काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) ले महाकवि लक्ष्मिप्रसाद देवकोटाबारे मासिक प्रवचन तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
देवकोटाको साहित्यमा प्रगतिशील चिन्तन” विषयक सो कार्यक्रम २०७७ कार्तिक ३० गते भर्चुअल प्रविधिबाट सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य तथा सुर्खेत क्याम्पसका प्राध्यापक डा. दीपक गौतम हुनुहुन्थ्यो ।
र्यक्रममा मन्तव्य राख्दै डा. गौतमले देवकोटा साहित्यिक रूपमा सफल व्यक्तित्व भएको दावी गर्नुभयो । हाइकू र गजलबाहेक सबै विधामा कलम चलाएको देवकोटाको बारेमा नेपालमा मात्र होइन, विश्वभरि नै अहिलेसम्म पनि लगातार अध्ययन–अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । ‘फेरि पनि देवकोटाको साहित्यिक योगदानप्रतिको अध्ययन–अनुसन्धान पूरा भइसकेको छैन’ उहाँले भन्नुभयो । पहिला–पहिला वैचारिक अस्पष्टता भए पनि पछिल्लो चरणमा उहाँमा वैचारिक स्पष्टता देखिएको बताउनुभयो ।
अर्का अतिथि नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले देवकोटालाई महान् प्रगतिशील साहित्यकार भए पनि प्रगतिवादी भने मान्न नसकिने बताउनुभयो । ‘आदर्शवादी नैतिकतावादको भारले थिचिएको नेपाली साहित्यलाई देवकोटाले बेग्लै आयाम दिनुभयो’ उहाँले अगाडि भन्नुभयो– ‘उहाँको स्वच्छन्दतावादी शैलीले गर्दा अहिले हामीले साहित्यमा धेरै विकल्पको विकास भएको पाउँछौँ ।’ उहाँले देवकोटा विद्रोही स्वभावको भएकाले नै प्रगतिशील रहेको पनि बताउनुभयो । सम्बोधनको क्रममा प्रवक्ता पुरीले देवकोटामा राजनीतिप्रति चासो रहेकै कारणले उनले लेनिन, माओलाई बुझ्न सकेको बताउनुभयो ।
अन्पाका अध्यक्ष डा. गोविन्द आचार्यको अध्यक्षता तथा सचिव गिरीप्रसाद बुढाको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा पोखराबाट प्रेम गायक, रोल्पाबाट खगेन्द्रा विष्ट, काठमाडौँबाट जगत्प्रसाद रेग्मी, विमल पोखरेल र मनु विक तथा रुपन्देहीबाट मीन रानाले कविता वाचन गर्नुभएको थियो । दाङका गुरुप्रसाद कुमाल बुलबुलले लघुकथा वाचन गर्नुभएको उक्त कार्यक्रममा स्वागत मन्तव्य मीन रानाले गर्नुभएको थियो ।