रवि पौडेल
आज यस्तो दिन बन्यो तिमीलाई
इतिहासमा बिर्सनै नसकिने
बज्रपात पर्यो कमरेड तिमी
लाखौँ जनताको पक्षमा समर्पित जीवन
जिउन सिकाउने
लाखौँ गरिबको मुक्ति खोज्ने तिमी
आफ्नै छोरीको उपचारको खोजीमा
हस्पिटल जाँदै गर्दा
त्रिशूलीको छालले
त्यो भिरले
बज्रपात गरायो ।
एकैपटक परिवार विछोडको पीडाले
कति अप्ठ्यारो पार्यो होला ?
तिमी निडर र साहसी योद्दा
यो परिस्थितिमा धैर्यधारण गर्नू
अकस्मात घट्ने यस्ता घटनाले
निकै भावुक बनाउँदो रहेछ
दुई शब्द लेख्दै गर्दा म आँसु थाम्न सकिनँ
तिमी कसरी आँसु थाम्छौ होला ?
यस्तो परिस्थितिको सामना कसरी गर्छौं ?
तर गर्ने छौ कमरेड ?
जनता पीडित छन्
देश पीडित छ
पीडित र सर्वहाराको वेदना सुनाउने
कमरेड, आज तिमी पीडित छौ ।
चहराइरहेको घाउ
चर्किरहेको मुटु
कापिरहेको शरीर
बगिरहेका आँसु
आज परेको यो पीडा
पक्कै पनि तिमी सामना गर्ने छौ
किनकि
तिमी एक लालसेना हौ
तिमी एक जनसेना हौ
तिमी एक दस्ता हौ
तिमी एक क्रान्तियोद्दा हौ
हजारौँ बाधा पन्छाउन सक्ने
तिमी एक युवक हौ ।
त्यसकारण
शोकलाई शक्तिमा बदल
मृतकप्रति हार्दिक श्रद्धाञ्जली
र, कमरेड मुकुन्द रोका र परिवारजनप्रति
धैर्यधारणको कामना ।