काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविताहरूलाई एउटै कृतिमा प्रकाशन गर्ने भएको छ ।
पच्चिस वर्ष पुरस्कृत १२५ कविका कवितालाई एउटै कृतिमा प्रकाशन गर्न लागिएको काव्य विभाग प्रमुख तथा कृतिका सम्पादक प्रा.डा. पौडेलले जानकारी दिनुभयो । ‘साहित्यकार तथा साहित्यप्रेमीलाई कुन कुन वर्ष कस्ता कस्ता कविता पुरस्कृत भएका थिए भन्नेबारेमा चासो हुनु स्वाभाविक हो’ उहाँले भन्नुभयो– ‘पुस्तक प्रकाशन गर्नाले नयाँ पुस्तालाई सिकाइ हुनाका साथै इतिहासको दस्तावेजीकरण गर्नमा समेत मद्दत मिल्छ ।’
प्रज्ञा–प्रतिष्ठानले २०२२ सालदेखि कविता महोत्सव सञ्चालन गर्दै आइरहेको छ । विसं २०२२ देखि २०४६ सम्म पुरस्कृत कवितालाई ‘कविता महोत्सव : पच्चिस वर्ष’ (२०४६) कृतिमा प्रकाशन गरिसकिएको छ ।
त्यसपछिका पुरस्कृत कवितालार्ई प्रा.डा. हेमनाथ पौडेल, डा. देवी नेपाल र शशी लुमुम्बुको सम्पादनमा ‘राष्ट्रिय कविता महोत्सव ः पुरस्कृत कविताहरू’ शीर्षकमा प्रकाशन गर्न लागिएको हो ।
वि.सं. २०४६ देखि २०७६ सम्मको तीस वर्षे अवधिमा राजनीतिक परिवर्तनका कारण २०४७ सालमा एक वर्ष र प्राज्ञ परिषद् गठन हुन नसक्दा २०६३–६६ सालमा चार वर्ष गरी जम्मा पाँच वर्ष महोत्सव आयोजना हुन सकेको थिएन ।
कृतिमा पुरस्कृत कवि र कविताका साथै र महोत्सवको समग्र इतिहासका बारेमा पनि उल्लेख गरिने अर्का सम्पादक प्राज्ञ डा. नेपालले बताउनुभयो ।