काठमाडौं । दक्षिण कोरिया जानका लागि भाषा परीक्षा ईपीएसमा नक्कली परीक्षार्थीहरु सामेल हुने गरेको पाइएको छ । उनीहरुले जनही पाँचदेखि सात लाख रुपैयाँसम्म रकम लिएर वर्षौंदेखि परीक्षा दिने गरेको प्रहरीले जनाएको छ ।
लाखौं रुपैयाँ लिएर अर्कैका लागि ईपीएस परीक्षा दिने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहश्य खुलेको हो । मंगलबार एक व्यक्तिलाई पक्राउ गरेको प्रहरीले बिहीबार अर्का एक जनालाई पनि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–८ स्थायी घर भई हाल काभ्रेपलाञ्चोक पनौती नगरपालिका–७ नयाँ बस्ती बस्ने रोजबहादुर तामाङ रहेका छन् ।
तामाङ समेतका व्यक्तिहरुले ईपीएस परीक्षामा सहभागी हुने परीक्षार्थीहरुलाई प्रलोभनमा पारी प्रतिव्यक्ति पाँच लाख रुपैयाँसम्म लिई आफै नक्कली परीक्षार्थी बनेर परीक्षा दिई परीक्षा पास गराई कोरिया पठाउने कार्यमा वर्षौदेखि संलग्न रहँदै आएको प्रहरीले जनाएकोे छ ।
तामाङलाई भक्तपुरको सुर्यविनायक नगरपालिका–१०, चितापोलबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, जगातीमा पठाईएको छ।
यसअघि विद्यार्थीहरूलाई प्रलोभनमा पारी सात लाख रुपैयाँसम्म लिएर परीक्षा दिने काठमाडौंको बागबजारमा रहेको सेन्सेगे कन्सल्ट्यान्सीका प्रशिक्षक उत्तममान लिम्वुलाई प्रहरीले पक्राउ गरेको थियो ।
सुनसरीको धरान उपमहानगरपालिका–१९ स्थायी घर भएका लिम्वुलगायतले विद्यार्थीहरुको प्रवेश पत्रमा आफ्नो फोटो राखी परीक्षा दिने र उत्तिर्ण हुनेबाट प्रतिव्यक्ति सात लाख रुपैयाँसम्म लिई कोरिया पठाउने कार्यमा वर्षौदेखि संलग्न रहँदै आएको महानगरीय अपराध महाशाखाले जनाएको छ।





