• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

विश्व साहित्यमा अक्टोबर क्रान्तिको प्रभाव


  •   शनिबार, कार्तिक २२, २०७७ मा प्रकाशित
  • मोहनविक्रम सिंह ।।

    Advertisement

    १. विषय प्रवेश

    सामाजिक परिवर्तनमा साहित्यले धेरै ठुलो भूमिका खेल्ने गर्दछ । आजसम्मका कैयौँ परिवर्तनमा साहित्यिक तथा बौद्धिक लेखनको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । त्यसकारण साहित्य वस्तुपरिवेशलाई नयाँ संस्करणमा प्रस्तुत गर्न सक्ने सृजनात्मक खुबी हो । यसले नयाँ पुस्तालाई उन्नत र समृद्ध बन्नका लागि सन्देश दिन्छ । त्यसरी उन्नत र समृद्ध बन्नका लागि भएका प्रयासले नयाँ र समृद्ध साहित्य निर्माण हुनाका लागि नयाँ ढोका खोल्दछन् । अक्टोबर क्रान्तिले साहित्यलाई पनि त्यही रूपमा उन्नत हुनका लागि वातावरण दिएको थियो ।

    २. युग परिवर्तनमा साहित्यको महत्त्व

    वस्तुपरिवेश, विचार र कलाको संयोजन गरी प्रस्तुत गरिएको एउटा सुन्दरतम् आकृति साहित्य हो । त्यसलाई स्पर्श गर्दा उत्पन्न हुने तरङ्गले जीवनलाई विभिन्न अर्थमा परिभाषित गर्दछ । त्यसरी विभिन्न अर्थबाट विश्लेषित र चिन्तन गरिएको सृजनात्मक र बौद्धिक अभिव्यक्ति साहित्य हो । साहित्य सामाजिक व्यवस्था, राज्यसत्ता, वर्गीय शक्ति, विजय–पराजय, क्रान्ति, युद्ध, परिवर्तन, न्याय, समानता, प्रेम, यौन, व्यवहार, परम्परा, आशा, विश्वास आदि पक्षलाई आधार बनाएर विचरित हुन्छ । त्यसरी विचरित हुँदा साहित्यले प्रभाव पार्ने एक मात्र प्राणी मानवजाति नै हो । त्यसैले यो मानवजातिको सम्पत्ति हो र यसले मानवजातिका लागि नै महत्त्व राख्दछ ।

    विभिन्न युगमा जन्मिएका साहित्यको आआफ्नो महत्त्व रहेको छ । सबै साहित्यमा राजनीति अन्तर्निहित हुनु स्वाभाविक थियो; र, छ पनि । त्यसरी आफ्नो युगमा नै कुनै पनि साहित्यले बाँच्ने अधिकार पाउँछ । तर त्यसो भए पनि साहित्यको अर्को एउटा पक्ष पनि हुन्छ, जसको विचारधारात्मक प्रभावले मानवजाति सर्वदा जागृत भइरहेको हुन्छ । यसको अर्थ हुन्छ : साहित्यले बोकेको विचारधारात्मक शक्तिको अवस्था उदीयमान युगसित अन्तरसम्बन्धित भएमा त्यसको श्रेष्ठता दीर्घकालिक कायम भएको हुन्छ । त्यसरी विचारको कलात्मक अर्थ र अभिव्यक्तिले साहित्यलाई दीर्घकालिक रूपमा जीवन्त बनाउने गर्दछ, जसलाई मानवजातिले आफ्नो जीवनको उपयोगमा ल्याउने काम गरिरहन्छ । साहित्य मानवीय क्रियाकलापको विभिन्न अभिव्यक्तिमध्ये एउटा अभिव्यक्ति हो । त्यसैले त्यो आफ्नो युगबाट प्रभावित हुनु स्वाभाविक हुन्छ । अक्टोबर क्रान्ति अगाडिको साहित्यका पनि आफ्ना विशिष्ट गुण थिए । पूर्वी तथा पश्चिमी दार्शनिक विचारधाराले आफ्नो पहुँच राख्ने ती सबै साहित्यमा प्रभाव पारेका थिए ।

