वासिङटन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको कुकुरसँग खेल्ने क्रममा खुट्टा मर्किएको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् । बाइडेनका चिकित्सकका अनुसार बाइडेनको दायाँ खुट्टा मर्किएको र उहाँलाई केही हप्तासम्म सहयोगी आवश्यक पर्न सक्ने छ ।
बाइडेनलाई डेलावेयरस्थित नेवार्क अस्पतालमा शनिबार उपचारका लागि भर्ना गरिएको थियो ।
बाइडेनका चिकित्सक केभिन ओ–कोन्नोरले एक विज्ञप्ति प्रकाशन गरी प्रारम्भिक एक्सरे गर्दा हड्डी भाँचिएको नदेखिएको बताउनुभएको छ । तर उहाँको खुट्टाको सिटी स्क्यान गर्न लागिएको पनि डा. केभिनले बताउनुभयो ।
बाइडेनको उमेर हाल ७८ वर्ष रहेकाले पनि ससानो दुःखाइ पनि जटिल हुन सक्दछ । राष्ट्रपति निर्वाचित बाइडेनले आगामी वर्ष जनवरी २० मा राष्ट्रपतिको शपथ लिँदै हुनुहुन्छ । उहाँ अमेरिकी इतिहासमै सबैभन्दा बढी उमेरमा राष्ट्रपति बन्नुहुने छ ।
बाइडेन अस्पतालमा जाँदा खुट्टा खोच्याउँदै हिँड्नुभएको देखिएको थियो तर वैशाखी वा अन्य कुनै सहायता लिनुभएको थिएन ।
(रासस/एपी)