काठमाडौैँ । ‘मेरो एक रुपियाँ, मेरो भविष्यका लागि’ भन्ने सदस्य कल्याण कोष नामक योजना पारित गर्दै धनकुञ्ज वचत तथा ऋण सहकारी संस्था लि. को दशौँ साधारण सभा सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले उद्घाटन गर्नुभएको सो सभा २०७७ पौष १८ गते नयाँबजारस्थित सगुन क्याफेमा सम्पन्न भएको हो ।
‘निजी सम्पत्तिको मोहलाई कम गर्दै सामूहिकताको अभ्यास गर्दै जानुपर्दछ’ उद्घाटन भाषणको दौरानमा नेता आनन्द शर्माले बताउनुभयो । सहकारीको बहानामा कतिपय मुठ्ठीभर मानिसहरूले लुटको धन्दा पनि बनाउने गरेको बताउदै उहाँले ‘क. चित्रबहादुर केसी सहकारी मन्त्री भएको समयमा सहकारीहरूलाई व्यवस्थित पार्ने दिशामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । ‘विचार र भावना मिल्नेहरूका बिचमा सहकार्य गर्दै धनकुञ्ज वचत तथा ऋण सहकारी संस्था अझ सशक्त र व्यापक रूपमा अगाडि बढ्दै जानुपर्दछ’ उहाँको जोड थियो ।
धनकुञ्ज वचत तथा ऋण सहकारी संस्थाको सभाको अवसरमा सो सहकारीका निवर्तमान अध्यक्ष रमेश पौडेलका सुपुत्र युगान्तर पौडेलको नामबाट सदस्य कल्याण कोषको औपचारिक रूपमा उद्घाटन गरिएको थियो । आजैका दिन युगान्तरको जन्मदिन पनि रहेकाले जन्मदिनको भोजमा खर्च हुने रकम सो कोषमा सहयोगसमेत गरिएको थियो । सेयर सदस्य चपला ढकालकी सुपुत्री अनुपमा पौडेलको पनि आजैका दिन जन्मदिन परेको हुँदा आजैका दिन उनी पनि सदस्य कल्याण कोषमा सदस्य तथा केही रकम सहयोगसमेत गर्नुभएकी थिइन ।
दिनको एक रुपियाँ कोषमा जम्मा गरी सदस्यको औषधिउपचार खर्च ५,००० रुपियाँ, घातक रोगको उपचार १०,००० रुपियाँ, परिवारको मृत्यु भएमा ५,००० रुपियाँ, दुर्घटना परेमा मासिक ५०० रुपियाँ, महिला सदस्य सुत्केरी भएमा २,००० रुपियाँ, नवजात शिशुको खातामा ५०० रुपियाँ तथा सदस्यको मृत्यु भएमा एक लाख रुपियाँ सहयोगसम्म सहयोग गर्ने सदस्य कल्याण कोषको योजना रहेको छ ।
संस्थाका अध्यक्ष रमेश पौडेलको अध्यक्षता सचिव उद्धवहरि भट्टराईको सञ्चालनमा अगाडि बढेको सो साधारण सभाले उद्धवहरि भट्टराईको अध्यक्षतामा सात सदस्यीय नयाँ सञ्चालन समिति समेत चयन गरिएको छ । समितिको सचिवमा मधुकुमार क्षेत्री, कोषाध्यक्षमा चिन्तामणि पौडेल तथा सदस्यमा लक्ष्मी केसी, मोहनकृष्ण श्रेष्ठ, मदन ढकाल र योगमाया गौतम हुनुहुन्छ । त्यस्तै, लेखा समितिको संयोजकमा अशोकविक्रम जिसी र सदस्यमा सुदीप ढकाल र विजया आचार्यलाई समेत सभाले निर्वाचित गरेको छ ।