काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले प्रमुख चार प्रतिस्पर्धात्मक राज्यहरूको चुनावी नतिजा खारेज गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको प्रयासलाई अस्वीकार गरेको छ।
टेक्सस, जोर्जिया, मिशिगन, पेन्सिल्भेनिया र विस्कन्सिन राज्यको नतिजालाई अमान्य घोषणा गर्न यसै साता मुद्दा दायर गरिएको थियो। ती चारवटै राज्यमा ट्रम्पका प्रतिस्पर्धी जो बाइडनले चुनाव जितेका हुन्।
बीबीसीका अनुसार उक्त मुद्दालाई १८ प्रान्तीय महान्यायाधिवक्ता र १०६ रिपब्लिकन कङ्ग्रेस सदस्यहरूले समर्थन जनाएका थिए।
तर एउटा संक्षिप्त आदेशमा सर्वोच्च अदालतले शुक्रवार टेक्सससँग उक्त मुद्दालाई सर्वोच्च अदालतमा अघि बढाउने कुनै कानुनी आधार नभएको उल्लेख गरेको छ।
अदालतको यो आदेश ट्रम्पका लागि एउटा झड्का हो किनकि उनी गत नोभेम्बरमा भएको निर्वाचनमा प्रमाणविना धाँधलीको आरोप लगाइरहेका छन् र त्यसलाई कानुनी चुनौती दिने बताइरहेका छन्।
उक्त अदालतले यसै साता पेन्सिल्भेनियामा बाइडनको विजयविरुद्ध अर्को एउटा छुट्टै कानुनी चुनौतीलाई खारेज गर्दै एक वाक्यमा आदेश दिएको थियो।
चुतावपश्चात् ट्रम्पका समर्थकहरूले चुनावी नतिजाविरुद्ध दर्जनौँ मुद्दाहरू हालेका छन् तर ती कुनै पनि सफल भएका छैनन्।
