• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नेपाली कम्युनिस्ट आन्दोलनमा देखा परेको सांस्कृतिक स्तरको समस्याबारे


  •   मङ्गलबार, मङि्सर ०९, २०७७ मा प्रकाशित
  • रामप्रकाश पुरी ।।

    Advertisement

    १. प्रसङ्ग उठान
    अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अन्तरसङ्घर्ष चलेको छ । अन्तरसङ्घर्ष जुनसुकै विषयका लागि चलेको भए पनि त्यो अन्तरसङ्घर्षको क्रममा देखा परेको त्यसको सांस्कृतिक धरातल निम्न कोटिको स्तरलाई राम्ररी देख्न सकिन्छ ।
    यस विषयमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहद्वारा २०७७ मङ्सिर २ गते जारी वक्तव्यको यो अंशले बढी प्रकाश हाल्दछ : “नेकपाभित्र व्यक्तिगत रूपमा एकर्कालाई निम्नस्तरका गालीगलौजसम्म गर्ने जुन प्रवृत्ति देखा परेको छ, त्यसका लागि हामीलाई दुःख लागेको छ । त्यस प्रकारको प्रवृत्ति नेपालको राजनीति र स्वयम् कम्युनिस्ट आन्दोलनमा पनि देखा परेको निम्न सांस्कृतिक स्तरको परिणाम हो ।”

    त्यसरी नेकपाभित्र व्यक्तिगत रूपमा लगाउने गरिएको आक्षेपले राजनीतिक वा सैद्धान्तिक महत्त्त्व त राख्दैनन् नै, ती आक्षेप निम्नस्तरका गालीगलौज वा चरित्रहत्याका विषय बन्न गएका छन् । विभिन्न उतारचढावका साथ नेपाली कम्युनिस्ट आन्दोलन यहाँसम्म आइपुग्दा अनेक पक्ष, समूह, गुट, व्यक्तित्व आदि अस्तित्त्वमा आएका छन् । त्यो सिलसिलामा आन्दोलनका विभिन्न पक्षहरूमा सिद्धान्त, राजनीति र कार्यशैलीमा भएको पतनका साथै सांस्कृतिक पक्षमा समेत देखिएको दरिद्रताले नेपाली कम्युनिस्ट आन्दोलनभित्र बुर्जुवा वर्गको भन्दा घटिया र कमजोर आदर्श भएको कुरा पुष्टि गर्दछ । त्यसरी यो कुरा पनि प्रमाणित हुन गएको छ कि त्यस प्रकारको घटिया र कमजोर आदर्शको परम्पराबाट नेपाली कम्युनिस्ट आन्दोलन विभिन्न रूपबाट ग्रसित हुँदै आएको छ र त्यो दृश्यबाट नेपाली कम्युनिस्ट आन्दोलनमा आज पनि खालि सैद्धान्तिक र कार्यनीतिक पक्षमा मात्र होइन, सांस्कृतिक पक्षमा समेत ठुलो समस्या रहेको छ भन्ने कुरा बुझ्न सकिन्छ ।

    २. गालीगलौज र चरित्रहत्या : एक सांस्कृतिक सङ्कट
    यी केही प्रसङ्गसित परिचित हुने कोसिस गरौँ :

    १. सिद्धान्त र राजनीतिमा भएका विचलन वा पतन हुनु स्वाभाविक थियो, तर बुर्जुवा समाजमा समेत स्थान पाउन नसक्ने गालीगलौज र चरित्रहत्याको प्रवृत्तिलाई राजनीतिक रङ दिएर नेपाली कम्युनिस्ट आन्दोलनभित्र जुन कर्म चलिरहेको छ, त्यो सांस्कृतिक पतनको सिलसिला हो, जसले हाम्रो सांस्कृतिक चिन्तन र विवेकमाथि प्रश्न तेस्र्याइरहेको छ । जहाँसम्म विवेकको प्रश्न छ, यसबारे विभिन्न शास्त्रमा चर्चा गरिएको छ । तिनीहरूका एउटै निष्कर्ष छ : विवेक स्वार्थद्वारा वशीभूत भएर सञ्चालन हुन थाल्यो भने त्यसको पाखण्डी रूप अगाडि आउँछ र अन्तमा त्यसको निम्नस्तरमा पतन पनि हुन्छ । त्यसले के उपयुक्त हुन्छ र हुन्न भन्ने पक्षबाट नभई आफ्नो स्वार्थलाई केन्द्रमा राखेर विचार गर्दछ ।

    २. मानिससँग विवेक हुन्छ, त्यसरी उसको विवेकका सम्बन्धमा प्रश्न उठ्न सक्दछ । विवेक गुमाउँदा कतिपय अवस्थामा गालीगलौजमा उत्रिने पक्षले पशुजन्य व्यवहार पनि प्रदर्शन गर्न सक्दछन् । जस्तै कि पशुबारे विचार गर्न सकिन्छ, आमाजातिले आफ्नो बच्चाको माया गर्दछन् तर प्रकृतिजन्य स्वभावबाट बाहेक उनीहरूले आफ्नो बच्चाप्रति विवेकीय दायित्व निर्वाह गर्न सम्भव हुँदैन । त्यसको परिणाम हुन्छ, आफ्नो बच्चाको अगाडि भएको खानेकुरा पनि खोसेर खानु । जस्तै कि एउटा भैँसीले दाम्लो चुँडालेर पनि आफ्नो बच्चाको लागि दिइएको कलिलो घाँस खाइदिन्छ । त्यसरी बच्चालाई माया गरेर त्यसले आफ्नो चेतना त देखाउँछ, तर त्यसरी माया दर्शाएपनि विवेक र ज्ञानको अभावका कारण बच्चा भोकै पर्नेबारे त्यसले विचार गर्न सक्दैन । मानिसले त्यो भन्दा बेग्लै ढङ्गले व्यवहार गर्नुपर्दछ । शत्रुपक्षमाथि पनि विवेकीय व्यवहार गरी अन्य पशुजगत्भन्दा बेग्लै रूपमा आफूलाई प्रस्तुत गर्न सक्नु नै मानिस कहलिनु हो ।

    ३. विवेक प्रयोग गरी प्रदर्शन हुने व्यवहारलाई सांस्कृतिक चिन्तनको मापदण्डमा राखेर विचार गरिन्छ । जीवनयापनका विभिन्न व्यावण्हारिक विषय, सिद्धान्त, राजनीति आदि; अर्थात् मानिसले गर्ने हरेक व्यवहारमा विवेकको उपस्थिति रहन्छ । त्यसको सांस्कृतिक स्तर भनेको त्यसको व्यवहारमा प्रकट हुने कार्यशैली हो ।

    ४. विवेकभित्र केही अन्धकार पक्ष पनि हुन्छ, जुन नितान्त तल्लो दर्जाको स्वार्थद्वारा वशीभूत भएर प्रकट हुन्छ । त्यही तल्लो दर्जाको स्वार्थपरक व्यवहार नै चरित्रहत्या र गालीगलौजको प्रवृत्ति हो । हाम्रो सांस्कृतिक स्तरलाई विकास र समृद्ध बनाएर लैजानमा विवेकको महत्त्त्वपूर्ण भूमिका हुन्छ । हामी सामाजिक प्राणी हौँ; हाम्रो सामुन्नेमा रहेको सामाजिक परिवेशले हाम्रो चेतनामा प्रभाव पार्दछ; अनि, हाम्रा व्यवहार समाजबाट प्रभावित हुन्छन् र हाम्रो व्यवहारबाट समाज पनि प्रभावित भइरहन्छ । त्यसैले विवेकका अन्धकार पक्षलाई हटाउन हामीले अध्ययन गर्ने विषय तथा व्यवहार गर्ने शैलीको कार्यलाई आफैले तय गर्दै अगाडि बढ्नुपर्दछ ।

