हेम बिजी
Advertisement
खोई किन
फेरि उम्रियो असहमति
खोई किन
रोपियो असहमतिको बिउ
र, खोई किन
यति अग्लो भयो असहमतिको रुख ।
जहाँ
भेटिनु थियो असहमति
त्यहाँ भेटिएकै थियो
जहाँ
मेटिनु थियो असहमति
त्यहाँ मेटिएकै थियो
केवल
जिब्रोको बोलीमा होइन
विधिमा सजिएर
विधानमा उभिएर
असहमति सकिएकै थियो ।
अचम्मै लाग्छ
फेरि
किन यति अचाक्ली
उत्पात मच्चाउँदै छ असहमतिले
अखबरका आँगन
असहमतिकै अक्षरले भरिन्छन्
फेसबुकका भित्ता
असहमतिकै माटोले पोतिन्छन् ।
कारण
असहमतिकै होला
भित्र बोल्दाबोल्दै
बोलाइ बाहिर सडकमा दौडिन्छ
भित्र सुन्दासुन्दै
सुनाइ बाहिर सडकमा फैलिन्छ ।
ए ! असहमतिका आत्महरू
जहाँ
असहमति मेटिने गर्छ
फेरि त्यही पुगेर
असहमति मेटौँला
त्यसैले अब
सहमतिको सडकमा सँगै हिडौँ
सहमतिको उकालो सँगै चढौँ ।