• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

दास मनोवृत्ति र कम्युनिस्ट पार्टी


  •   आइतबार, कार्तिक २३, २०७७ मा प्रकाशित
  • दुर्गानाथ खरेल

    Advertisement

    मानव समाजमा वर्गको रूपमा सबैभन्दा पहिले शोषित हुने वर्ग दास हुन् । त्यो त्यतिखेरको समाजको आवश्यकता थियो । श्रम विभाजन भई दास र मालिकमा नगइकन उत्पादन वृद्धि हुन सक्ने अवस्था थिएन । जब समाज अगाडि बढ्दै गयो, तब मालिकहरूले दास मनोवृत्ति विकास गराएर शोषण, दमन सहने क्षमताको विकास गराउनतिर ध्यान केन्द्रित गराए ।

    दास मनोवृत्ति भनेको ‘म दास हुँ; मालिकहरू ठुला मान्छे हुन्; मेरो जिम्मा खुरुखुरु मालिकको निर्देशन पालना गर्ने हो; अधिकार मालिकको जिम्मामा परेको छ; कर्तव्यजति मेरो जिम्मामा परेको छ; म बाँच्नका लागि जस्तोसुकै कठिन काम पनि गर्नुपर्छ; मालिकको विरोध गर्नु हुन्न; मर्नैपरे पनि खुरुक्क स्वीकार्नुपर्छ; बचाए पनि र मारे पनि मालिकको इच्छामा भर पर्छ; मलाई नमारेर बाँच्न दिने मालिक मेरा लागि सबै चिज हुन्; त्यसकारणमा जे गर्न पनि तयार हुनुपर्छ’ भन्ने सोचाइ हो ।

    दास मनोवृत्ति विकास गराउने काम मालिकले गरेका हुन् । तर सबै दासमा दास मनोवृत्ति विकास भएको थिएन । विद्रोही मनोवृत्ति विकास गरेका दास पनि थिए । उनीहरू सोच्दथे, मालिकको यो ज्यादती कहिलेसम्म सहेर बस्ने ? हामी पनि मानिस, मालिक पनि मानिस । मालिक सुविधासम्पन्न भई बस्ने, हामी भने काम गरेर सम्मान पाउनुको सट्टा मृत्यु बेहोर्नुपर्ने ? यो अन्याय हो । अन्याय सहनुहुन्न । जति अन्याय सह्यो, त्यति थपिँदै जान्छ । त्यसकारण अन्याय विरुद्ध सङ्गठित रूपमा अवज्ञा गर्नुपर्छ । त्यो विद्रोही मनोवृत्ति थियो ।

    विद्रोही मनोवृत्ति र दास मनोवृत्ति विपरीत किसिमका मनोवृत्ति हुन् । एउटाले शोषण सहने क्षमता विकास गराएको हुन्छ भने अर्कोले आफ्नो र आफूजस्ता धेरै सङ्ख्याका वर्गको मुक्तिको लागि बाटो खोज्ने काम गरेको हुन्छ ।

    दुवै काम सजिला भन्ने हुन्नन्, बरु दुवै काम कठिन हुन्छन् । तर एउटाले मुक्तिको खोजी गर्छ भने अर्कोले अनन्तकालसम्म शोषण, दमन सहने र मृत्युवरण गर्ने जीवन बिताउन कोसिस गरेको हुन्छ । एउटाले मालिकको सुख, समृद्धि र ऐसआरामका लागि जीवन अर्पण गर्दछ भने अर्कोले आफू र आफ्ना वर्गभित्र मुक्तिका लागि सङ्घर्ष गरेर शक्तिआर्जन गर्ने र विजयी हुने उपायको खोजी गरिरहेको हुन्छ । यी मनोवृत्ति विपरीत धु्रवका भए पनि एकर्कोमा सम्बन्धित हुन्छन् ।

    विद्रोही मनोवृत्ति भए पनि अथवा दास मनोवृत्ति भए पनि दुवै दास त दासै हुन् । मालिकको दासता त दुवै किसिमका दासले बेहोर्नुपरेकै हुन्छ । तर मालिकका अगाडि समस्या खडा हुन्छ । धेरै दासमा विद्रोही मनोवृत्ति विकास भयो भने त मालिक हुन पाइन्न । त्यसकारण उसले एकातिर दमन, अर्कोतिर उदारता—मौका हेरी हेरी दमन र उदारता लागु गर्दै दासविद्रोह दबाउने र दासलाई दासकै रूपमा काम गराउने उद्देश्यसहितका उपाय लागु गर्दछ । उसको योजना सकेसम्म दास मनोवृत्ति भएका दासलाई बढी शोषण गर्ने र फेरि दास मनोवृत्ति बढाउने तथा विद्रोही मनोवृत्ति घटाउने, विद्रोही नेतृत्वमाथि साम, दाम, दण्ड, भेद सबै उपाय प्रयोग गर्ने गर्दछ ।