    साहित्य मानव जीवन, व्यवहार, क्रियाकलाप, चिन्तन आदिको सृजनात्मक एवम् बौद्धिक क्रियाकलाप हो । त्यसैले साहित्य र कला मानव जीवनको मात्र उपलब्धि हो । वस्तुगत परिस्थिति र चेतनाको उपज भएकाले कुनै पनि राजनीतिक तथा सामाजिक व्यवस्थाबाट साहित्य अलग रहने कुरा हुँदैन । कुनै साहित्य सामाजिक परिवर्तनको सन्देश बोकेर क्रान्तिकारी विचारधारासहित तात्कालिक सत्ता विरोधी भएर जन्मिन्छ; कुनै साहित्य सामाजिक सुधार गर्ने सीमासम्म सीमित रहन्छ भने कुनै साहित्य सत्ताधारी वर्ग जतिसुकै खराब भएको भए पनि तिनीहरूको दलाली गर्ने हुन्छ । यी सबै साहित्य हुन् । त्यसरी उद्देश्य र अर्थका हिसावले यी सबै साहित्यका आआफ्नो महत्त्व हुन्छ ।
    परिवर्तनकारी भनिएका साहित्यका पनि विभिन्न धारा हुन्छन् । कुनैले यथार्थ स्थितिलाई प्रकट गरे पनि वास्तविकताको योजना प्रस्तुत गर्न सकेका हुँदैनन् । कुनैले यथार्थ स्थितिको विरोध गरे पनि आफ्नो भूमिका र दायित्वको निर्वाह गर्नुपर्ने आवश्यक ठान्दैनन् । कुनैले सधैँभरि विरोधको भाव राख्दछन् । त्यसरी कुनैले यथास्थितिवादी, कुनैले सुधारवादी, कुनैले अवसरवादी, कुनैले अराजकतावादी, कुनैले प्रगतिशील÷प्रगतिवादी धारमा रहेर आफ्नो स्थान बनाएका हुन्छन् । यस प्रकार सबै साहित्यको आआफ्नो महत्त्व रहने भएको भए पनि मानवजातिको जीवनलाई समृद्ध, न्यायिक, सम्मानपूर्ण र समानताको उचाइमा उठाउनका लागि सही दार्शनिक विचारधारा वा चिन्तनको प्रक्रियालाई अपनाएर विभिन्न युगमा सङ्घर्षरत भएका साहित्य नै सर्वश्रेष्ठ हुन् ।

    साहित्यको श्रेष्ठतालाई भाषा र शैलीले नभएर चिन्तन र उद्देश्यले निर्धारण गर्दछ । निश्चय नै भाषा र शैली चिन्तनलाई सौन्दर्यात्मक बनाउने साधनका रूपमा रहेका हुन्छन् । त्यसैले साहित्यमा चिन्तन र कलाको उपयुक्त संयोजन हुन आवश्यक छ । जनसाहित्यमा यो विषयलाई धेरै नै ख्याल गरिनुपर्दछ, जसमा साहित्यको सौन्दर्य र विचारको पक्षलाई उज्जर बनाइएको होस् । मानवजातिको सुख, समृद्धि, न्याय र समानताको महान् उद्देश्यले भरिपूर्ण साहित्य जनता र मानवजातिको आफ्नो साहित्य हुन्छ । प्रकारान्तरले समकालीन जनताले आफ्नो साहित्यलाई बुझे पनि\नबुझे पनि जनताको निम्ति लेखिएको साहित्य जनताको नै साहित्य हुन्छ । जनताको साहित्यले स्वतः श्रेष्ठता हासिल गरेको हुन्छ ।

