रवि पौडेल
जनताले बहुमत दिए काम गर्न भनी
मनोमानी गर्दै गए नेताहरू पनि
संवैधानिक अधिकार पनि कुल्चेर हिड्ने
सत्ता कुर्सी कस्तो खेल नेताहरू भिड्ने
हेर यिनको चाल ।
न्याय माग्दा सडकमा हिजो नआउने
कुर्सी जाँदा यिनका घरमा रुवावासी चल्ने
संविधान कुल्ची कुल्ची आफू राजा हुने
समर्थक नि कस्ता–कस्ता यिनकै लुगा धुने
हेर यिनको चाल ।
गल्ती गर्ने सरकारको किन ताली पिट्छौ
संविधान कू गर्दा नि राम्रै भयो भन्छौ
संविधानको बलात्कार भयो फेरि आज यहाँ
टुलुटुलु कार्यकर्ता ताली पिट्छन त्यहाँ
हेर यिनको चाल ।
अहङ्कारमा जमेको छ सत्तालिप्सा यिनको
विदेशको इसारामा काम यहाँ हुन्छ
संसदको हत्या हुँदा संविधान रुन्छ
संविधानको धारा पनि मौन किन अहिले ?
हेर यिनको चाल ।
अस्थिरता बढ्दै गयो अनिश्चितता छायो
बहुमतको सरकार पनि काम नलाग्ने भयो
फेरि अब भोट माग्न के नाताले आउँछन्
राष्ट्रियताको खोक्रो गीत फेरि पनि गाउँछन्
हेर यिनको चाल ।
जनता बुझ्नुपर्ने दिन अब आए
पटक–पटक सरकार बनाई आधा देश खाए
हेर यिनको चाल ।
बुझ जनता उठ
अब हिँड कम्मर कस
देश सबै बर्बाद भो हरेर नबस
हेर यिनको चाल ।