    वर्गीय रूपमा दासता उन्मूलन गर्न विद्रोही मनोवृत्तिको ठुलो महत्त्व थियो । जति दासहरूले दासताको बन्धन महसुस गर्दथे, विद्रोही मनोवृत्तिको विकास गर्दथे र त्यस्तो मनोवृत्तिलाई सम्मान पनि गर्दथे । सङ्ख्या बढ्दै जान्थ्यो, सङ्गठित रूपका विद्रोह पनि बढ्दै जान्थ्यो, तब मात्रै दास व्यवस्थाको अन्त्य गर्ने सशक्त विद्रोह सफल हुन सकेको हो ।

    आफू अन्यायमा परेको महसुस नगर्दासम्म विद्रोही मानसिकता सुरु हुन सक्दैन । अन्यायमा परेको महसुस गरेपछि त्यसबाट उम्कन कोसिस गर्ने सिलसिलामा सङ्गठन, अनुशासन, लगन र दृढताको विकास हुने हो । त्यसैका कारण विद्रोह उठ्ने र सफलतामा टुङ्गिने हुने हो । अन्यायमा परेको महसुस नहुँदासम्म ती कुरा व्यवहारमा देखिन्नन् ।

    दासव्यवस्था निर्मम व्यवस्था हो । दासलाई मार्नसक्ने अधिकार मालिकसँग थियो । किन्ने, बेच्ने र मार्ने सबै अधिकार मालिकसँग भएकाले विद्रोही मनोवृत्ति विकास गर्न छुट थिएन । तर पनि त्यसको सङ्गठित रूपको अत्यन्त ठुलो महत्त्व थियो । सबैलाई मारेर मालिकको समस्या समाधान नहुने भएकाले एकदुईलाई यातना र मृत्युको डरले अरूलाई तर्साएर दास मनोवृत्ति विकास गराउन प्रयत्न गर्दथे । त्यस्तो प्रयत्न असफल हुँदै विद्रोही मानसिकता सशक्त बनेपछि मालिकका उद्देश्य असफल हुँदै जाँदा व्यवस्थाको अन्त्य नगरी उद्धार नभएको हो ।

    दासव्यवस्था समाप्त भइसकेपछि पनि दास मानसिकता निर्मूल भएको थिएन । त्यो मानसिकता बढाउन आफ्नो ठाँटबाठ, धाकरवाफ कायम राख्न सामन्तले अरू थप उपायसहित दास मानसिकतामा मलजल गर्दै समाज अघि बढेको हो ।

    हामी अहिले पुँजीवादी व्यवस्थाअन्तर्गत काम गरिरहेका छौँ । पुँजीवादी समाजमा दास मानसिकताका धेरै उदाहरण फेला पार्न सकिन्छ । पुँजीपतिहरूले सुविधा दिने नाममा र परम्परा जोगाउने नाममा आफ्ना कामदारलाई आफूप्रति वफादार बनाउन दास मानसिकताको विकास गराउने अथवा अन्धभक्तिको विकास गर्ने गरेका हुन्छन् । दास मानसिकताले पुँजीपति वर्गलाई फाइदा पुग्ने हुनाले त्यसलाई समाप्त पार्न कुनै कदम चाल्दैनन्, बरु सबैलाई आफ्नै शोषणको साँचोमा ढालेर काम चलाएको हुन्छ ।

    दासले दासताको बन्धन तोडेपछि उनीहरू सर्वहारा हुन्छन् । तर किसानलाई सर्वहारा बनाउन दुई चरण पार गर्नुपर्छ । एउटा– आफ्नो नाममा जग्गा दर्ता गरेर सचेत र सङ्गठित बनाएपछि मात्र ऊ सर्वहाराकरण हुन्छ । सर्वहाराले सम्पत्ति कमाउने प्रतिष्पर्धा र व्यक्तिगत स्वामित्व सबै समाप्त पारेर मुक्त हुन्छन् । सर्वहारा भएजति सबै सचेत र सङ्गठित हुँदैनन् । समाजमा सचेत र सङ्गठित नभएका सर्वहारा धेरै छन्, जसलाई लम्पट सर्वहारा पनि भनिन्छ । उनीहरूमा वर्गचेतना हुँदैन; पुँजीपति वर्गलाई आफ्नो मालिक ठान्दछन् र उनीहरूबाट उपयोग भइरहेका हुन्छन् ।