    जनसाहित्यले जनताको विगत, वर्तमान र भविष्यको लेखाजोखा गर्ने मात्र होइन, जनताको आकाङ्क्षा, सपना र उद्देश्यसम्बन्धी योजना पनि दिने भएकाले त्यसले पुरानो राजनीतिक व्यवस्थाको पतन र नयाँ राजनीतिक व्यवस्थाको उदयको आधार पनि प्रदान गर्दछ । प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक प्रक्रियामा अनिवार्य रूपमा जनताको सहभागिता रहने हुँदा जनसाहित्यको प्रभावले सामाजिक परिवर्तनको जागरण आउँछ । त्यसैले आन्दोलन, क्रान्ति वा महान् सामाजिक परिवर्तनका घटनासित साहित्यको सम्बन्ध अटुट हुन्छ । विश्वमा भएका सबै प्रकारका परिवर्तनका लागि जनजागरण ल्याउन साहित्य, गीत, सङ्गीत आदिले महत्त्वपूर्ण भूमिका खेलेका छन् । त्यसरी जागरण ल्याएर सामाजिक सुधारदेखि युगिन परिवर्तनसमेत गर्ने साहित्यका विभिन्न युगमा जनसाहित्यको स्थान लिएर प्रकट भएका छन् । अहिलेसम्मका सबै सामाजिक परिवर्तनमा साहित्यको महत्त्वपूर्ण उपस्थिति रहेको छ । वर्तमान जीवनमा त्यसको महत्त्व त छँदै छ, भविष्य निर्माणका लागि पनि त्यसको अर्थपूर्ण औचित्य र महत्त्व निरन्तर रहन्छ ।

    ३. साहित्यमा युगिन प्रवृत्तिगत प्रभाव

    प्रत्येक साहित्यमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक व्यवस्थाका प्रवृत्ति अन्तरघुलित भएका हुन्छन् । पूर्वीय साहित्यमा वैदिककालीन कवि उषणादेखि लिएर साहित्यिक चिन्तक तथा स्रष्टा भामह, भारवी, माघ, भरतमुनि, वाल्मिकी, कालिदासलगायत र पश्चिमा साहित्य जगतका होमर, लन्जाइनस, होरेस, प्लेटो, अरस्तुलगायतले विश्व जगत्लाई विशाल साहित्यिक ब्रह्माण्डको यात्रा गराएदेखि नै साहित्यमा युगका प्रवृत्ति देखिँदै आएका छन् ।

    साम्यवादी सिद्धान्तका महान् दार्शनिकमध्येका एक फ्रेडरिक एङ्गेल्सले होमरका कवितामा प्राचीन युनानी समाजको प्रतिबिम्ब रहेको कुरा उल्लेख गरेका छन् । आफ्नो महान कृति ‘परिवार, निजी सम्पत्ति तथा राज्यको उत्पत्ति’ मा उल्लेख गरेका छन्– “होमरका कवितामा विशेषतः इलियड (होमरको महान् साहित्यिक कृति/महाकाव्य) मा हामी बर्बर युगको उन्नत चरणको पूर्ण विकास भएको पाउँछौँ” (पृ. ३३) । यसरी स्पष्ट छ कि कुनै पनि साहित्यमा तत्कालीन समाजको सामाजिक परिवेशको प्रवृत्ति केही मात्रामा भए पनि उपलब्ध भएका हुन्छन् । त्यसैले साहित्य इतिहास, परम्परा आदिको एउटा साक्ष्यको रूपमा पनि रहेको हुन्छ । मानवजातिका लागि यो धेरै महत्त्वपूर्ण उपलब्धि हो ।
    मानवजातिले गरेका क्रियाकलाप, अनुभव, अनुभूति, कल्पना, विकास आदिको सेरोफेरोमा नै साहित्यिक अभिव्यक्ति हुने हुँदा हरेक सामाजिक व्यवस्थाले बोकेको राजनीतिक चरित्र, आर्थिक प्रणाली र सांस्कृतिक विशेषता साहित्यमा मिसिएका हुन्छन् भन्नेमा विमति छैन । संस्कृतिको इतिहासका धेरै वा थोरै अंश साहित्यमा रहेका हुन्छन् ।

    माथि उल्लेख गरिसकिएको छ कि साहित्यको आआफ्नो युग हुन्छ । यसको अर्को अर्थ पनि हो– हरेक साहित्यमा उसको युग जीवन्त भएर आएको हुन्छ । जस्तै कि हामीले पूर्वीय साहित्यिक परम्पराबारे विचार गरौँ ।

    वैदिक कालीन साहित्यमा एक प्रकारको सामाजिक व्यवस्था र संस्कृतिको इतिहास पाइन्छ भने उपनिषद् कालीन साहित्यमा अर्को प्रकारको सामाजिक व्यवस्था र संस्कृतिको इतिहास तथा प्रवृत्ति पाइन्छ । रामायण र महाभारतमा पनि हामीले तत्कालीन सामाजिक, आर्थिक व्यवस्था तथा सांस्कृतिक परम्पराको प्रमाण भेट्छौँ ।

