पाल्पा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य कूलबहादुर बगालेका बुवा रिखबहादुरको मृत्युपछि मृतककी श्रीमतीलाई रातो टिका र दोसल्ला ओढाएर सम्मान गरिएको छ । श्रीमान वितेपछि श्रीमतीले रातो लगाउन नहुने धार्मिक परम्पराको विरोध गर्दै नेता बगालेकी आमालाई रातो दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका–७ कोहोतुङ निवासी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य बगालेका बुबा रिखबहादुर बगालेको गत डिसेम्बर ९, २०२० का दिन निधन भएको थियो ।
रिखबहादुरको निधन भएको १२ औँ दिनमा उहाँकै निवासमा एक कार्यक्रम गरी श्रीमती बगालेलाई सम्मान गरिएको हो । उहाँलाई रातो टिका प्रदान गरी सम्मान गर्दै अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य नरमती सिंजालीले श्रीमानको मृत्युपछि महिलाहरुले लगाउने पोशाकसमेत किटान गरि सेतो पोशाक लगाउनु पर्ने यसप्रकारको संस्कारलाई बहिष्कार गर्नुपर्ने बताउनुभयो ।
मूल प्रवाहका नेता कूलबहादुर बगालेले सञ्चालन गर्नुभएको सो श्रद्धाञ्जलीसभामा राजमोका केन्द्रीय सदस्य सोमकुमार कार्की, वार्ड नम्बर ७ का जनप्रतिनिधि रामबहादुर राना, वार्ड नम्बर ८ का डिलबहादुर लाम्टागे र हेम बहादुर बगाले लगायत भद्र भलाद्मीहरुको उपस्थिति रहेको थियो ।
बुवाको मृत्युपछि घर पुग्नुभएका मूल प्रवाहका केन्द्रीय सदस्य बगालेले धार्मिक परम्पराअनुसारको काजक्रियासमेत गर्नुभएको थिएन । उहाँले समाजसामु आफ्नो स्पष्ट मत राख्दै बुबाको मृत्युसंस्कार बहिस्कार गरी वर्तमान रूढीवादी धार्मिक संस्कारको विरुद्ध वैज्ञानिक सिद्धान्तमा आधारित मृत्युसंस्कारलाई मान्ने र आध्यात्मिकतामा आधारित सडेगलेको कुसंस्कारको अन्त्यका लागि सामाजिक रूपमा नै यस प्रकारको बहिस्कार आन्दोलन चलाइराख्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।
(खिमराज चालिसे, चण्डिगढ भारतबाट)
यो पनिः
मूल प्रवाहका केन्द्रीय सदस्य कुलबहादुर बगालेलाई पितृशोक
धार्मिक मान्यता र परम्परालाई तोड्दै कुलबहादुर बगालेले गरे मृत्युसंस्कार बहिस्कार