    माक्र्सवादले सर्वहारा वर्गमा आफ्नो भौतिक शक्ति भेट्याउँछ र सर्वहारा वर्गले माक्र्सवादमा आफ्नो बौद्धिक शक्ति भेट्याउँछ । यसको अर्थ वर्गसचेत हुन सर्वहारा वर्गले अनिवार्य रूपमा माक्र्सवादको अध्ययन गर्नुपर्छ र माक्र्सवादीले पनि अनिवार्य रूपमा सर्वहारा वर्गलाई माक्र्सवादको अध्ययन गराउनुपर्छ भन्ने हो ।

    माक्र्सवादको अध्ययन सर्वहारा वर्गले मात्र गर्दैनन्, निम्न पुँजीपति र पुँजीपतिसमेतले अध्ययन गर्दछन् । अध्ययन गर्दै जाँदासाथ ऊ माक्र्सवादी अथवा सर्वहारा भइहाल्छ भन्ने होइन । पुँजीपति वर्गले मजदुरलाई उपयोग गर्न माक्र्सवाद अध्ययन गर्दछ भने निम्न पुँजीपति वर्गले पुँजीपति वर्गको विरोध गर्न माक्र्सवादको अध्ययन गरे पनि सर्वहारा नहुन हर प्रयत्न गर्दछ । उसले समाजवाद चाहन्छ । तर आफ्नो सानो पैमानाको व्यक्तिगत स्वामित्व कायम राखेर आफू कम्युनिस्ट पार्टीको नेतासमेत हुने चाहना गर्दछ । तर व्यवहारले त्यो वास्तविकतालाई स्वीकार गर्दैन । समाजवाद सामूहिक अर्थतन्त्रको व्यवस्था हो । सिङ्गै सहकारी व्यवस्था हो । त्यहाँ व्यक्तिगत स्वामित्व र व्यक्तिगत अर्थतन्त्र समाजवादका लागि उपयुक्त नहुने मात्र होइन, बाधकसमेत बन्दछ ।

    वर्गचेतनाको विकास नभएसम्म दासताको बन्धन तोड्न सकिन्न; किनभने, दास मनोवृत्ति कायम राख्न धर्म, परम्परा, स्वर्ग, नर्क, अघिल्लो–पछिल्लो जुनी, भाग्यजस्ता ऐजेरुले बलियोसँग घर जमाएका हुन्छन् । अर्कोतिर, खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य, रोजगारजस्ता जल्दाबल्दा समस्याले दिनदिनै अल्झनमा पारिराखेका हुन्छन् । सङ्घर्ष गरेर शोषण हुन नदिन तिनै ऐजेरुको कारणले रोक्दछन् । त्यसको स्वाभाविक नतिजा शोषण सहने क्षमताको विकास गर्नु नै हुन्छ ।

    समाजका धेरै कम मान्छेले मात्र ठुलो हिम्मत गरेर सर्वहाराकरणको बाटो रोजेर लगन, अनुशासन, सङ्गठन र दृढताका साथ सिद्धान्तको अध्ययन र व्यवहारमा त्यसको प्रयोग गर्दै अघि बढ्छन् । सर्वहाराकरणको काम विश्व दृष्टिकोणमा सर्वहाराकरणबाट सुरु हुन्छ । त्यो प्रक्रिया बढ्दै जाँदा भौतिक रूपमा सर्वहाराकरण हुने अवस्थामा पु¥याउँछ । यो रहरले गर्ने काम होइन, विश्वदृष्टिकोणका कारणले सही र उपयुक्त ठह¥याएपछि मान्छे स्वाभाविक रूपमा त्यहाँ पुग्छ ।

