काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई पूर्पक्षका लागि थुनामा पठाइएको छ । आइतबार विशेष अदालतमा हाजिर भएका बस्न्यातलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
बस्न्यात भौतिक योजना सचिव हुँदा बालुवाटारस्थित ललित निवासको सरकारी जमिन व्यक्तिको नाममा सार्न उनले खेलेको भूमिकासहित तीन वटा अभियोग लगाइएको छ । बन्स्यातको निर्णयबाट सरकारलाई ९ करोड ६५ लाख रुपैया घाटा लागेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ।
विशेष अदालतका प्रवक्ता तथा उपरजिष्ट्रार पुष्पराज पाण्डेले न्यायाधीशत्रय प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले बस्नेतलाई थुनामा पठाउने आदेश दिएको बताउनुभयो । तत्काल प्राप्त प्रमाणबाट बस्नेत आरोपित पुष्टि हुने देखिएकोले थुनामा पठाउने आदेश भएको प्रवक्ता पाण्डेले बताउनभयो ।
सो प्रकरणमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहति तीन पूर्वमन्त्रीलगायत विरुद्ध अदालतमा मुद्दा विचाराधिन छ । २०७६ माघ २२ गते अख्तियारले बस्न्यातसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा तयार गरेको थियो ।