    प्लेटो, अरस्तु कालीन समयमा मानव कल्याणको विषयमा महान् दार्शनिक, राजनीतिक तथा सामाजिक मूल्य अगाडि सारिएको थियो । त्यस बेलाका दर्शन समृद्ध अवश्य पनि थिए, तर पूर्ण थिएनन् । सामान्यतः कुनै पनि विचारधारा र दर्शन अपूर्ण नै हुन्छन् । चेतना विकासको सिलसिलामा तिनीहरूमा समृद्धि थपिँदै जान्छ वा नयाँ नयाँ दार्शनिक मान्यता अगाडि आउँछन् ।

    साहित्यमा दर्शन र विचारधारा अवश्य पनि हुन्छन्, तर त्यसका साथै साहित्यमा अर्को महत्त्वपूर्ण विशेषता हुन्छ, त्यो कला हो । कलाले समृद्ध हुने हुनाले साहित्यभित्र अन्तर्निहित प्रवृत्तिलाई बुझ्न सहज र रोचकपूर्ण हुन्छ ।

    पश्चिमा सभ्यतामा ईसाको चौथो शताब्दीदेखि चौधौँ शताब्दीसम्म अर्थात् एक हजार वर्षभन्दा बढी समयसम्म पोपले एकछत्र शासन गरेको थियो । त्यो युग बौद्धिक तथा वस्तुगत विचारधाराका लागि एक अन्धकार युग थियो । त्यसैले त्यो युगमा कानुनी राज्य र मानव अधिकार, स्वतन्त्रता र न्यायका विषयमा साहित्य लेखिन सकेनन्; किनभने, अन्धकार युगले ती सम्पूर्ण स्वतन्त्रता वा प्रगतिमाथि प्रतिबन्ध गरेको थियो । तैपनि त्यो कालमा त्यो युगको प्रवृत्ति झल्किने गरी दातेको साहित्य अगाडि आयो । उनको त्यो साहित्य प्रतिकूल परिस्थितिको बिचमा जुधेर अगाडि आएको थियो । त्यस प्रकारको अन्धकार युगमा त्यस साहित्यले पश्चिमा जगत्मा पुनर्जागरणको आन्दोलनका लागि आधार तयार पार्नमा महत्त्वपूर्ण योगदान दियो ।

    पुनर्जागरणको आन्दोलनले पोपको शासनको अन्त्यलाई नजिक ल्यायो र कानुनी राज्यको अवधारणालाई जन्म दियो । त्यसरी दातेको साहित्य एउटा महान् क्रान्तिकारी कार्य पनि थियो । पोपको सत्ता अन्त भएपछि युरोपमा आएको पुनर्जागरणको आन्दोलनले समाज, उत्पादन प्रणाली र मानव क्रियाकलापबारे विचार गर्ने तरिकामा ठुलो अन्तर ल्यायो । त्यसरी तिलस्मी साहित्यको स्थानमा वस्तुगत साहित्यले स्थान लिन थाल्यो । साहित्य र कलामा समाजको चित्र बढी प्रतिबिम्बित हुन थाल्यो । विभिन्न दार्शनिक, चिन्तक, लेखक, साहित्यकार आदिले मानव कल्याणको उपायलाई अबलम्बन गरेर आफ्ना विचार अगाडि सारे । त्यसरी वस्तुस्थिति, परिवेश र कालबाट साहित्यिक सृजना अलग हुन नसक्ने मान्यता पनि स्थापित हुँदै गए । त्यो मूल्यमाथि आधारित भएर पूर्वी र पश्चिमा सभ्यताको कसीमा कैयौँ प्रतिभाले साहित्यमा योगदान दिए । ती सबैमा तत्कालीन सामाजिक व्यवस्थाका प्रवृत्ति मिसिएका थिए । त्यसैले कुनै साहित्यले सामाजिक व्यवस्थाप्रति समर्थन जनाएका थिए भने कुनै साहित्यले विरोध गरेका थिए । यही समर्थन र विरोध नै साहित्यमा देखिएको वर्गीयता थियो । त्यो एउटा वर्गसङ्घर्ष पनि थियो ।
    संस्कृतिको इतिहासलाई माक्र्स–एङ्गेल्सले भौतिकवादी दृष्टिकोणबाट विचार गरे । त्यसरी सामाजिक अस्तित्व र सामाजिक चेतनाको पक्षमाथि विचार गरेर मानव समाज सङ्घर्ष र वर्गसङ्घर्षको परिणाम भएको निष्कर्ष अगाडि आयो ।