    सर्वहारालाई नेता मान्ने काम पनि सजिलो छैन । उसले नेता भएर कतैबाट सम्मान पाएको हुन्न । उसको कठिन परिश्रमलाई देखेर उसलाई नेता नमानी नभएर मात्र नेतामा गिन्ती गर्न बाध्य भएको हुन्छ । उसलाई रहरले कसैले सम्पत्ति दिन्न । उसको सङ्गठित अनुशासनको बलमा व्यक्तिगत स्वामित्वको सम्पत्ति बलप्रयोगसहित सामूहिक स्वामित्वमा लैजाने हो । सामूहिक स्वामित्वबाट बढी सुविधा भएको देखेपछि बल्ल सर्वसाधारण जनताले रहरले सामूहिक स्वामित्वमा जाने हुन् ।

    बुर्जुवा र निम्न बुर्जुवालाई त बलप्रयोग नै गर्नुपर्छ । त्यति मात्र होइन, फेरि व्यक्तिगत स्वामित्वमा लैजान पहिलेभन्दा दश गुणा बढी बलप्रयोग गर्न कस्सिन्छन् । केही सिप नलागेपछि मात्र सामूहिक स्वामित्व स्वीकार्ने हुन् । त्यसकारण माक्र्सवाद पढेर कोही नेता बन्न सक्दैन । सङ्गठनमा आबद्ध भई अनुशासन, लगनशीलता, सङ्गठन र दृढताका कारणले र सबैभन्दा बढी विश्वदृष्टिकोणका कारणले मात्र कम्युनिस्ट हुने हो ।

    कम्युनिस्ट महान् व्यक्ति हो । त्यो यसकारणले महान् व्यक्ति हो कि उसले समाज बदलेर शोषणरहित समाज निर्माणका लागि परिश्रम गर्दछ । समाजलाई एक्लै बदल्न सकिन्न । त्यसका लागि सङ्गठनको आवश्यकता पर्छ । त्यो पनि उसको कठिन परिश्रमका कारणले निर्माण हुन्छ । दृढता पनि सजिलै विकास हुन्न । यसको विकास लगातारको लगनशीलताबाट हुने हो । समग्रमा यो युग बदल्ने काम हो ।

    कम्युनिस्ट पार्टी सर्वहारा वर्गको नेतृत्वमा गठन हुने मजदुरको पार्टी हो । सर्वहाराको नेतृत्व नस्वीकार्ने व्यक्ति कम्युनिस्ट हुन सक्दैन । त्यसको कारण कम्युनिस्ट पार्टीको उद्देश्य व्यक्तिगत स्वामित्व उन्मूलन गर्नु हो । सबै व्यक्ति ज्यालादारी मात्र हुने, कोही पनि नाफा खाने नहुने समाजवादी व्यवस्था स्थापनाका लागि गठन गरिने पार्टी मात्र कम्युनिस्ट पार्टी हो । कम्युनिस्ट पार्टी उच्च वर्गीय चेतना र कडा अनुशासनमा बस्न सक्नेहरूको पार्टी हो ।

    पुँजीवादीहरूले कम्युनिस्ट पार्टीका कार्यकर्तामा दास मानसिकता भएकाले आफ्नो नेताको पछि लागेका हुन्छन् भन्ने आरोपसमेत लगाउँछन् । त्यो सरासर झुट र कपोलकल्पित आरोप हो । कम्युनिस्ट पार्टीमा दास मानसिकता पालेर काम हुन सक्दैन । नेताका वरिपरि घुमेर हुन्न, जनताका वरिपरि घुम्नलाई सचेत वा वर्गसचेत नभइकन ऊ त्यो पार्टीमा जान्न । अनि, दास मानसिकताले कहाँ र कसरी, के काम गर्ने ? नेता स्वयम्ले अप्ठ्यारो काम सफलतापूर्वक सम्पन्न गरेको देखेर, बुझेर मात्र व्यक्ति कम्युनिस्ट पार्टीमा लाग्ने हो । नेतृत्वको व्यक्तिले आफ्ना न्यूनतम आवश्यकता पनि श्रम गरेर नै समाधान गर्छ र सामूहिक काममा पनि सबैले भन्दा बढी योगदान पुर्याउँछ । त्यस्तो व्यक्तिको दासत्व स्वीकारेर कसैले केही पाउन्नन् । आफैले अरूका लागि काम गर्नलाई किन दासत्व स्वीकार गर्नुपर्यो ? कसैले त्यस्तो काम गर्दैनन् । आफ्नो नेतृत्वको योग्यता र लगनशीलता देखेबुझेर कम्युनिस्ट बन्न चाहने व्यक्तिले बलियो आत्मबलसहित नेताको निर्देशन पालन गर्छ; अनुशासित भई आफूले समेत कडा काम गर्छ, बरु अरू भारेभुरेलाई विश्वास गर्दैन । त्यसकारण त्यही पिरले दास मानसिकता छ भनेर कपोलकल्पित आरोप लगाएर आत्मसन्तुष्टि गरेको हो । त्यस्ता व्यक्तिले आफूले काम गर्दैनन् । सामूहिक स्वार्थका लागि पसिना बगाउन्नन् र शोषण गर्छन् तथा शोषकको दलाली मात्र गर्छन् ।

