हेटौँडा । बागमती प्रदेशका मिडियालाई लोक–कल्याणकारी र समानुपातिक विज्ञापन उपलब्ध गराइने भएको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल पत्रकार महासङ्घ मकवानपुरको सोह्रौँ वार्षिक साधारण सभाको आज उद्घाटन गर्दै सो जानकारी दिनुभएको हो ।
प्रदेश सरकारले आफ्नो प्रदेशभित्र स्थापित रेडियो, टेलिभिजन, अनलाइन र छापा सञ्चार माध्ययमलाई लोक–कल्याणकारी र समानुपातिक विज्ञापन उपलब्ध गराइने नीति रहेको जनाउँदै उहाँले प्रदेशमा पत्रकारिता क्षेत्रको विकासका लागि प्रदेश सञ्चार रजिस्ट्रारलाई प्रभावकारी भूमिका निर्वाह गर्न जिम्मेवारी दिइएको बताउनुभयो ।
उहाँका अनुसार सङ्घीय, प्रदेश र स्थानीय सरकारबिच सहकार्य गरेर आगामी दिनमा ज्येष्ठ पत्रकारलाई निवृत्तीभरण दिन नेपाल पत्रकार महासङ्घले स्थापना गरेको कोषमा प्रदेश सरकारका तर्फबाट सहयोग गरिने छ ।
कार्यक्रममा बागमती प्रदेशसभामा प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ, नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, सचिव रामप्रसाद दाहाल, प्रदेश सञ्चार रजिस्ट्रार रेवती सापकोटा, पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट र सल्लाहकार गिरिजा अधिकारीले सरकारले सम्बोधन गर्नुभएको थियो ।