    ५. राजनीतिमा गालीगलौज वा चरित्रहत्याको कार्यले पिछडिएको सामाजिक चेतनाबाट फाइदा लिने उद्देश्य मात्र राख्दछ । त्यो कुनै स्थायी सिद्धान्त वा विचार होइन र हुन सक्दैन । त्यो अवसरवादी मनोग्रन्थीकोे उपज हो । चरित्रहत्याको राजनीति गर्ने पक्षले पिछडिएको सामाजिक चेतनालाई आफ्नो अवसरवादी उद्देश्यका लागि उपयोग गर्ने प्रयास गर्दछ । सामाजिक चेतना उठ्दै जाँदा वा भ्रमबाट साफ हुने क्रममा चरित्रहत्याको कार्य घृणित बन्दै जान्छ वा त्यसलाई समाजले परित्याग गर्दै जान्छ । अहिलेसम्मका सबै घटनाक्रमले चरित्रहत्याको कार्यलाई विवेकमा भएको सङ्कटको रूपमा पुष्टि गर्दै आएका छन् । व्यक्तिको चरित्रहत्या कुनै पनि अवस्थामा सही होइन र त्यस प्रकारको चरित्रहत्यामाथि खडा भएको राजनीतिक धरातल स्वतः भत्किएर जान्छ । व्यक्तिगत रूपमा कसैको निन्दा गर्नु सिद्धान्त वा राजनीतिको निम्ति हितकर त हुँदैन नै, त्यसका साथै सामाजिक जीवनमा त्यस प्रकारको सिद्धान्त वा राजनीति अस्वीकार्य बन्न जान्छ । त्यसरी चरित्रहत्या र गालीगलौज कसैको आदर्श वा मार्गदर्शक मूल्यको रूपमा कहिल्यै पनि स्थापित हुन सक्दैन । त्यो परित्यक्त र बहिष्कृत हुँदै सामाजिक जीवनबाट पतन हुन्छ ।

    ३. गालीगलौज र चरित्रहत्याको कुरूप परम्परा
    इतिहासका विभिन्न सन्दर्भलाई हेर्दै जाऔँ :

    १. विश्व कम्युनिस्ट आन्दोलनमा माक्र्स–एङ्गेल्सबारे व्यक्तिगत आक्षेप र चरित्रहत्या गरिएको विषयबारे हामीलाई जानकारी हुन सकेको छैन । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको विकासको सिलसिलामा इन्टरनेसनलमा धेरै ठुलो विवाद र बहस भएको थियो । विचार र प्रवृत्तिमा रहेका समस्याबारे त्यहाँ कटु आलोचना गरिएको पाइन्छ । त्यस सम्बन्धमा सहमति–असहमति व्यक्त भएका छन् । तर व्यक्तिको चरित्रहत्या गरिएको सन्दर्भबारे हामीलाई थाहा छैन ।

    स्वयम् एङ्गेल्सले ड्युर्हिङ मतखण्डनमा विचार र प्रवृत्तिको व्यापक आलोचना गरेका थिए । दर्शन, विचार, राजनीति आदिसम्बन्धी भएका वैचारिक समस्याको व्यापक खण्डन गरिएको त्यो पुस्तकमा व्यक्तिमाथि आक्षेप वा चरित्रहत्या गरिएको/भएको पाइँदैन । त्यो आलोचना भइसकेपछि पनि स्वयम् ड्युहरिङले माक्र्सवादका संस्थापकबारे चरित्रहत्या गर्ने गरेको कार्यबारे कुनै जानकारी वा कसैले त्यसबारे उल्लेख गरेको पाइएको छैन ।

    पछि लेनिनद्वारा काउत्स्कीले कम्युनिस्ट आन्दोलनलाई धोका दिएर साम्राज्यवादसित मिल्न गएपछि “गद्दार काउत्स्की” पुस्तक लेखियो । त्यो पुस्तकमा काउत्स्कीका गलत सैद्धान्तिक तथा राजनीतिक दृष्टिकोणको आलोचना गरियो । कम्युनिस्ट आन्दोलनमाथि गद्दारी गरेर साम्राज्यवादलाई सघाउन पुगेकाले गद्दार शब्दको प्रयोग हुन गएको थियो । त्यो राजनीतिक शब्द नै थियो । त्यो शब्दले विश्व कम्युनिस्ट आन्दोलनमाथि काउत्स्कीद्वारा गरिएको नकारात्मक भूमिकाको प्रतिनिधित्व गर्दथ्यो । त्यसकारण त्यो शब्द कुनै चरित्रहत्यासित सम्बन्धित नभएर सिद्धान्त र राजनीतिक रूपमा औचित्य सिद्ध हुने तथ्यपरक शब्द थियो ।

    २. खासगरी चरित्रहत्याको राजनीतिलाई स्तालिनको मृत्युपछि खु्रस्चेभले अस्तित्त्वमा ल्याएका थिए । अक्टोबर क्रान्ति सम्पन्न भएको केही वर्षमा नै; अर्थात्, ७ वर्षको अन्तरालमा लेनिनको मृत्यु भयो । लेनिनको अनुपस्थितिमा सोभियत सत्तालाई समृद्ध बनाएर लैजाने अभिभारा स्तालिनको काँधमा आयो । सोभियत सत्तालाई असफल बनाउनका लागि स्वयम् अक्टोबर क्रान्तिमा योगदान दिएका योद्धाहरूसमेत नाङ्गो रूपमा उत्रिए । ट्राटस्कीलाई हामीले त्यो उदाहरणको रूपमा लिन सक्दछौँ, त्यस कार्यका लागि विश्वका पुँजीवादीहरूले उनलाई खुब साथ दिए ।

    जर्मन फासिष्टवादको आक्रमणको केन्द्र पनि सोभियत सत्ता नै बन्यो, त्यो आक्रमणलाई पुँजीवादी राष्ट्रहरूले आनन्दपूर्वक हेरे । तर जब आफूउपर पनि फासिष्टवादको जाँतो घुम्न थाल्यो, त्यसपछि हतासिएर सोभियत सत्तासित मोर्चा कायम गर्न पुगे । सोभियत सत्ता हुँदैनथ्यो भने फासिष्टवाद पराजित हुन सक्थ्यो वा सक्दैन्थ्यो ? त्यो भन्न नसकिने अवस्थामा सोभियत सत्ताले विश्व मानवजातिलाई शान्ति र मुक्तिको दिशातर्फ अग्रसर गराउने मार्गप्रशस्त गरिदियो ।

    दोश्रो विश्वयुद्धको अन्त्यपछि पुँजीवादी राष्ट्रहरूले सोभियत सङ्घका विरुद्ध शीतयुद्धलाई अगाडि बढाए । त्यसरी पार्टीभित्र र देशभित्र पनि फासिष्टवाद, पुँजीवादलगायतबाट लगातार सोभियत सत्तामाथि निर्ममतापूर्वक भएका आक्रमणको सिलसिलालाई पराजित गरेर विश्वमा नै एक मात्र समाजवादी व्यवस्थालाई समृद्ध बनाउनका लागि ऐतिहासिक नेतृत्वका साथ अद्वितीय भूमिका खेलेका स्तालिनका विरुद्ध खु्रस्चेभले चरित्रहत्याको दस्तावेजीकरण गरेर कुरूप इतिहासको सुरुवात गरे ।

    स्तालिनको मृत्यु भएपछि मात्र सोभियत संशोधनवादीहरूले त्यो षड्यन्त्रकारी कार्यलाई अगाडि बढाएका थिए । पार्टीको बिसौँ पार्टी महाधिवेशनमा स्तालिनका विरुद्ध “हत्यारा, डाँका” जस्ता शब्दको प्रयोग भएको गालीगलौज र चरित्रहत्याको दस्तावेजीकरण गरे । समाजवादी सत्ताको नेतृत्व र रक्षा गरेर स्तालिनले ठिक गरेका थिएनन् भन्ने घृणा फैलाउनका लागि सोभियत संशोधनवादीहरूले त्यो कार्य गरेका थिए ।

    स्तालिनका विरुद्धको चरित्रहत्याको उद्देश्य सम्पूर्ण समाजवादी मूल्य र मान्यतामाथि आक्रमण गर्ने नै थियो, पुँजीवादीहरूले यही चाहेका थिए, जसलाई संशोधनवादीहरूले कार्यान्वयन गरे । त्यसरी चुनौतीपूर्ण क्षणमा पनि स्तालिनद्वारा रक्षा गरिएको सोभियत सत्तालाई उनको मृत्युपछि पुँजीवादमा पतन गराउनका लागि उनका विरुद्ध लाञ्छना लगाउने कार्य नै प्रथमविन्दु थियो । त्यसपछि सोभियत संशोधनवादीहरूले पुँजीवादी आचरणलाई अपनाउन थाले र समाजवादका आधारलाई भत्काउँदै लगे । चरित्रहत्या र गालीगलौज गरेर पूर्ण रूपमा विकसित भइनसकेको सोभियत समाज तथा विश्व जनसमुदायको चेतनास्तरलाई स्तालिनका विरुद्ध प्रयोग गर्नका लागि खु्रस्चेभहरू सफल भए । उनीहरूको त्यो सफलता नै समाजवादी व्यवस्थाको अन्त गर्ने कारण बन्न पुग्यो । यसरी चरित्रहत्या र गालीगलौजको नियत वा उद्देश्यबारे सही समझदारी बनाउन नसकेमा आन्दोलन वा क्रान्तिबाट खारिएर आएका निर्दोष पार्टीसदस्य र जनसमूह पनि त्यस प्रवृत्तिको मतियार बन्न सक्दछन् भन्ने कुरा त्यो घटनाबाट सिक्ने सकिने शिक्षा हो ।

    ३. चीनमा पनि गालीगलौज र चरित्रहत्याको खु्रस्चेभी संस्करण देखा परेको थियो । माओको मृत्युपछि ग्याङ अफ फोरको आरोप लगाइएका क्रान्तिकारीमाथि चिनियाँ संशोधनवादी (तेङस्याओपिङ नेतृत्व) हरूले त्यो संस्करणलाई प्रयोगमा ल्याए । माओको मृत्युलगत्तै भएको प्रतिक्रान्तिमा पहिलो निसाना चियाङ चिङ र उनका अरू प्रमुख तीन जना साथीहरूमाथि सोझ्याइएको थियो । उनीहरू माओ विचारधाराका वास्तविक अनुयायी थिए, त्यसैले उनीहरूलाई समाप्त पार्नुपर्ने आवश्यकता बन्न गएको थियो । सुरुमा संशोधनवादीहरूले उनीहरूलाई ग्याङ अफ फोरको नामबाट परिभाषित गरे र अनेक लाञ्छना लगाएर बद्नाम गर्ने प्रयत्न गरे । यो त्यस्तै कुरा थियो, जसरी स्तालिनमाथि स्वयम् स्तालिनका उत्तराधिकारी कहलाएका खु्रस्चेभसहितका सोभियत संशोधनवादीहरूले हमला गरेका थिए । तैपनि माओको सन्दर्भमा अलि फरक कुरा थियो, सोझै माओका विरुद्ध हमला गरिएको भए उनका उत्तराधिकारीहरूले त्यसको पर्दाफास गर्दथे र स्थितिलाई सम्हाल्न सक्दथे । यो वस्तुगत स्थिति बुझेका चिनियाँ संशोधनवादीहरूले माओप्रति आफ्नो भक्तिभाव देखाएर उनका उत्तराधिकारीका विरुद्ध हमला गरे । उनीहरूले यसो गरिरहँदा पनि चीनमा समाजवादी व्यवस्थालाई सुदृढ गर्ने कुरा गरिरहे । तर माओ विचारधाराका हिमायतीप्रति दमनको नीति अपनाए र उनीहरूबारे सुन्न नसकिने चरित्रहत्या गर्दै आफ्नो स्थिति बलियो बनाउने काम गरे । त्यसरी त्यहाँ प्रतिक्रान्ति भयो ।

    निश्चय पनि कम्युनिस्ट सत्तामा प्रतिक्रान्ति हुनाको लागि निरङ्कुश राजा वा सैनिक शासकले ‘कू’ गरेजस्तो थिएन । सैद्धान्तिक मूल्यमान्यतामाथि सर्वप्रथम भ्रष्टीकरण गरेर नै त्यो प्रतिक्रान्तिको कार्यलाई पूरा गरिँदै थियो । त्यो उद्देश्य पूरा गर्न चियाङचिङहरूमाथि हमला गर्नु संशोधनवादीको प्रथम र प्रमुख कार्य हुन्थ्यो । त्यसैले उनीहरूले चियाङचिङहरूका विरुद्ध जनतामा घृणा पैदा गराउनका लागि चरित्रहत्या र गालीगलौजको बाटो अपनाए । एकातिर, पिछडिएको राजनीतिक चेतनास्तरबाट चिनियाँ समाज माथि उठ्न नसकेको अवस्थामा शासकवर्गबाट नै चरित्रहत्याको कार्यलाई अगाडि बढाइएपछि त्यसले समाजमा असर पार्नु स्वभाविक थियो; र, अर्कातिर, प्रतिक्रान्तिकारी तत्त्वहरू माथिदेखि तलसम्म जरा गाडेर बसेका थिए । सर्वहारा सांस्कृतिक क्रान्तिबाट त्रसित भएको बुर्जुवावर्गको ठुलो तप्का चिनियाँ समाजमा जरा गाडेर बसेको थियो भने पार्टीभित्रको पुँजीवादी तत्त्व क्रान्तिलाई तहसनहस पार्नका लागि योजनाबद्ध प्रकारले कार्यरत थियो । उनीहरू उपयुक्त मौकाको पर्खाइमा थिए । त्योे माओको मृत्युसँगै आएको थियो । चिनियाँ समाज निश्चय पनि निर्दोष थियो तर संशोधनवादीहरूले चियाङचिङ विरुद्ध अपनाएको चरित्रहत्याको राजनीतिलाई बुझ्न समर्थ भएन; र, उनीहरूका विरुद्ध भूमिका खेल्न असमर्थ भयो । परिणामस्वरूप क्रान्तिकारी पक्ष पराजित हुन पुग्यो । त्यसरी चिनियाँ संशोधनवादीहरू आफ्नो उद्देश्यमा सफल भए । तर त्यसको परिणाम यो भयो कि आज चीनमा न त समाजवादी व्यवस्था छ, न माओकालीन क्रान्तिकारी चरित्र भएको कुनै कम्युनिस्ट पार्टी नै । यदि छ भने पार्टी र जनसमुदायमा कम्युनिस्ट आवरणमा पुँजीवादले सत्ता गरिरहेको छ ।

