काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा विगत १६ दिनदेखि आन्दोलनरत उखु किसानहरुको आन्दोलन स्थगित भएको छ । सरकारले २१ दिनभित्र सबै बक्यौता भुक्तानी गराइदिने प्रतिबद्धता जनाएपछि उखु किसानले आन्दोलन स्थगित गरेका हुन् ।
उखु किसान र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच आज भएको वार्तामा सबै भुक्तानी ३ हप्ताभित्र गराइदिने आश्वासन मन्त्रालयले दिएको थियो । भुक्तानी पाउने आश्वासनपछि किसानहरुले आन्दोलन स्थगित गर्ने सहमति गरेका हुन् ।
छलफलमा उद्योगी, सरकार र किसान मिलेर बक्यौतासम्बन्धी विषयमा प्रतिवेदन नै तयार गर्ने सहमति जुटेको छ । उक्त प्रतिवेदन आगामी ४ महिनाभित्र सरकारलाई पेश गर्ने सहमति समेत भएको छ ।
उखुको भुक्तानी माग गर्दै विभिन्न जिल्लाबाट काठमाडौं आएका किसानहरु विगत १६ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका थिए । यो बीचमा केही उद्योगीले किसानको खातामा रकम पठाएका छन् । तर सरकारले तोकेभन्दा पनि कम दरमा भुक्तानी पाएको भन्दै सबै किसानको खातामा सबै भुक्तानी नपाउँदासम्म आन्दोलन जारी राख्ने किसानहरु बताएका थिए ।
विगत सात वर्षदेखिको भुक्तानी मिल सञ्चालकहरुले नदिएपछि किसानहरु निर्णयक आन्दोलन गर्न भन्दै काठमाडौं आएका हुन् । गत वर्ष पनि उनीहरुले यस्तै आन्दोलन गरेका थिए ।
तर सरकारको रोहबरमा किसान र उद्योगीबीच एक महिनाभित्र भुक्तानी दिने सहमति भएपछि किसान घर फर्किएका थिए । एक वर्षसम्म पनि भुक्तानी नपाएपछि तिनै किसान फेरि काठमाडौं आई आन्दोलन गरेका हुन् ।
उखु किसान संघर्ष समितिका सदस्यहरुले सरकारले प्रतिक्विन्टल ४ सय ७१ रुपैयाँ २८ पैसा मूल्य तोके पनि उद्योगीहरुले ४ सय ३५ रुपैयाँ मात्रै भुक्तानी दिएको गुनासो गरेका छन् । किसानहरुका अनुसार चिनी उद्योगीहरुबाट उखु किसानहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ ।