भोजपुर । भोजपुरमा पहिलो पटक लाहाखेती सुरु गरिएको छ । निजी, सामुदायिक तथा कबुलियती वनलाई आयमूलक बनाउने लक्ष्यसाथ डिभिजन वन कार्यालय भोजपुरले लाहाखेतीको थालनी गरेको हो ।
विषेश गरेर बढी तापक्रम तथा सुख्खाग्रस्त क्षेत्रमा पाइने खयर, बयरलगायत रुखको संरक्षण तथा उपभोक्ताको आयस्तर सुधार गर्न यस्तो अभियानको थालनी गरिएको डिभिजन वन कार्यालय भोजपुरले जनाएको छ ।
कार्यालयले अरुण गाउँपालिकाका तीन सामुदायिक र निजी वनमा परीक्षणको रूपमा लाहाखेती थालनी गरेको हो । विज्ञहरूको समूहसहित धनकुटा जिल्लाबाट बिउ ल्याएर रुखको हाँगामा लाहा उत्पादन गर्ने लाहीकिरा (भ्रुण) छाडेर यसको थालनी गरिएको जिल्ला डिभिजन वन कार्यालय भोजपुरका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिनुभयो ।
प्रमुख घिमिरेले भन्नुभयो– ‘भोजपुरमा पहिलो पटक लाहाखेतीको सुरु भएको छ । मैले यहाँको कार्यालय प्रमुखको जिम्मेवारी लिएपश्चात पहिलो पटक यसको थालनी गरेको छु । यहाँका तल्लोतटीय क्षेत्र अर्थात बेँसीभेगका वनमा यसको सम्भावना धेरै छ । यसको व्यावसायिक खेती गर्न सकेमा राम्रो आम्दानी लिन सकिन्छ भने यो लगाइसकेपछि हाँगा काट्न नमिल्ने भएकोले वनको पनि संरक्षणमा टेवा पुग्छ ।’
लाहाको कच्चा पदार्थ प्रतिकेजी २५० रुपियाँसम्ममा बिक्री हुने र यसको प्रशोधन गरेपश्चात प्रतिकेजी एक हजार ८०० देखि दुई हजार रुपियाँसम्ममा बिक्री हुन्छ । ‘‘यो खेतीमा धेरै मिहिनत गर्नुपर्दैन । एक पटक लगाएपछि वर्षमा दुई पटक सङ्कलन गर्न सकिन्छ । फर्निचर कारखाना, सुन पसललगायत अन्य विभिन्न काममा प्रयोग हुने लाहा अहिले भारतीय बजारबाट आउने गरेकोले स्वदेशमा नै यसको उत्पादन गर्ने उद्देश्यले यहाँ पनि लगाउन सुरु गरिएको प्रमुख घिमिरेले भन्नुभयो ।
यसअघि लगाएका ठाउँमा एउटा रुखबाट सय केजीसम्म सङ्कलन गरेको किसानले बताउने गरेको उहाँले जानकारी दिनुभयो । तल्लो भेग तथा नदी खोलाका किनार एवम् तिनीहरुको आसपासका खयर, बयर, मौवालगायतका प्रजातिका रुख भएका जङ्गल उपयुक्त रहेको कार्यालयले जनाएको छ ।