    ४. सोभियत संशोधनवादी वा चिनियाँ संशोधनवादीहरूले क्रान्तिकारीहरू विरुद्ध उठाएको हतियार चरित्रहत्याबाहेक अरू नभएको कुरा प्रष्ट बुझिन्छ । समाजवादी सिद्धान्त र राजनीतिमाथि सोझै आक्रमण गरेर उनीहरूलाई आफ्नो उद्देश्यमा सफलता प्राप्त हुँदैनथ्यो । समाजवादका विरुद्ध सोझै आक्रमण गर्दा त्यसको प्रतिवाद जनताको तहबाट पनि हुन सक्ने भएकाले उनीहरूले सजगतापूर्वक चरित्रहत्याको राजनीतिलाई हतियार बनाएका थिए ।

    चरित्रहत्याको राजनीतिका पात्रद्वारा गरिने गतिविधिले खालि ती पात्रको सांस्कृतिक स्तरको मात्र परीक्षा नगरेर त्यसबाट प्रभावित हुने समुदाय वा पक्षको सांस्कृतिक स्तरको समेत परीक्षा गर्दछ । त्यो परीक्षाको सामना गर्ने घडी सोभियत सङ्घ र चीनका जनताको अगाडि आएको थियो, तर उनीहरू त्यो घडीको सामना गर्न समर्थ भएनन् । सांस्कृतिक स्तरको समस्याको कारणले उनीहरूले समाजवादअन्तर्गत पुँजीवादी मकुण्डोधारीहरूले प्रतिक्रान्तिकारी कार्य गरिरहेको कुरालाई बुझ्न सकेनन् । उनीहरू समाजवादका रक्षक तथा वास्तविक कम्युनिस्ट क्रान्तिकारीहरूमाथि लगाइएका आरोपबाट भ्रमित भएर समाजवादी व्यवस्था र क्रान्तिका विरुद्धमा कार्य गरिरहेका संशोधनवादीहरूप्रति आस्वस्त भइरहे । त्यसबाट पुष्टि हुन्छ कि गालीगलौज र चरित्रहत्याको राजनीति निम्न सांस्कृतिक स्तरको अभिव्यक्ति हुनुका साथै निम्न कोटिको राजनीतिक दाउपेच पनि हो ।

    ५. विश्व कम्युनिस्ट आन्दोलनमा देखा परेको त्यस प्रकारको निम्न सांस्कृतिक स्तरको नेपाली संस्करण पनि निकै दुःखदायी रहेको छ । एक प्रकारले भन्ने हो भने रुस र चीनका ती घिनलाग्दा हर्कत्बाट पाठ सिकेर त्यस प्रकारको परम्परालाई नेपाली कम्युनिस्ट आन्दोलनमा प्रवेश हुन नदिनु नेपाली कम्युनिस्टहरूका लागि सबैभन्दा राम्रो कुरा हुन सक्दथ्यो । तर, अझ भद्दा ढङ्गले नेपाली संस्करण अगाडि आयो । त्यो विभिन्न रूपसहित अहिले पनि नेपाली कम्युनिस्ट आन्दोलनमा मडारिरहेको छ ।

    ६. नेपालमा चरित्रहत्याको राजनीतिलाई झापाली समूहले सर्वप्रथम दस्तावेजीकरण गरेर कुरूप इतिहासको सुरुवात गरेको थियो । २०३२ सालको जेष्ठमा सम्मेलन गरेर निर्माण भएको कोअर्डिनेसन कमिटीले जारी गरेको घोषणामा उनीहरूले भनेका थिए : चौथो महाधिवेशन गरेर गद्दार मोहनविक्रम गुट आएको छ (वर्गसङ्घर्ष, अङ्क १, पृ. ७) । त्यही घोषणाको अन्त्यतिर उनीहरूले रायमाझी, मनमोहन, पुष्पलाललाई मुर्दावाद भनेका थिए । उनीहरूले आफ्ना मुखपत्रमा तत्कालीन चौथो महाधिवेशन नेतृत्वको नेकपालाई संशोधनवादी गुट, क्रान्तिका शत्रु, प्रतिक्रान्तिकारी पार्टी, अन्तर्राष्ट्रिय केन्द्र सोभियत संशोधनवादलाई मानेर काम गर्ने तत्त्व, नेपालमा क्रान्तिलाई खतम पार्ने साम्राज्यवादी योजनाकै सहयोगी, अमेरिकी साम्राज्यवादकै मद्दतगार आदि भनेर गालीगलौज गरेका छन् । त्यस्तै पुष्पलालले नेतृत्व गरेको नेकपालाई गद्दार गुट भनेका छन् । यो गालीगलौज नै थियो, राजनीतिक आलोचना थिएन । आफ्ना विरोधीलाई उनीहरूले नक्चरा, राक्षस, बहुला कुकुर, बद्मास, पागल आदि भनेर गालीगलौज गरेका छन् । उनीहरूले चरित्रहत्या र गालीगलौजको राजनीतिलाई व्यापक रूपले त्यस बेला अगाडि बढाउने काम गरेका थिए ।

    ७. गालीगलौज र चरित्रहत्याको तारानाथ शर्माको मौलिक विशेषताजस्तो थियो । पातलो सर्मावादलाई व्यवहारमा ढाल्नेबारे पुष्पलालको समूहबाट अलग भएको यो चोइटाले झापाली समूहलाई यो मामिलामा उछिनेको थियो । लिथोबाट प्रकाशित हुने “बिउँझ” र “आह्वान” नामका दुई पत्रिकामा उनीहरूले मोहनविक्रम सिंह र निर्मल लामाका विरुद्ध प्रयोग गरेका शब्द यस्ता थिए : लाजले मर्नै नसकेको गद्दार, वर्गीय रूपमा सामन्त शोषक, पुरानो काङ्ग्रेस, फटाह, डरछेरुवा, मर्नदेखि डराउने, सङ्घर्षदेखि भाग्ने, आत्मसमर्पणवादी, काँतर, नेपाल कम्युनिस्ट आन्दोलनको नकारात्मक र घृणित उदाहरण, संशोधनवादी गद्दार, लाज पचेको वर्गशत्रु, आत्मप्रचारवादी, घिनलाग्दो, नेतृत्वको भोकाहरूको एक कुरूप उदाहरण, षड्यन्त्रकारी जालीफटाह, हत्यारा, पुँजीवादी डिग्री लिन आईए, बिए पास गर्ने, सामन्ती छाउरा, सामन्तवादको पैतला चाट्ने, चुत्थो नोकर, नक्कली क्रान्तिकारी, रातो लुगा लगाएको वर्गशत्रु, इष्र्यालु, ठग, खुङ्खार शोषकको छोरा, खुद एक खुङ्खार शोषक, जनविरोधी, महत्त्वाकाङ्क्षी, क्रान्तिविरोधी, कालो सर्प, धोकेबाज आदि । यसका साथै उनीहरूले लेख्दछन् : विश्वासघात गर्नुको सट्टा मोहनविक्रम जेलमा किन मर्न सकेन ?

