प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।।
राष्ट्रिय किसान सञ्जाल राष्ट्रिय कार्यान्वयन समितिको आयोजनामा ‘एसिया प्यासिफिक किसान कार्यक्रमअन्तर्गत खाद्य सम्प्रभुता, भूमिसुधार ऐन र एसिया प्रसान्तका किसान कार्यक्रमको कार्यान्वयनमा सञ्चारक्षेत्रको भूमिका’ बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पूर्व मन्त्री तथा अखिल नेपाल किसान महासङ्घ (अन्पा) का अध्यक्ष तथा पूर्वमन्त्री हरिप्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा २०७७ पुस ५ गते ललितपुरको धोबीघाटमा सो कार्यक्रम सम्पन्न भएको हो ।
ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरिसकेपछि मन्तव्य राख्दै पूर्व कृषिमन्त्री पराजुलीले कृषिक्षेत्रको समस्याबारे कलम चलाउने मिडिया तथा पत्रकार र राष्ट्रिय किसान सञ्जालमाझ अन्तरक्रिया गरेर साझा मञ्च निर्माण गर्न यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
प्रतिकिसान परिवारको हिसाबले भारतमा भन्दा नेपालमा अनुदानको रकम बढी भएको दावी गर्दै पराजुलीले नेपालको शासन व्यवस्थाको कमजोरीले गर्दा वास्तविक किसानसमक्ष लाभ नपुगेको बताउनुभयो । उहाँले त्यस क्षेत्रमा काम गर्न पत्रकारहरूले पनि आवश्यक सहयोग गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

कार्यक्रममा कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रमुख डा. श्रीराम घिमिरेले “कृषि सूचना तथा प्रशिक्षण केन्द्रको वर्तमान अवस्था, कार्यक्रम र भावी दिशा” र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घका सञ्चार सल्लाहकार सङ्गम महतले “कृषि, खाद्य सुरक्षा, भूमि र खाद्य सम्प्रभुतासम्बन्धी कानुन कार्यान्वयनको अवस्था र सञ्चार क्षेत्रको भूमिका” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्रमाथि आधारित रहेर एसोसियसन अफ नेपाली एग्रिकल्चर जर्नालिस्ट (अनाज) का अध्यक्ष किरण आचार्य, नेपाल कृषि पत्रकार प्रतिष्ठानका का.वा. अध्यक्ष निमेश अधिकारी, नेपाल कृषि पत्रकार समाजका अध्यक्ष बैकुण्ठ भण्डारी र एग्रो मिडिया सोसाइटीकी अध्यक्ष कमला भट्टराई न्यौपानेले मन्तव्य राख्नुभएको थियो ।

फ्लोरबाट पत्रकारहरू अजित अधिकारी, सुनिता नेम्वाङ र प्रकाश थापामगरले जिज्ञासा राख्नुभएपछि नेपाल कृषि सहकारी केन्द्रीय सङ्घकी का.वा. महाप्रबन्धक मीना पोख्रेले सङ्क्षिप्त प्रष्टीकरण मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय किसान सञ्जाल राष्ट्रिय कार्यान्वयन समितिका संयोजक नहेन्द्र खनालको अध्यक्षता, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सल्लाहकार शिवहरि खनालको सञ्चालन तथा राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घका महासचिव शम्भु दुलालको स्वागत मन्तव्य रहेको थियो ।