    दास मानसिकताका लागि कतैनकतैको टेक्ने, समात्ने आडभरोसा आवश्यक हुन्छ । सम्पन्नवर्गले त्यसैका लागि अलौकिक वस्तुमाथि विश्वास दिलाएर, त्यसैलाई आडभरोसा मानेर मान्छेले दासत्व स्वीकार्ने हो । भौतिकवादीहरूले अन्धविश्वासलाई अस्वीकार गरेपछि प्रत्यक्ष प्रमाणसहितको कामलाई मात्र विश्वास गर्दछन् । त्यसकारण कम्युनिस्ट पार्टीमा दासत्व स्वीकार्नुहुन्न । त्यसैले नेताका लागि योग्यता, क्षमता चाहिन्छ ।

    कम्युनिस्ट पार्टी नेताहरूको पार्टी हो भनेर यसकारणले भनिएको हो कि कम्युनिस्ट जनताका प्रतिनिधि हुन् । सर्वसाधारण जनता कम्युनिस्ट पार्टीको सदस्य हुन सक्दैनन् । त्यसकारण कम्युनिस्टले जनताको पक्षमा काम गर्नुपर्छ । जनताको सबैभन्दा ठुलो समृद्धिको बाधक राज्यसत्ता हो । त्यहाँ संलग्न सम्पूर्ण शक्ति मिलेर संयुक्त रूपमा जनताको शोषण गर्दछन् । त्यसैले कम्युनिस्टले जनताको साथ–सहयोगमा राज्यसत्तामा आमूल परिवर्तनको नेतृत्व गर्नुपर्छ । समाजवादभन्दा पहिलेका सबै समाजमा कुनैनकुनै रूपमा धर्मको अस्तित्व रहन्छ । धर्म विरोधी नभइकन जनताको मुक्ति सम्भव छैन ।

    कम्युनिस्ट पार्टीको सदस्य धर्म विरोधी व्यक्ति हो; कम्युनिस्ट पार्टी धर्म विरोधी संस्था हो र कम्युनिस्ट दर्शन धर्म विरोधी दर्शन हो । त्यसकारण कम्युनिस्ट महान् व्यक्ति हो, जसले समाजको आमूल परिवर्तनको उद्देश्यसहित काम गर्छ ।

    बिना अध्ययन, बिना प्रशिक्षण, बिना सङ्घर्ष र बिना निरन्तरता कम्युनिस्ट बन्न सकिन्न । त्यसैकारणले सर्वसाधारण जनता कम्युनिस्ट पार्टीको सदस्य बन्न नसकेका हुन् र उनीहरू महान् काम गर्न नसक्ने अवस्थामा हुन्छन् ।

    जनताले कम्युनिस्ट पार्टीको विश्वास र नेतृत्वमा मात्र महान् काम गर्न सक्ने हुन्छन् । कम्युनिस्ट पार्टीले आफ्ना पूरै कार्यक्रम जनताको विश्वास जित्ने गरी गर्दछ । तर आफू जनताको पछि लागेर उनीहरूको पिछडिएको चेतनाबाट नैतिक, भौतिक वा अन्य कुनै आर्थिक, सामाजिक हिसाबले फाइदा उठाउन होइन, उनीहरूलाई सचेत र सङ्गठित बनाउन जनताको अघि लागेर नेतृत्व गर्छन्; काम गछ्र्रन्; शोषणमा नपर्ने गरी पारिश्रमिक लिन्छन् र सङ्गठनमा सक्रिय भई आफ्नो योगदान सामूहिकताका लागि थप्छन् ।