    ८. “बिउँझ” र “आह्वान” दुई पत्रिकाहरू ‘खोटा विचार’ समूहका तर्फबाट निकालिने गरिन्थ्यो । का. रोहितद्वारा सन् १९७६ (वि.स. २०३३/३४) मा प्रकाशित गरिएको “नेपालको कम्युनिस्ट आन्दोलनमा देखा परेका खोटा विचारहरूको खण्डन” नामक पुस्तकमा व्यक्ति चरित्रहत्याको कुरूप परम्पराको प्रतिबिम्ब पाइन्छ । का. रोहितले उत्ताउला कम्युनिस्ट, बहुला, डनकुइस्टजस्ता शब्दपदको प्रयोग गरेर गालीगलौजको परम्परालाई अगाडि सारेका छन् । झापालीहरूले मोहनविक्रमलाई बर्दी बिनाको पुलिस, वर्गशत्रु बताएकोमा खोटा विचार समूहको सहमति रहेको थियो । उनीहरूले आह्वानमा मोहनविक्रमलाई गाली गर्दै भनेका थिए : मोहनविक्रम न घरको हुने छ, न घाटको ।

    ९. “अराजकतावादी व्यक्तिवाद : दक्षिणपन्थी अवसरवादको नेपाली आयाम” पुस्तक तत्कालीन मोहन वैद्यद्वारा नेतृत्व गरिएको नेकपा (मशाल) को पाँचौ केन्द्रीय समितिको प्रथम विस्तारित बैठकमा पारित भएको दस्तावेज थियो । यसको पहिलो संस्करण २०४२ माघमा प्रकाशित भएको थियो । दस्तावेजको शीर्षकले सैद्धान्तिक र राजनीतिक पक्षलाई समेटेको भए पनि त्यसभित्रको विषयवस्तु व्यक्तिको चरित्रहत्या र गालीगलौजले भरिएको थियो । मोहनविक्रम सिंह—जो आज पनि जिउँदै छन्, नेकपा (मसाल) को महामन्त्री छन्—का विरुद्ध यो हतियार उठाइएको थियो । दस्तावेजको प्रस्तावनामा नै “छद्म प्रकारको अवसरवादी प्रवृत्तिको प्रतिनिधिको रूपमा मोहनविक्रम” भनेर उल्लेख गरिएको थियो । त्यसपछि मोहनविक्रमका सैद्धान्तिक तथा दार्शनिक पक्ष, राजनीतिक पक्ष र सङ्गठनात्मक पक्षसम्बन्धी खण्डन प्रस्तुत गरिएका विषयमा चरित्रहत्याको लाजलाग्दो प्रस्तुति दिइएको थियो । त्यो पूरा दस्तावेज नै गाली र चरित्रहत्याको दस्तावेज थियो ।
    त्यसमा उल्लेख भएका गाली, आक्षेप र चरित्रहत्याका फेहरिस्त हेरौँ ः धुत्र्याइँ र चालबाजी तरिकाहरू अपनाउने (पृ. १८), माक्र्सवादी दोसल्लाभित्र आफ्नो अनुहार छिपाउन सफल भएको (पृ. १९), छद्म अवसरवादी (पृ. २०), अराजकतावादी व्यक्तिवादका—दक्षिणपन्थी अवसरवादको नेपाली आयामका—मूल प्रतिनिधि (पृ. २२), व्यक्तिवादी रोगले ग्रसित (पृ. २४), हठवादी, व्यक्तिमुखी (पृ. २५), प्रतिक्रियावादीहरूलाई सेवा पु¥याउने, बातबहादुर (पृ. २६), भ्रष्ट र पतित (पृ. २८), सफेद झुट बोल्न र फट्याइँ गर्न निकै सिपालु, व्यक्तिवादी, नोकरशाही, घमण्डी, स्वार्थी, सङ्कीर्ण, अनुशासनहीन, धुर्त, बदला लिने भावना भएको (पृ. २९), आत्मप्रशंसक र महत्त्वाकाङ्क्षी (पृ. ३०), सामन्ती र पुँजीवादी संस्कृतिको, तुच्छ, क्षुद्र, असैद्धान्तिक (पृ. ३१), महिलालाई पुरुषको मर्जी अथवा हुकुमबाट चल्नुपर्ने प्राणीका रूपमा बुझ्ने, महिलालाई भोग्या वा विलासिताका साधन ठान्ने, सामन्तवादी, पुँजीवादी छाडावादी (पृ. ३२), फ्रायडवादी (पृ. ३५), पुँजीवादी संस्कारको प्रभाव र निम्न पुँजीवादी व्यक्तिवादी मनोवृत्तिले ग्रसित (पृ. ३७), रहस्यवादको गलत बाटोमा भड्किएको, आदर्शवादी र यान्त्रिक भौतिकवादी, अवसरवादी र दुस्साहसवादी (पृ. ३८), मनोगतवादी, असत्यलाई सत्य र सत्यलाई असत्य देखाउन सिद्धहस्त, श्रद्धावादमा पतन भएको (पृ. ३९), भ्रममा पार्न, आफ्नो अधीनमा राख्न र आफ्नो पिछलग्गु बनाउनका लागि माक्र्सवादको जामा सजिलैसित पहिरिएको, भ्रममा पारेर आफ्नो जालमा फसाउन सक्ने, माक्र्सवादमा पारङ्गत भएको देखाउने, जडसूत्रवादी, आफ्ना भनाइलाई ब्रह्मवाक्यको रूप दिन खोज्ने, शङ्कावादी, आत्मकेन्द्रित, अवस्तुवादी, आत्मविश्वासको अभाव पाइने (पृ. ४०), कुरा मिलाउने सिद्धान्तकार वा बुद्धिजीवी, वितण्डतावादी, आदर्शवादी बुद्धिवादी, वितण्डतावादका सक्कली प्रतिनिधि, हमेशा वाक्जाल, कूटतर्क र शब्दाडम्बरले सजिएको शास्त्रीय शैलीको प्रयोग गर्न पुगेका (पृ. ४१), अनुभववादी (पृ. ४२), आफूलाई सिद्धान्त र राजनीतिमा ‘प्रवीण’ र ‘अचूक’ देखाउनका लागि कसरत गर्ने (पृ. ४३), आफूलाई ‘महान्’ नेता मात्र होइन, नेपाली क्रान्तिकै एक मात्र प्रेरक जस्तो देखाउने प्रयत्न गर्दै आएका, नोकरशाही, अतिजनवादी (पृ. ४४), आफ्नो ‘सदिच्छा’ लाई प्राथमिकता दिँदै आएको (पृ. ४६), सङ्कल्पवादी (४७), ‘क्रान्तिकारिता’ को माला जपेर ‘रातो झण्डा’ उचालेर आफ्नो स्वार्थ सिद्ध गरिरहेको (पृ. ४९), गल्ती–कमजोरी ढाकछोप गर्ने प्रवृत्ति र तत्त्व, घृणित, भद्दा, नाङ्गो रूपमा पार्टीलाई बद्नाम गर्ने तत्त्व, क्रान्तिविरोधी षड्यन्त्रमा संलग्न भएको (पृ. ५२), पतित, बेइमान र षड्यन्त्रकारी, नितान्त निच काम गरेको, ढुलमूल महत्त्वाकाङ्क्षी तथा दक्षिणपन्थी पाखण्डीपनाको उदाहरण (पृ. ५३), आफूलाई असामान्य व्यक्तिको रूपमा प्रस्तुत गर्न खोजेको (पृ. ५४), राजा त्रिभुवनको वर्गवन्धु, सामन्तवर्गको नाइकेको समर्थक (पृ. ५५), सामन्तवर्ग प्रवृत्तिको (पृ. ५८), रकमी शैलीको, आफूलाई माओको समकक्षमा राखेको, आत्मप्रशंसाको सुन्दर नमुना (पृ. ५९), क्रान्तिकारी लप्फाजीको विलक्षण नमुना, काङ्ग्रेसपरस्त, राजापरस्त, दक्षिणपन्थी, अवसरवादी, गद्दार (पृ. ६०), ढोँगी, छट्टुगिरी, सङ्कीर्ण व्यक्तिवादी (पृ. ६१), बेमिसाल शब्दाडम्बरको प्रयोग गर्दै नेपालमा देखा परेको (पृ. ६३), ठुला सामन्तका छोरा, ‘बहादुर’ (हेपिएको अर्थमा प्रयोग भएको), पाण्डित्य (हेपिएको अर्थमा प्रयोग भएको), छट्टु, मुटुमा छुरी रोप्ने, सर्वहाराको ढुकढुकीमाथि बज्रप्रहार गर्ने, घृणित तत्त्व, ‘आफूलाई नेपालमा माओ भनाउन सफल’, इमान्दार क्रान्तिकारीहरूलाई लुट्न सफल, सामन्ती अवशेष र पुँजीवादी चरित्र बोकेको अराजकतावादी व्यक्तिवादी तत्त्व, पार्टीभित्र घुस्न सफल भएको सामन्तवर्गको प्रतिनिधि (पृ. ६४), झुटो हल्ला पिटेर आफूलाई क्रान्तिको ठेकेदार सम्झिने, पुँजीवादी तत्त्व, कथित सिद्धान्तनिष्ठताको राग अलाप्ने (पृ. ६६), नितान्त घिसेपिठे कुरा गर्ने, पुँजीवादपन्थी, मानिसहरूलाई चक्मा दिन सक्ने, नजानेको कुरामा पनि “पुरै पारङ्गत” जस्तो देखाउने (पृ. ६७), नक्कल गर्न पोख्त नक्कली (पृ. ६८), बेइमानीको ज्यादै घृणित उदाहरण (पृ. ६९), आफूलाई “सिद्धान्तनिष्ठ” तथा “अचूक क्रान्तिकारी राजनीतिज्ञ” बताउने, हद दर्जाको बेइमानी, बेइमानीको पराकाष्ठा, दक्षिणपन्थी पाखण्डीपनाको घृणित उदाहरण (पृ. ७०), आधुनिक संशोधनवादी, अनैतिक (पृ. ७१), व्यक्तिवाद र बेइमानीको कम्युनिस्ट आन्दोलनमा दुर्लभ उदाहरण, अराजकतावादी व्यक्तिवादको चरम अभिव्यक्ति, भ्रामक, सिद्धान्तहीन (पृ. ७२), मेन्सेभिक अराजकतावादी, पार्टीलाई बद्नाम गर्ने र आन्दोलनलाई सिथिल पार्ने षड्यन्त्रमा व्यस्त रहेको, प्रतिक्रियावादीलाई सेवा पु¥याउने ज्यादै निन्दनीय क्रियाकलापमा संलग्न, धोकापूर्ण र घृणित (पृ. ७३), बकवास गर्ने चरित्र, हरेक कुरामा निहुँ खोज्ने (पृ. ७४), प्रतिक्रियावाद र विस्तारवादको सेवा पु¥याएको, धन्य हो सिद्धान्तनिष्ठ (हेपाह भाषाशैलीको रूपमा), दक्षिणपन्थी चरित्र, अभिजात वर्गीय अराजकतावादी (पृ. ७७), सङ्घर्षबाट टाढा भाग्ने, अनैतिक क्रियाकलापको सिलसिला चलाउने (पृ. ८४), कम्युनिस्ट पार्टीमा घुस्न र नेतृत्वमा पुग्न सफल (पृ. ८५), क्रान्तिकारिताको जामा लगाएर क्रान्तिकारी लफ्फाजीभित्र आफूलाई लुकाएर राख्न सफल भएको (पृ. ८७), छट्टुगिरी र धुत्र्याइँमा खप्पिस व्यक्ति रुसका मार्तोभको नेपालमा मोहनविक्रमको रूपमा पुनर्जन्म (पृ. ८८), आफ्नो मतलब पूरा गर्न प्रयास गर्ने (पृ. ८९) बदला लिने भावनाबाट ग्रसित (पृ. ९७), पाखण्डीपन, स्वार्थी विभागवादी (पृ. १०१), महिलाहरूसँग भेटघाट र मनोरञ्जन गर्ने, विशेष कामको नाममा यौनाकाङ्क्षा पूरा गर्ने, आर्थिक रङरेली गर्ने (पृ. १०३), डरपोक (पृ. १२३) आदि ।

