनि हुने थिएन । दासताबाट मुक्त भएपछि भारत भूमिका कैयौँ राज्यले आफूलाई अलग्गै राख्न खोजेको कुरा ती घटनाबाट थाहा हुन्छ ।
यहाँ हैदरावाद र कस्मिरको राजनीतिक स्थिति, स्वतन्त्रतापछि उनीहरूले गरेको इच्छा र त्यसका लागि भएका प्रयासको इतिहासको छलफल गर्ने नभई स्वतन्त्र र सार्वभौमिक मुलुकको रूपमा आफूलाई उभ्याउने उनीहरूका विरुद्ध भारतीय शासकवर्गले तत्काल जुन नीति लागु गरे, त्यो नै हाम्रो चासोको विषय हो । हाम्रो चासोको विषय भारतीय शासनको केन्द्रमा रहेको शासकीय चरित्र नै हो ।
ब्रिटिस साम्राज्यवादले एकैठाउँमा मुछिदिएको भारतक्षेत्रका कतिपय राज्यले आफ्नो स्वत्व गुमाएको भए पनि कतिपय राज्यले स्वतन्त्रतापछि पनि आफूलाई अलग राज्यको रूपमा प्रस्तुत गर्न खोजेको कुरा हैदरावाद र कस्मिरको समस्याबाट स्पष्ट हुन्छ । उनीहरूमाथि भारतीय केन्द्र शासनले हडपनको जुन नीति अपनायो, त्यसबाट भारतीय शासकवर्गको मूल पक्ष साम्राज्यवादी जुठानका विरुवा भएको कुरा स्पष्ट भइसकेको थियो । तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले नेपालका सन्दर्भमा आफ्नो संसदमा दिएको अभिव्यक्ति पनि साम्राज्यवादी जुठानको उत्पादन थियो । सिक्किमलाई भारतमा विलय गराउने कार्य पनि त्यही साम्राज्यवादी जुठ्यानमा हुर्केको विषवृक्षको फल थियो ।
भारतीय शासकको साम्राज्यवादी नीतिलाई कार्यान्वयन गर्ने सन्दर्भमा त्यसका विभिन्न संयन्त्र परिचालित हुने क्रममा सञ्चारक्षेत्रको यो अंश पनि परिचालित भएको कुरालाई अस्वीकार गर्न सकिन्न । एकातिर, साम्राज्यवादी नीतिसहित व्यवहार गर्नु र अर्कातिर त्यसका सञ्चार संस्थाले नेपालको हिमालमा पुगेर अवाञ्छित सन्देश प्रवाह गर्नु,—यी दुबै कुरा अन्तर्सम्बन्धित छन् ।
कुनै विदशी सञ्चार माध्यमले प्रधानमन्त्री वा अरू व्यक्तिको अन्तर्वार्ता लिने र प्रसारण गर्ने कुरालाई अन्यथा ठान्दैनौँ । त्यो स्वाभाविक र सामान्य कुराअन्तर्गत पर्दछ । तर त्यससित जोडिन आउने घटनाक्रम र क्रियाकलापले फरक पार्दछ । नेपालको संविधान, नेपालले प्रकाशन गरेको नयाँ नक्सा, लिपुलेक, कालापानी, लिम्पियाधुरा आदिसम्बन्धी भारतसित भएको टसलको सन्दर्भलाई समेत विषय बनाएर प्रधानमन्त्री केपी ओलीको अन्तर्वार्ता प्रसारण गरेको जीन्युजले सगरमाथासम्बन्धी प्रसारण गरेको विवादास्पद विषय गम्भीर र सन्देहपूर्ण बन्न गएका छन् । यो कार्य सुधीर चौधरी एक्लैको दिमागमा उत्पन्न भएर गरिरहेका छन् वा भारतीय साम्राज्यवादको नीतिलाई कार्यान्वयन गर्दै छन् ? सुधीर चौधरी र उनको संस्थाले एक्लै यस्तो गरिरहेका छन् भने भारत सरकारले उनीहरू विरुद्ध कारवाही उठाउनुपर्ने छ । त्यो के हो ? भविष्यले छिट्टै बताउने छ ।
