काठमाडौँ । सरकारले बैतडीको झुलाघाट नाका खुला गरेको छ । कारोना सङ्क्रमणपछि भारत आउजाउ गर्न १३ वटा नाका मात्रै खुला राखिएकोमा झुलाघाट नाका थप गरिएको हो ।
कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को आइतबार बसेको बैठले सिमानाका हुँदै नेपाल भित्रिन १३ वटा प्रवेशविन्दु रहेकोमा बैतडीको झुलाघाट नाका सुरु गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए।
यस्तै, सिसिएमसीले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरूको उद्दार सकिएकाले उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । अहिलेसम्म १ लाख ३६ हजार २१६ जनाको उद्दार गरी स्वदेश फर्काएको भन्दै सिसिएमसीले उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।
सचिव महेन्द्रप्रसाद गुरागाईंका अनुसार कुनै देशबाट पुनः उद्दार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने सिसिएमसीको निर्णय छ ।
यसैगरी केबलकार, जंगल सफारी र साहसिक पर्यटनका क्षेत्र खुला गर्न पनि सरकारलाई सिफारिस गरिएको उनले बताए । होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुको संख्या धेरै रहेको अवस्थामा स्वास्थ्य परामर्शका लागि स्थानीय तहका वडाहरुबाट स्वास्थ्यकर्मीले परामर्श सेवा दिन अनुरोध गर्ने निर्णय पनि सीसीएमसीले गरेको छ । यस्तै कुटनीतिक नियोगका कर्मचारीका परिवारलाई पनि नेपाल आउन दिने निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरिएको उनले बताए ।