जगतराम बर्देवा ‘घायल’
–१–
दुईचार वटा कम्पनी हेलिकप्टर दिलायो जनयुद्धले
महङ्गो महङ्गो ब्रान्डको ह्वीस्की पिलायो जनयुद्धले
जनयुद्ध नभए चुडिएको चप्पल च्यातिएको दौरा हुन्थ्यो
पचास हजारभन्दा महङ्गो दामी सुट मिलायो जनयुद्धले
–२–
भाग्यमा लिएर आएछौ बधाई छ कमाउरेड बधाई छ
साँच्चै अवसर पाएछौ बधाई छ कमाउरेड बधाई छ
खाडी पसेको भए मुस्किलले झुप्रो बनाउन सक्थ्यौ कि
धनयुद्धको बाटो समाएछौ बधाई छ कमाउरेड बधाई छ
–३–
बिर्से हिजोको दिनमा सलामी खादाको दिन बिर्से
रक्तको आँसु चुहाउँदै मलामी जाँदाको दिन बिर्से
पद पाएपछि बङ्गलागाडी सबै ओइरो आइहाल्यो
भैरवनाथ गणबाट सेनाले मार्न लादाको दिन बिर्से
–४–
उमा भुजेललगायले जेल फोरेर विजयी गराए
ज्युँदो हुँदा पनी मरेको झैँ कात्रो ओढेर विजयी गराए
वीर योद्धा पाखा लगाएर छोरीबुहारी श्रीमती रोज्यौ
वीर योद्धाहरूले निषेधित सीमा तोडेर विजयी गराए
–५–
सहिदको रगतले सराप्ने छ कमाउरेड सराप्ने छ अवश्य
समयले तिमीहरूको समयको गति नाप्ने छ अवश्य
जसरी कार्यकर्ता अङ्गभङ्ग भएर रोएका छन् गाउँगाउँमा
तिनीहरूकै सरापले तिमीहरूको ढाड भाच्ने छ अवश्य
(तेह्रकिलो–१० गोर्खा, हाल दोहा, कतार)