    हरेक पृष्ठ चरित्रहत्या र गालीगलौजले भरिएको त्यो दस्तावेजको बिचबिचका कतिपय पृष्ठ यहाँ उल्लेख भएका छैनन् । तर त्यसरी उल्लेख नभएका पृष्ठ चरित्रहत्या वा गालीगलौजबाट मुक्त रहेका थिए भन्ने होइन, ती पृष्ठमा गालीगलौजका शब्द दोहोरिएर आएका छन् वा आलोचनाका लागि आलोचना गरिएका कृतिम आलोचनाका प्रस्तुति दिइएका छन् । उक्त दस्तावेजको अर्को एउटा दुःखलाग्दो पक्ष थियो, त्यो दस्तावेजका निर्माताले चरित्रहत्या र गालीगलौजको उद्देश्यलाई पुष्टि गर्नका लागि माक्र्सवाद–लेनिनवाद–माओ विचारधाराका संस्थापका विभिन्न भनाइको दुरूपयोग गरेका छन् ।

    उनीहरूले यति धेरै गालीगलौज, चरित्रहत्या गरिसकेपछि वा आक्षेप लगाइसकेपछिका वर्षहरू कसरी बिते ? उनीहरू र हाम्राबीचको सम्बन्ध कस्तो रहँदै आएको छ ? त्यस सन्दर्भमा धेरै रोचक तथ्य उल्लेख गर्न सकिन्छ । तर अहिले यस लेखमा त्यस प्रकारको चरित्रहत्याको राजनीतिको खण्डन गर्नतिर हामी लाग्दैनौँ । त्यसका बाबजुद यतिचाँहि भनिदिनु उचित हुने छ : त्यस प्रकारले चरित्रहत्या गरिएको दस्तावेज निर्माण भएको ३५ वर्ष बितेका छन् । अब इतिहास साक्षी छ, गालीका दस्तावेजका निर्माताले लज्जास्पद र मजाकपूर्ण इतिहासको त्यो खण्डलाई भविष्यको पुस्ताले पनि पढ्दै जाने छ भन्नेबारे कति विचार गर्न सकेका थिए ? भविष्यमा यसको उत्तर दिइँदै जाने छ । त्यो मोहनविक्रम सिंहका विरुद्ध तयार गरिएको गालीको एउटा दस्तावेज मात्र थियो । त्यसरी गाली गरिएको व्यक्ति आज पनि कम्युनिस्ट आन्दोलनमा सक्रियतापूर्वक क्रियाशील भइरहेको अवस्थामा त्यो गालीको दस्तावेजबाट इतिहासको एउटा लज्जाजनक सांस्कृतिक प्रस्तुतिबाहेक अरू प्राप्त गर्नलायक कुरा थिएन ।