    कुनै पनि साहित्यको लागि सामाजिक अस्तित्व र सामाजिक चेतनाको आधारभूमि अभिन्न रूपमा जोडिएर आउँछन् । माक्र्स–एङ्गेल्सले साहित्य र कलासम्बन्धी दिएका विचारमा पौराणिक, प्राचीन तथा समकालीन साहित्य सृजनाको अध्ययन र विश्लेषणको ठोस निष्कर्ष पाइन्छ । साहित्यको समाजमा कसरी परिवर्तन ल्याउँछ र त्यसले कसरी सामाजिक जीवनमा प्रभाव पार्दछ भन्ने कुरालाई उनीहरूले आफ्नो साहित्यसम्बन्धी धारणामा व्यक्त गरेका छन् । त्यसरी उनीहरूले त्यससम्बन्धी विचार गर्ने बेलामा उत्पादन प्रणालीको प्रवृत्तिलाई केन्द्रमा राखेर सङ्घर्षको पक्षसम्बन्धी द्वन्द्वात्मक अध्ययन गरेका छन् । त्यो अध्ययनमा मानवश्रमको भूमिकालाई सर्वोपरि ठानिएको छ ।

    मानवश्रम उत्पादन, सृजना र विकासको सबैभन्दा ठुलो साधन हो । त्यसैैले उत्पादन प्रणालीको पक्षबाट सामाजिक विश्लेषण गर्दा ऐतिहासिक भौतिकवादी दार्शनिक विचारधाराको उदय भयो । यो नयाँ युगको सामाजिक विज्ञान थियो, जसलाई सामाजिक वर्गहरूमध्ये सर्वोपरि क्रान्तिकारी वर्गले आफ्नो सामाजिक शास्त्रको रूपमा आत्मसात् गर्न पुग्यो र ठुला र युगान्तकारी परिवर्तनका लागि क्रान्ति गर्नका लागि बाटो खुल्यो । त्यही धरातलमा साहित्यको यथार्थता पनि माझिँदै गएको पाइन्छ । यस प्रकार साहित्यमा आदर्शवाद, यथास्थितिवाद, क्रान्तिवाद, यथार्थवाद, बिम्बवाद, रहस्यवाद आदि विभिन्न प्रवृत्ति अस्तित्वमा आएका थिए । विभिन्न परिवेश, देश र कालको साहित्यमा प्रवृत्तिगत प्रभाव पर्नुले यस्ता साहित्यिक प्रवृत्ति र धारा पैदा भएको कुरा बुझ्न गाह्रो पर्दैन ।

    ४. अक्टोबर क्रान्ति : ऐतिहासिक घटना

    अक्टोबर क्रान्ति माक्र्सवादलाई सबैभन्दा पहिले कार्यान्वयनमा ल्याउने एक महानतम घटना थियो । यो क्रान्ति बिसौँ शताब्दीको सबैभन्दा ठुलो र फरक क्रान्ति थियो । सर्वहारा वर्गको शक्ति र क्षमताको वास्तविकतालाई यसले साक्षात्कार गराएको थियो । यो क्रान्तिले पुँजीवादलाई मरणशील युगको रूपमा र मिहिनेतकस जनताको शक्तिलाई उदीयमान युगको प्रतिनिधित्व गर्ने सर्वशक्तिशाली र प्रगतिशील शक्तिको रूपमा पुष्टि गरिदिएको थियो । सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक पक्षलाई एकैसाथ परिवर्तन गराएर शोषितवर्गलाई शासकवर्गको रूपमा उठाएकाले अक्टोबर क्रान्ति सर्वहारा वर्गका लागि ऐतिहासिक घटना मात्र नभएर वर्तमान सङ्घर्षको आधार र भविष्यको आशा र विश्वासको घटनासमेत हो । यसरी सर्वहारा वर्गको हातमा राजनीतिक सत्ता तथा सामाजिक प्रभाव, नयाँ आर्थिक प्रणाली र नयाँ सांस्कृतिक पद्धति र परम्परामा विश्व समुदायलाई दिशा–निर्देशन गर्ने प्रभावकारी शक्ति भएकाले अक्टोबर क्रान्ति इतिहासको घटना भए पनि विश्वमा ऐतिहासिक, अविस्मरणीय, स्थायी र अमर रहेको छ ।

