तिला लेकाली
चौरासी लाख प्राणीमध्येको अजीव प्राणी रे !
सबै प्राणीभन्दा अशुभ मानिन्छ
घरको धुरीमा बसे अनिष्ट हुन्छ भन्थे ।
एकताका हाम्रो घरका धुरी धुरी चढेका थिए
बगैँचा बगैँचा पसेका थिए
दुधेमकैका घोगा
बिस्कुनको धान
चरनका पाडापाडी सबै रित्याएथे
हण्डीको अचार होस् वा डेलीका चामल
हर्पेको घिउ होस् वा कुँडेको कुराउनी
गरियोको तेल होस् वा पाँजाका केराउ
भुनेको दहीमही सबै सबैमा चुचो डोबेका थिए
मन्दिर, पाठशाला, पाटीपौवा सबै बिटुलो पार्दै
मनमोजी सर्वत्र पसेका थिए गिद्धहरू ।
घरि डङ्गारगिद्ध भएर पसे
घरी सुनगिद्ध भएर पसे
भेष बदलेर पसे
रूप बदलेर पसे
घर बिटुलो पारे
गाउँ बिटुलो पारे
बिसौँ पटक स्नान गरुन् गङ्गामा गएर
वा, चार धाम दर्शन गरुन्
जनमानसमा स्नान नगरेसम्म
चोखिन्नन् गिद्धहरू ।
अनौठो छ गिद्धेसंसार
मैले सुनेकी छु
गिद्धहरू पनि रुप्पी झैँ कराउँछन्
सिनोमा चोचोमोचो नमिल्दा ठुँगाठुँग गर्छन्
घरी हानाहान गरेर रक्ताम्मे बन्दछन्
तर कसैले आफ्ना सन्तान वा गुडमा आक्रमण गरे
रुप्पी झैँ एकाकार हुँदारहेछन् गिद्धहरू ।
परिपरिका थरिथरिका
हाडफोर, भुँडिफोर, हिमालीगिद्धहरू ।
कोही घरको नक्सा कोर्यौं भन्छन्
कोही घरको चर बिग्रियो भन्छन्
कोही घरै बिगारेर अर्को बनाउँछौँ भन्छन्
कोही नीतिनियम बनायौँ भन्छन्
कोही नीतिनियम नै बाल्छौ भन्छन्
आफू आफैँबिच कोही कुटे झैँ गर्छन्
कोही रोए झैँ गर्छन्
कोही जुत्तामा सुन लुकाएर स्वास्नीलाई हाने झैँ गर्छन्
कोही जुत्ता नै बोकेर धाइफल कस्छन्
कोही बाटो खने झैँ गर्छन्
कोही बाटो हिँडे झैँ गर्छन्
कोही हिँडिरहेको बाटो नै त्यागिदिन्छन्
थरिथरिका नाटक रच्छन् गिद्धहरू ।
माटोको मुठी कसेर कसम खाएका गिद्धहरू
जनता निचोरेर कैलाशकुट भवन जखेपछि
ताजमहलभन्दा कलात्मक घर ठोकेपछि
सिंहदरबारभन्दा सुन्दर महलमा बसेपछि
करोडौँको विस्तरामा देश सिरानी लगाएपछि
करोडौँका घोडा छाँडेर विदेश दौडाह गरेपछि
उतिबेला खाएको हर्पेको घिउ
र, भुनेको दहीको सोझो तिर्न नसकेर
आज सङ्कटमा परेका छन्
गिद्धहरु।