    आज मोहनविक्रमबारे नेपालको कम्युनिस्ट आन्दोलनमा पक्षविपक्ष मत भए पनि त्यो दस्तावेजको मजाकपूर्ण प्रस्तुतिले कुनै मेल खाएको देखिँदैन । त्यसरी त्यो चरित्रहत्याको राजनीति निम्न सांस्कृतिक स्तरको एउटा अभिव्यक्ति थियो, त्यसले नेपाली कम्युनिस्ट आन्दोलनभित्रको तात्कालीन नेतृत्वदेखि, कार्यकर्ता, समर्थक र जनसमुदायको सांस्कृतिक स्तरको अवस्थालाई जाहेर गर्दथ्यो । चरित्रहत्या गरेर न्यून सांस्कृतिक स्तर भएका व्यक्ति, वर्ग वा समूहलाई आफ्नो पक्षमा ल्याउनका लागि उठाइएको हतियारको रूपमा त्यो कुरूप इतिहास निर्माण गरिएको थियो ।

    १०. गालीगलौज र चरित्रहत्याको कुरूप इतिहासको शृङ्खलालाई मोहन वैद्यद्वारा लिखित “पाँचौँ महाधिवेशन जिन्दावाद” पुस्तिकाले अगाडि बढाउने काम गर्यो । त्यो पुस्तिका २०४७ को श्रावण महिनामा प्रकाशित भएको थियो । सायद ‘इतिहासले आफ्नो काँधमा सुम्पिएको जिम्मेवारी’ पूरा गर्ने सन्दर्भमा यो पुस्तिका लेखिएको थियो । यो पुस्तिकामा विभिन्न राजनीतिक विषयका सन्दर्भलाई पनि उठान गरिएको थियो ? तिनीहरूसित असहमति, बहस वा आलोचना गर्ने अधिकार रहन्थ्यो, जसलाई अन्यथा मान्नुपर्ने आवश्यकता थिएन । तर त्यसका साथसाथै यस्ता शब्दपद वा शब्दावली पनि थिए : धन्य हो मोहनविक्रमजी, क्या सुन्दर भविष्यवाणी, सदावहार सिद्धान्तनिष्ठ ‘क्रान्तिकारी’ मोहनविक्रम (पृ. ७), धन्य हो मोहनविक्रमको क्रान्तिकारिता, मोहनविक्रमजीहरूलाई ‘मध्यपन्थीहरू’ सँग कति इष्र्या र डाह, विक्रमजीको मौलिक रूपले बेग्लै र क्रान्तिकारी कसरी बन्न पुगे ? जो कुरा अब हामीले हैन, भगवानले नै बताइदेलान्, जसलाई विक्रमजीको सम्पूर्ण अवतारहरूबारे पूरा ज्ञान पनि भएको हुन सक्छ (पृ. ९), विक्रमजी, अब हनुमानबाहेक अरू कुनै पनि तपाईको रामलीलामा मन्त्रमुग्ध बन्न सक्दैनन्, अब तपाईको षड्यन्त्रको रकमी पर्दाको अनावरण पनि हुँदै गइरहेको छ (पृ. १४) आदि ।

    ११. गालीगलौज र चरित्रहत्याको कुरूप इतिहासको शृङ्खलालाई अगाडि बढाउने क्रममा भरत दाहालले “मोहनविक्रमका यौनविचारहरूबारे माक्र्सवादी फ्रायडवादीहरूलाई जवाफ” नामको पुस्तिका लेखेर ‘इतिहासले सुम्पिएका जिम्मेवारी’ पूरा गर्ने हर्कत् गरे । त्यो पुस्तिका पूर्वाग्रह र कुण्ठाले बारबन्धन गरिएको चरित्रहत्याको योजनाबद्ध कर्म थियो । त्यो पुस्तकको कुनै उपायदेयता थिएन, तर न्यून सांस्कृतिक स्तर भएका वर्ग र समुदायमा मोहनविक्रमका विरुद्ध घृणा फैलाउनका लागि त्यो कर्म गरिएको थियो ।

    १२. कुरूप इतिहासको त्यो शृङ्खलालाई “अगाडि बढाउन” विभिन्न समयमा विभिन्न पात्र देखा पर्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । अहिले पनि मोहनविक्रम सिंह तथा अरू नेताका विरुद्ध विभिन्न छद्म नामधारी तथा कतिपय व्यक्तिहरूले गालीगलौज र चरित्रहत्या गरेर सामाजिक सञ्जालमा स्टाटस लेख्ने वा लेखहरू प्रसारित गरिरहेका छन् । तिनीहरू सबैले मोहनविक्रम, चित्रबहादुर वा अरू कैयौँ साथीहरूको विभिन्न प्रकारले चरित्रहत्या गरी उनीहरूका विरुद्ध जनतामा घृणा फैलाउनका लागि सकेसम्मको कोसिस गरिरहेका छन् । यस प्रकारका समस्या कम्युनिस्ट आन्दोलनमा र सामाजिक रूपमा पनि निम्न सांस्कृतिक स्तर कायम रहँदासम्म आइरहन्छन् । तिनीहरूका विरुद्ध पनि हामी लडिरहनुपर्दछ र आफ्नो सांस्कृतिक स्तरलाई उठाउन प्रयत्न गरिरहनुपर्दछ ।

    १३. आज सत्ताधारी नेकपामा देखिएको आरोप–प्रत्यारोपको पक्षलाई हेर्दा त्यो निम्न सांस्कृतिक स्तरको एउटा नमुना हो । उनीहरूको नेतृत्वमा अहिले पनि यो विश्वास छ कि एकर्काको चरित्रहत्याबाट आफ्नो शक्तिलाई बढाउन सकिन्छ । त्यसको अर्थ यो हो कि गालीगलौज र चरित्रहत्याबाट उनीहरूको कार्यकर्ता पङ्क्ति तथा समर्थक जनता आकर्षित हुन्छन् । त्यो मनोविज्ञानले नेतृत्वमा काम गर्दछ र उनीहरू तल्लोस्तरमा ओर्लिएर गालीगलौज र चरित्रहत्याको राजनीतिलाई अँगाल्न पुगेका छन् । यसबाट उनीहरूको चेतनाको सांस्कृतिक पक्षको परीक्षा भइरहेको छ । उनीहरूको त्यो तल्लोस्तरको सांस्कृतिक स्तर गालीगलौज, चरित्रहत्यासम्ममा मात्र होइन, एकर्कालाई भौतिक आक्रमण गर्ने तहसम्म उत्रिएको छ । यसले स्पष्ट गर्दछ कि उनीहरूमा विचार, सिद्धान्त, पद्धतिको राजनीति जति जति समाप्त हुँदै गइरहेको छ, त्यति त्यति सांस्कृतिक स्तरमा पतन पनि भइरहेको छ ।