    ५. अक्टोबर क्रान्तिपछिको विश्व साहित्यको प्रवृत्ति र प्रभाव

    हुन त माक्र्स–एङ्गेल्सले पनि साहित्यको वर्गीय चरित्रका विषयमा धेरै प्रसङ्ग उल्लेख गरेका छन् । तर त्यो कुरा सीमित थियो । विश्व कम्युनिस्ट आन्दोलनको विकासको क्रम, पूर्वाेत्तर तथा समकालीन साहित्यिक लेखन तथा योगदानको अध्ययन, मानव समाजको विकासक्रम, सामाजिक परम्परा, संस्कृति, इतिहास आदिका साथै तत्कालीन सामाजिक व्यवस्थाको राजनीतिक, सामाजिक एवम् सांस्कृतिक अवस्था अध्ययनको निष्कर्षको रूपमा माक्र्स–एङ्गेल्सले साहित्य र कलाको बारेमा आफ्ना दृष्टिकोण दिएका छन् । समकालीन सामाजिक व्यवस्थाको जगमाथि खडा भएका पक्षविपक्षका साहित्य र साहित्यिक विचारधारा अध्ययनको आधारमा निष्कर्षसित बढी मात्रामा सम्बन्धित थिए । तर प्रभावकारिताको हिसाबले साहित्यमा माक्र्सवादी दृष्टिकोणको प्रभावकारिता अक्टोबर क्रान्तिअगाडिको साहित्यमा त्यति धेरै रहेको थिएन भन्ने कुरा स्पष्ट हुन्छ ।

    अक्टोबर क्रान्तिले विश्व मानवजातिको सोच्ने तरिकामा परिवर्तन ल्याएको थियो । पुँजीवादी वर्ग, जो तात्कालीन रूपमा शासकको रूपमा रहेको थियो; र, त्यो वर्गले सायद सोचेको थिएन कि मजदुर वर्ग शासकवर्ग बन्दछ । वास्तवमा यो कुरा माक्र्सवादले पहिले नै उल्लेख गरिसकेको थियो । सन् १८४८ मा जारी गरिएको कम्युनिस्ट घोषणापत्रमा यो कुरा उल्लेख भइसकेको थियो । तर त्यो व्यवहारमा पुष्टि भइसकेको थिएन । अक्टोबर क्रान्तिले माक्र्सवादी विज्ञानको महानतम् विचारलाई कार्यान्वयनमा ल्याउनुका साथै कम्युनिस्ट घोषणापत्रमा उल्लेख भएको मजदुर वर्गको सत्ताको विषयलाई व्यवहारमा नै पुष्टि गरिदियो ।

    अक्टोबर क्रान्तिले राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा आमूल परिवर्तन ल्याएको थियो । बहुसङ्ख्यक विश्व मानव समुदायको पक्षबाट न्याय, समानता र जनवादको पैरवी गर्दै मजदुर वर्गको शक्तिलाई स्थापित गर्ने इतिहासमा पहिले कहिल्यै नभएको घटना अक्टोबर क्रान्तिले बोकेर ल्याएको थियो । मूल रूपमा यो नयाँ राजनीतिक व्यवस्था थियो र सर्वहारा वर्ग सत्ताधारी थियो । यो न्यायपूर्ण राजनीतिक व्यवस्था र उत्पादनका साधनमाथि सामूहिक स्वामित्वको अर्थपूर्ण लक्ष्य बोकेको नयाँ युगको विजय पनि थियो । त्यसैले यसका सम्पूर्ण कुरा नयाँ थिए र नयाँ रूपमा विकसित हुने कुरा पनि निश्चित थियो । त्यसरी साहित्य पनि यसको प्रभावबाट अलग हुन सक्दैनथ्यो ।
    क्रान्तिपछि सोभियत सत्ता स्थापना भयो । त्यसको मालिक सर्वहारा वर्ग भयो । यो स्पष्ट छ कि हरेक राजनीतिक व्यवस्थाले आफ्नोअनुकूलको संस्कार र संस्कृतिको जन्म दिन्छ । सोभियत सत्ताले पनि त्यो दियो । तर एउटा कुराको अन्तर थियो : सोभियत सत्ताको आधारमाथि फस्टाएको संस्कार र संस्कृतिले बहुसङ्ख्यक मिहिनेतकस जनताको भावनाको नेतृत्व गर्दथ्यो; र, उनीहरूलाई दिशा–निर्देशित गर्दथ्यो । त्यसरी बहुसङ्ख्यक जनताको अन्तर्राष्ट्रियतावाद, एकता, वर्गीय सम्बन्धको घनिष्टतालाई अक्टोबर क्रान्तिले स्थापना गरेको मूल्य पुष्टि गर्दथ्यो । त्यसैले विश्वव्यापी रूपमा अक्टोबर क्रान्तिको दार्शनिक, सैद्धान्तिक एवम् व्यावहारिक प्रभाव व्यापक रूपले पर्न गयो । त्यो मजदुर वर्गको मुक्ति र आवाजको साहित्यिक धुन बन्न गयो । त्यसैले विश्वव्यापी रूपमा क्रान्तिकारी जनताको मनमस्तिकमा अक्टोबर क्रान्तिको प्रभाव पर्न गयो ।

