काठमाडौँ । कोभिड–१९ सङ्क्रमणका कारण ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत रहनुभएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको अवस्था सुधारोन्मुख छ । अस्पतालले दिएको जानकारीअनुसार उहाँको प्रेसर, सुगर र निमोनिया क्रमशः नियन्त्रणमा आइरहेको छ ।
अध्यक्ष केसीको उपचारमा संलग्न डा. सन्दिपलाई उद्धृत गर्दै उहाँका भतिजा तुफान केसीले र्याम्डिसेभेर औषधि नै चलाइएको बताउनुभयो । उहाँका अनुसार केसीजीको मुटुको धड्कन सामान्य रूपमा ९४–९५ नै रहेको छ ।’
‘हिजोदेखि केसीजीको स्वास्थ्यमा सुधार आउन थालेको छ’ भतिजा तुफानले थप जानकारी दिनुभयो– ‘हिजो साँझदेखि उहाँले टिभी हेर्न थाल्नुभएको छ; सीमित रूपमा कुराकानी पनि गर्नु थाल्नुभएको छ र खाना खाने रुचि पनि बढेर गएको छ ।’
तर उहाँले तत्कालै अस्पतालबाट डिस्चार्ज गर्ने सम्भावना भने नरहेको बताउनुभयो । ‘केही दिनपछि केसीजीको स्वाब सङ्कलन गरेर रिपोर्ट नेगेटिभ आएपछि मात्रै उहाँलाई डिस्चार्ज गरिने छ ।’
अध्यक्ष केसीलाई पेटको समस्या, डायरियासँगै निमोनिया भएको थियो । गत मङ्गलबार अस्पतालमा भर्ना हुनुभएका उहाँमा बुधबार कोरोना पोजिटिभ देखिएको थियो ।
अध्यक्ष केसीको स्वास्थ्य अवस्थाबारे अस्पतालले हरेक दिन परिवारका एक जना सदस्यलाई जानकारी दिदै आएको छ ।

