न्युयोक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघमा अमेरिका र इरानका प्रतिनिधिबीच ‘धेरै राम्रो’ वार्ता भएको बताएपछि बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । एसियाली बजारमा प्रारम्भिक कारोबारका क्रममा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९८.९१ अमेरिकी डलरमा झरेको छ भने अमेरिकी कच्चा तेलको प्रमुख बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) ८९.९३ डलरमा कारोबार भएको छ । मध्यपूर्वमा फेब्रुअरीमा युद्ध सुरु भएपछि पटक–पटक १०० डलरभन्दा माथि पुगेको तेलको मूल्य पछिल्लो समय उक्त स्तरभन्दा तल आएको हो ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटका क्रममा ट्रम्पले अमेरिका–इरान प्रतिनिधिबीच भएको तीन घण्टा लामो बैठक ‘धेरै राम्रो’ र ‘अत्यन्तै फलदायी’ भएको बताउनुभयो । उहाँका अनुसार दुवै पक्षबीच अर्को बैठक पनि निकट भविष्यमै हुने तय भएको छ ।
ट्रम्पको यो भनाइ संयुक्त राष्ट्रसंघको महासभामा उहाँले इरानप्रति कडा धारणा व्यक्त गरेको केही घण्टापछि आएको हो । उहाँले इरानसँग सम्झौता गर्ने वा ‘इस्लामिक गणतन्त्रलाई छिट्टै समाप्त गर्ने’ विषयमा आफूले ठूलो निर्णय लिनुपर्ने बताएका थिए ।
तेहरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणबाट द्वन्द्व सुरु भएको करिब सात महिनापछि पनि अमेरिका र इरानबीचको तनाव कायमै छ । इरानले स्ट्रेट अफ हर्मुज बन्द राखेको छ भने अमेरिकाले इरानी बन्दरगाहमाथि प्रतिरोधात्मक नाकाबन्दी जारी राखेको छ ।
यसैबीच, साउदी अरबले पनि द्वन्द्वका कारण बन्द भएको आफ्नो ईस्ट–वेस्ट पाइपलाइन सञ्चालन पुनः सुरु गर्न थालेको बताइएको छ । उक्त पाइपलाइन स्ट्रेट अफ हर्मुजको अवरोधलाई छल्दै तेल निर्यात गर्न साउदी अरबका लागि महत्वपूर्ण मार्ग हो । साउदी अरबले यही महिनामा इराकबाट प्रक्षेपण गरिएका ड्रोनका कारण पाइपलाइन बन्द गर्नुपरेको जनाएको थियो । ब्लुमबर्गका अनुसार साउदी अरबले यही साताको अन्त्यतिरबाट तेल निर्यात पुनः सुरु गर्ने तयारी गरेको छ ।
एआई क्षेत्रमा बढ्दो उत्साह
तेल बजारसँगै बुधबार एसियाली सेयर बजारमा मिश्रित कारोबार देखिएको छ । ताइवानको ताइएक्स परिसूचक ०.८ प्रतिशतले बढेको छ । चिप निर्माता कम्पनी टीएसएमसीको मुख्य बजारसमेत रहेको ताइवानमा कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा बढ्दो लगानी र उत्साहले बजारलाई प्रभावित गरेको छ । एन्थ्रोपिक र ओपनएआईले मंगलबार केही घण्टाको अन्तरालमा नयाँ तथा तुलनात्मक रूपमा सस्ता एआई मोडल सार्वजनिक गरेका छन् । यसअघि दुवै कम्पनीका प्रमुखहरूले शक्तिशाली एआई प्रविधिको विकासको गति केही कम गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
फेसबुकको मातृ कम्पनी मेटाले पनि एआई क्षेत्रमा नयाँ गतिविधि बढाएको छ । कम्पनीको निःशुल्क एआई एजेन्ट ‘म्युज’ सार्वजनिक भएपछि कम्पनीको सेयर मूल्य ११ प्रतिशतले बढेको थियो । उक्त एआई एजेन्टले यात्रा बुकिङ, इमेल पठाउने तथा अनलाइन खरिदजस्ता काम गर्न सक्ने बताइएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार हुने शिखर बैठकतर्फ पनि लगानीकर्ताको ध्यान केन्द्रित भएको छ । विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार, शुल्क तथा लामो समयदेखि जारी व्यापारिक तनाव बैठकका प्रमुख विषय बन्ने अपेक्षा गरिएको छ । विश्लेषक काइल रोड्डाका अनुसार अमेरिका–चीन वार्तामा मध्यपूर्वको युद्ध र इरानमाथि प्रभाव पार्न चीनबाट अमेरिकाले प्राप्त गर्न सक्ने सहयोग महत्वपूर्ण विषय बन्न सक्छ । उहाँका अनुसार एआई प्रविधिको विकास र त्यससँग जोडिएको प्रतिस्पर्धा पनि अर्को प्रमुख मुद्दा हो ।