    अक्टोबर क्रान्तिपछि साहित्य र कलामा वर्गीयता रहने कुरा स्पष्ट हुन गयो । वर्गीय सामाजिक व्यवस्था अस्तित्वमा रहँदासम्म साहित्य र कलामा पनि वर्गीयता हुन्छ भन्ने कुराको प्रयोगात्मक पुष्टि अक्टोबर क्रान्तिपछि भएको थियो । जब मुक्तिकामी जनसमुदाय र शोषकवर्गका बिचमा विश्वव्यापी रूपमा सङ्घर्ष भए; र, त्यो बेला साहित्यमा जनताको पक्षमा बोल्ने र शोषकवर्गको पक्षबाट बोल्ने कलम आपसमा टकराए । अनि, प्रमाणित भयो कि साहित्यमा वर्गीयता हुन्छ भन्ने बहस अगाडि आयो ।

    अक्टोबर क्रान्तिले स्थापना गरेको मूल्यमाथि आधारित राजनीतिक व्यवस्था, आर्थिक प्रणाली र सांस्कृतिक परम्पराबारे साहित्यिक चिन्तन हुन थाले । मजदुर वर्गको इस्पातिलो चरित्र, सङ्गठित जीवन, अनुशासित कार्यशैली, सामूहिक भावनाको बिचबाट उठेको सोभियत सत्ताले अक्टोबर क्रान्तिको वास्तविकतालाई एउटा नयाँ विश्व र त्यो विश्वभित्रका प्रसन्न मानवको तस्बिर बनाएर उभ्याइदियो । अक्टोबर क्रान्तिको वास्तविकता समानता, न्याय, तथा कर्तव्यले भरिएको मानचित्र हो भन्ने कुरा प्रमाणित भयो; किनभने, अक्टोबर क्रान्तिका पात्रहरू संसारका सबै मानिसभन्दा बढी मिहिनेती, फुर्तिला र उज्जर चरित्रका रहन पुगे । उनीहरूले आफ्नो क्रान्तिको गीतमा मानवजातिको समृद्धिको गाथा गाउने काम गरे । उनीहरूको त्यो सामाजिक व्यवस्थाबाट सम्पूर्ण विश्व आश्चर्यचकित भयो र उनीहरूका चित्र कोर्ने साहित्यको चरणमा आइपुग्यो । त्यो चित्र नै साहित्यमा जबरजस्त खडा भएको नयाँ प्रवृत्ति थियो, जो समाजवादी साहित्यिक प्रवृत्तिले विख्यात भयो । हामीले उच्चारण गरिरहेको ‘प्रगतिवाद’ त्यही समाजवादी साहित्य नै थियो ।