फाइदा नहुने कार्य
जीन्युजले सगरमाथासम्बन्धी जुन हर्कत् गरेको छ, त्यसबाट भारतलाई कुनै लाभ हुँदैन, बरु त्यस्ता कार्यबाट नेपाल–भारतबिचको सम्मानजनक सम्बन्धमा नै बाधा पर्न जान्छ । यसै पनि भारतीय साम्राज्यवाद दक्षिण एसियामा बद्नाम छ । छिमेकी राष्ट्रप्रतिको त्यसको मिचाह व्यवहार नै त्यसका लागि समस्या बन्दै गएको छ । पाकिस्तानसित त्यसको कटुतापूर्ण सम्बन्धको निरन्तरता, चीनसितका विवाद, नदी, नहर र सीमासम्बन्धी बङ्गलादेशसित भइरहने विवाद, भुटानबारेको नीति र नेपालसितका खटपट आदि कारणले दक्षिण एसियामा भारत एक प्रकारले एक्लोजस्तो छ । त्यसमाथि जीन्युजजस्ता सञ्चार माध्यमबाट भारतीय शासकवर्गको चरित्र झल्किने गरी गरिने क्रियाकलापबाट भारतलाई थप बद्नामी बेहोर्नुपर्नेबाहेक अरू फाइदा पुग्दैन; थप छिमेकीसितको सम्मानजनक मित्रता भत्किने छ; तनाव बढेर जाने छ ।
नेपालको सार्वभौमिकतामा आँच पुर्याउने पक्षलाई नेपाली जनताले सहन्छन् वा स्वागत गर्छन् भन्ने कुरा साम्राज्यवादीहरूले सपनामा पनि देख्नु दुर्भाग्य मात्र हो । त्यसैले जीन्युजको फाइदा नहुने कार्यप्रति स्वयम् भारत सरकार पनि सचेत हुनुपर्दछ; र, त्यस्ता अवाञ्छित क्रियाकलाप सञ्चालन गर्ने सञ्चालकलाई कारबाही र संस्थालाई बन्द गर्नुपर्ने हुन्छ । यदि भारतीय नीति जीन्युजको क्रियाकलापअनुसार होइन भने भारतले उनीहरूलाई कारबाही गरेर छिमेकीलाई आफ्नो विश्वसनीयता प्रदान गर्न सक्नुपर्दछ । होइन भने जीन्युजको क्रियाकलाप भारतीय शासकवर्गको जुठ्यानबाट उत्पन्न भएको फोहर नै ठहर्छ ।
सार्वभौमिकता र स्वतन्त्रताको रक्षा
जीन्युजले नेपालको सार्वभौमिकता र स्वतन्त्रतामाथि धावा बोल्ने कार्य गरेको छ । त्यसप्रति नेपाल सरकारले के गर्नुपर्दछ ? सम्झाइरहनुपर्ने विषय होइन । तैपनि हामीले सुझाव दिन चाहन्छौँ कि त्यस विषयमा नेपालले उच्च कूटनीतिक भूमिका खेलेर भारत सरकारलाई के हो भनेर उत्तर माग्नुपर्दछ । नेपाल सरकारले जीन्युजको उक्त क्रियाकलापबारे जनतालाई जवाफ पनि दिनुपर्दछ । जीन्युजको निन्दनीय कार्यको विरोध गर्दै देशको सार्वभौमिकता र स्वतन्त्रताको रक्षाका लागि जनता पनि सङ्घर्षरत हुनुपर्दछ । देशको सार्वभौमिकता र स्वतन्त्रताको रक्षा अन्तिममा जनताबाहेक अरू कसैले गर्न सक्दैन ।