काठमाडौं । क्रोएशियामा मंगलबार राति भूकम्प जाँदा सात जनाको मृत्यु भएको छ भने अरु कैयौं घाइते भएका छन् । ६.४ म्याग्निच्युडको भूकम्पका कारण ठूलो परिमाणमा भौतिक क्षतिसमेत भएको छ ।
पेट्रेनियाका मेयरका अनुसार सहरको करिब आधा भाग ध्वस्त भएको छ र मानिसहरूलाई भग्नावशेषबाट निकालिँदै छ । भूकम्पको प्रभाव क्रोएशियाको राजधानी जाग्रेब, छिमेकी बोस्निया र सर्वियाका साथै इटलीसम्म महसुस गरिएको बीबीसीले जनाएको छ ।
सरकारी सञ्चारमाध्यमका अनुसार एक जना महिलालाई भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ । २० हजार मानिसको बसोबास रहेको पेट्रेनिया सहर अब असुरक्षित रहेको त्यहाँका प्रधानमन्त्री आन्द्रे प्लेनकोभीच जनाएका छन् । छिमेकी सहर सिसाकमा पनि मानिसहरू घाइते भएका छन् ।
राष्ट्रिय प्रसारक एचआरटीले स्थानीय अस्पतालहरूलाई घाइतेहरूको उपचार गर्न गाह्रो भएको जनाएको छ । केही घाइतेलाई शल्यक्रियाको आवश्यकता रहेको बताइएको छ ।
जर्मन रिसर्च सेन्टर फर जीओसाइन्सेसका अनुसार स्थानीय समय अनुसार ११ बजेर १९ मिनेट जाँदा भूकम्प आएको हो ।
पेट्रेनिया पुगेका प्रधानमन्त्री आन्द्रे प्लेनकोभीचले भने, ‘एक जना बालिकाको मृत्यु भएको खबर हामीसँग छ। के कति हताहत भए भन्ने बारे थप सूचना छैन ।’
‘सहयोगका लागि सेना आएका छन्। यहाँ बस्न असुरक्षित भएको हुँदा हामीले केही मानिसहरूलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने देखिन्छ’ उनले थपे ।