    सन् १९३५ मा पेरिस सम्मेलनले प्रगतिवाद र प्रगतिशीलको परिभाषा ग¥यो । प्रगतिवाद समाजवादी साहित्य थियो, जो प्रगतिशील त थियो नै, तर समाजवादी थियो । त्यसैले त्यसले मजदुर वर्गको हितको प्रश्नलाई आफ्नो आस्था मान्दथ्यो, तर प्रगतिशील त्यो उचाइमा थिएन, त्यस्तो हुने अधिकार अरू कैयौँ प्रवृत्तिलाई पनि थियो । आज उत्तराधुनिकवाद, महिलावाद, अराजकतावाद, नवमाक्र्सवादजस्ता कतिपय साहित्यिक प्रवृत्ति छन्, तिनीहरू प्रगतिवादबाट विचलित भएका धारा हुन् । तिनीहरूले क्रान्तिकारी चरित्र बोक्ने गरेता पनि समाजवादी मूल्यलाई बोक्न सक्दैनन् । तर तिनीहरूलाई अस्तित्वमा आउने आधार प्रगतिवादबाट प्राप्त भएको हो भने तिनीहरूको अन्त्य पनि प्रगतिवादबाट पतन हुँदा नै हुन्छ ।

    युरोपमा अक्टोबर क्रान्तिपछि ठुला ठुला हलचल आए । सोभियत सत्ताप्रति पूर्वाग्रहले धर्मराएको पुँजीवादका किल्लामा समाजवादी साहित्यको कोपिला फक्रिन थाल्यो । तेश्रो विश्वका देशमा क्रान्तिप्रतिको विश्वासले मानवशक्ति आन्दोलित छ । साहित्य रचनामा प्रगतिशील र प्रगतिवाद चम्किने युग आयो, क्रान्तिका नयाँ श्लोक रचित हुन पुग्यो । त्यसले विश्व साहित्यलाई क्रान्तिको गीतगुञ्जनसहित रङ्गमञ्चमा नचाइदियो । त्यसपछि युरोप, ल्याटिन अमेरिका, एसियामा क्रान्तिका उभार आए । साहित्यको चरित्र बदलियो र किसान–मजदुरको पक्षमा लेखिन थाल्यो । आज हामीले भारत, नेपाल, चीन, बङ्गलादेश आदि मुलुकमा प्रगतिवादी साहित्यको जुन शक्ति देख्दछौँ, त्यो अक्टोबर क्रान्तिले स्थापना गरेको मूल्यको परम्परामाथि आधारित छ ।

    अब विश्व साहित्य अक्टोबर क्रान्तिको प्रभावबाट कहिल्यै पनि अलग हुन सक्ने स्थिति छैन । मानवजातिको न्याय र समानताका लागि समर्पित भएर मानवजातिले आफ्नो यात्रा कायम राखिरहन्छ । यो ऐतिहासिक नियम हो, जसलाई अक्टोबर क्रान्तिले पहिले नै पुष्टि गरिसकेको छ । आफ्नो मुक्तिका लागि काम गर्ने मानव समुदायले अक्टोबर क्रान्तिका मूल्यलाई आत्मसात गर्नैपर्ने हुन्छ र त्यो मूल्यमा एउटा सुन्दर भविष्यको आकृति देख्ने साहित्यले मजदुर वर्गको गाथा गाउनैपर्दछ । यसरी विश्व साहित्य अक्टोबर क्रान्तिबाट प्रभावित छ भन्ने कुरा बुझ्न गाह्रो पर्दैन । विचार, उद्येश्य, इच्छा, आकाङ्क्षाको युगमा प्रवेश गर्ने अनवरत यात्रामा समेटिएको अक्टोबर क्रान्तिको प्रभाव विश्वव्यापी भइसकेको छ । कुनैनकुनै रूपमा त्यो क्रान्तिको रूपमा, आन्दोलनको रूपमा वा विभिन्न सङ्घर्षको रूपमा जीवन्त छ । पुँजीवाद त्यो साहित्यबाट सधैँ विचलित छ । अक्टोबर क्रान्तिले प्रदान गरेको शक्तिका कारणले त्यो समृद्ध र प्रभावकारी रहँदै आएको छ । अक्टोबर क्रान्तिको स्मरणबाट यो विश्व कहिल्यै पनि ओझेलमा पर्न सक्दैन ।

    (अक्टोबर क्रान्तिको स्मरणमा अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) द्वारा २०७७ कार्तिक २२ (नोभेम्बर ७) गते आयोजित अन्तक्र्रिया कार्यक्रममा प्रस्तुत अवधारणा पत्र)

    शनिबार, कार्तिक २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.