    १४. यस सिलसिलामा हामी यो कुरामा पनि स्पष्ट हुनुपर्दछ : आन्दोलन वा पार्टीभित्र हुने सङ्घर्षको सिलसिलामा पक्षविपक्ष भएर सैद्धान्तिक, राजनीतिक वा सङ्गठनात्मक पद्धतिको विषयलाई लिएर एकर्कालाई आलोचना गर्न सक्दछन् । त्यो अधिकारको कुरा पनि हो । ती विषयलाई उपभोग गर्ने अधिकार प्राप्त पक्षले समान र सम्मानजनक ढङ्गले उपयोग गर्न सकुन् भनी विश्व कम्युनिस्ट आन्दोलनमा लेनिनवादी सङ्गठनात्मक पद्धतिको विकास भएको छ । जनवाद/प्रजातन्त्रको प्रयोग गर्दा विधि, पद्धति र सांस्कृतिक स्तरमाथि ध्यान दिन नसके हुने सम्भावना भनेको नेकपामा भएको संस्कृतिजस्तै हो ।

    १५. नेपाली कम्युनिस्ट आन्दोलनमा सांस्कृतिक पक्षलाई कम ध्यान दिइएको छ । गालीगलौज र चरित्रहत्याको राजनीतिबाट आफ्नो पक्षलाई सुदृढ गर्न सकिन्छ भन्ने ध्येय राखेर त्यस प्रकारको बाटो अवलम्बन गर्ने प्रवृत्ति व्यापक छ । न्यून चेतना र पिछडिएको सांस्कृतिक धरातलमा उभिएको सामाजिक परिवेशमा गालीगलौज र चरित्रहत्याको विषयले विशेष महत्त्व पाउने गर्दछ । त्यस प्रकारको सामाजिक परिवेशको उपजको रूपमा गालीगलौज र चरित्रहत्याको राजनीति अस्तित्वमा आउने गर्दछ । आफ्नो शक्ति बढाउन, तुष्टि मेटाउन र बदलाको भावनाबाट गालीगलौज र चरित्रहत्याको बाटो अवलम्बन गर्ने गरेका माथि उल्लेख भएका विभिन्न घटनाक्रमका उदाहरणबाट त्यो कुरा प्रष्ट हुन्छ । आन्दोलनभित्र रहेको त्यस प्रकारको सांस्कृतिक समस्यामाथि विचार गर्दा नेपाली कम्युनिस्ट आन्दोलनको राजनीति, विचार र चेतनाको दृष्टिले पनि कमजोर अवस्था रहेको कुरा बुझ्न सकिन्छ ।

    १६. माथिका विभिन्न प्रसङ्गबाट नेपाली कम्युनिस्ट आन्दोलनभित्र सांस्कृतिक स्तरको समस्या रहेको कुरा बुझिन्छ । गालीगलौज र चरित्रहत्या गर्ने प्रवृत्ति पिछडिएको सामन्ती संस्कृतिको अवशेषको रूपमा रहेको भद्दा शैली हो । हामीले त्यो भद्दा शैलीमाथि विजय पाउनका लागि माक्र्सवादी–लेनिनवादी मूल्य र तिनको जगमाथि सृजित हुने संस्कारबाट राजनीतिक व्यवहार गर्न सकेमा अहिलेको स्थितिलार्ई बदलेर सांस्कृतिक स्तरलाई माथि उठाउन सक्दछौँ ।

    १७. हामीलाई यो कुरामा गौरव छ कि नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा हामीले अरूको भन्दा बेग्लै सांस्कृतिक परम्पराको बाटोमा आफूलाई विचरित गराएका छौँ । आज हामी जुन पार्टी र सङ्गठनमा आबद्ध छौँ, त्यसको सम्पूर्ण इतिहासलाई हे¥यौँ भने हामीले गर्वपूर्वक भन्न सक्दछौँ कि हाम्रो सांस्कृतिक स्तर चाहिएजति पर्याप्त र सन्तोषजनक नभएको भए पनि नेपाली कम्युनिस्ट आन्दोलनमा सबैभन्दा अब्वल र सुन्दर छ । पार्टी वा सङ्गठनबाट बाहिरिएपछि कसले कस्तो व्यवहार वा हर्कत् गर्दछ ? त्यो हाम्रो वशभन्दा बाहिरको कुरा हो, तर पार्टीभित्र कहिल्यै पनि गालीगलौज र चरित्रहत्याको राजनीति वा व्यवहारलाई स्थान दिइँदैन । पार्टीको नेतृत्व, पार्टीका सदस्य, समर्थक, पार्टीसित सम्बन्धित लेखक वा कलाकारहरूले आपसमा र विरोधी पक्षसित पनि गालीगलौज तथा चरित्रहत्याबाट मुक्त भएर व्यवहार गर्नुपर्दछ भन्ने हाम्रो दृढ मूल्य र मान्यताको परम्परा छ ।

    १८. अन्तमा हामीले यो लेखलाई २०७७ मङ्सिर २ गते सार्वजनिक भएको नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको वक्तव्यको यो भनाइबाट बिट मार्न चाहन्छौँ : हाम्रो पार्टी पनि त्यस प्रकारको गालीगलौज वा चरित्रहत्याकोे धेरैपल्ट सिकार भएको छ । गतकालमा स्वयम् अहिलेको नेकपाका विभिन्न घटकहरूले अत्यन्त तल्लोस्तरमा उत्रेर गालीगलौजद्वारा हामीमाथि आक्रमण गर्ने गरेका छन् । त्यही प्रकारको संस्कृति अहिले नेकपाको शीर्षस्थ नेतृत्व तहमा पनि पुनरावृत्ति भएको छ । तर हामीले यो दाबी गर्दछौँ कि हाम्रो पार्टी कहिले पनि त्यस प्रकारको निम्नस्तरको राजनीतिक–सांस्कृतिक धरातलमा उत्रने गरेको छैन । यस सन्दर्भमा यो कुुरा पनि स्पष्ट हुनुपर्दछ कि दक्षिणपन्थी, उग्र “वामपन्थी”, “मध्यपन्थी”, गद्दार, राजापरस्त, काङ्ग्रेसपरस्त, सोभियत संशोधनवादी, चिनियाँ संशोधनवादी, भारतपरस्त आदि राजनीतिक शब्द हुन् र तिनीहरूलाई व्यक्तिगत गालीगलौज वा चरित्रहत्याका आक्षेपका रूपमा लिनु सही हुने छ्र्रैन । हाम्रो पार्टीका करिब साढे ६ दशकका दस्तावेज, लेख वा वक्तव्यको अध्ययन गर्ने हो भने तिनीहरूमा कसैलाई पनि गालीगलौज गरेको, व्यक्तिगत आक्षेप लगाएको वा चरित्रहत्या गरेको एउटा पनि शब्द पाइने छैन, यद्यपि हाम्रा विरुद्ध त्यस प्रकारको गालीगलौज वा चरित्रहत्याको साहित्यको प्रचूरता छ । हाम्रो पार्टीका विरुद्ध अहिले पनि कतिपय पक्षले त्यसरी निम्नस्तरमा उत्रेर हमला गर्ने गरेका कैयौँ उदाहरण पाइन्छन् । हाम्रा अगाडि त्यस प्रकारका निम्नस्तरका आक्षेप लगाउनेका विरुद्धको जवाफमा पनि हामीले त्यस प्रकारको आरोप लगाउने गरेका छैनौँ । हाम्रो पार्टीको त्यस प्रकारको गौरवपूर्ण सांस्कृतिक धरातलबाट अन्य पक्षले पनि शिक्षा लिनुपर्दछ ।”

    मङ्गलबार, मङि्सर ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.