    जनताले जब आफूहरू अन्याय र शोषणमा परेको थाहा पाएर कम्युनिस्ट पार्टी नेतृत्वको आन्दोलनलाई आर्थिक र नैतिक, भौतिक सबै सहयोग गर्न तयार हुन्छन्, तब मात्रै राज्यसत्तामा आमूल परिवर्तन गर्न सकिन्छ । त्यसकारण कम्युनिस्ट कार्यकर्ताको काम जनतालाई आफ्नो पत्रिका पढाउने, जनतालाई आफ्ना नेताको भाषण सुनाउने, जनतालाई आफ्नो प्रशिक्षकको प्रशिक्षणमा सहभागी गराउने, आफ्ना गीत र नाचमा सहभागी बनाउने आदि हुन् । आफ्ना ती अत्यावश्यक सामग्री बिना जनता सचेत र सङ्गठित हुन्नन् । फुक्ला गफ गरेर कुनै पनि जनताले कम्युनिस्टलाई साथ र सहयोग गर्दैनन् ।

    कम्युनिस्ट पार्टीको नेतृत्वमा राज्यसत्ता कब्जा भएपछि जनताको मुक्ति सुरु हुन्छ । तर कम्युनिस्ट कार्यकर्ता भने आजैदेखि मुक्त हुनुपर्छ । आफू मुक्त नभइकन अरूलाई मुक्त पार्न सकिन्न । त्यो भनेको योग्यतानुसार काम गरेर शोषणमा नपरिकन पारिश्रमिक लिने र व्यक्तिगत खर्च चलाउने, बढीभन्दा बढी समय बचाएर पार्टीको काम गर्ने अथवा पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने अथवा सामूहिक काममा आफ्नो योगदान थप्ने हो । कम्युनिस्ट पार्टीभित्र सत्ताको प्रतिष्पर्धा आवश्यक हुन्न ।

    अवसरवादी पार्टीले आफ्नो पार्टीलाई कम्युनिस्ट पार्टी र आफूलाई कम्युनिस्ट नेता घोषित गरेर जनताको पिछडिएको चेतनाबाट फाइदा उठाउने उद्देश्यसहित काम गर्छन् । त्यो सही होइन । आफ्नो योग्यता र आफ्नो प्रतिष्पर्धीको योग्यताको मूल्याङ्कन नगरिकन कम्युनिस्ट पार्टीको नेता हुने प्रयत्न कसैले गर्छ भने त्यो असफल हुन्छ । देवता र ईश्वर नमानिकन मान्छेको योग्यतालाई मान्ने बेलामा त्यो व्यक्ति वा त्यो पार्टी गल्ती नगर्ने चोखो हुन्न । तर सबैभन्दा थोरै गल्ती गर्ने र उच्च योग्यता प्रदर्शन गर्न सक्ने पार्टी एउटा देशमा एउटा मात्रै हुन्छ । सामूहिकताका लागि आफूले योगदान थप्ने नै हो भने किन दुईचार वटा पार्टी बनाउने वा किन पार्टी फोर्ने प्रयत्न गर्ने वा किन पार्टी फोर्ने ? यो सबै दुष्प्रयास हो । दुष्प्रयास कसैले गर्नु हुन्न । कम्युनिस्ट पार्टीको सदस्यले त्यस्तो गर्दैन । आफूमा नभएको योग्यता विकास गर्छ र भएको योग्यता प्रदर्शन गर्छ । किन दुष्प्रयास गर्छ ? गर्दैन ।

    कम्युनिस्ट पार्टीमा दास मनोवृत्तिले काम नगर्ने भएकाले, भौतिकवादीले प्रयोगको आधारमा प्रमाणित गर्ने हुनाले ऊ यथार्थको नजिक हुन्छ र हुनुपर्छ । प्रतिक्रियावादीहरूले कम्युनिस्ट पार्टीलाई आफ्नो विरोधी शक्ति मान्दछन् । विरोधीलाई फुटाउने र आफू आफ्नो पक्षधरलाई जुटाउने प्रयत्न गर्छन् । राजनीति अनौठो खेल हो । दुई वर्षमा हुन सक्ने कामलाई दुई सय वर्ष पनि लाग्न सक्छ र दुई सय वर्ष लाग्ने काम दुई वर्षमा सम्पन्न पनि हुन सक्छ । त्यसकारण छुट्टाछुट्टै ताउली बसालेर खिचडी पकाउने काम कम्युनिस्टका लागि, कम्युनिस्ट पार्टीका लागि, श्रमजीवी वर्गका लागि र गरिब, असहायदुखीका लागि—कसैका लागि पनि राम्रो होइन, त्यो त केवल अवसरवादी र प्रतिक्रियावादीलाई मात्र राम्रो हो ।

    आइतबार, कार्तिक २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.