काठमाडौं । नेपालको तीन दिने औपचारिक भ्रमण सकेर भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे शुक्रबार अपरान्ह स्वदेश फर्किएका छन् । नरवणे अपरान्ह ४ः४५ बजे उनी इन्डिया एयरफोर्सको विशेष विमान स्वदेश फर्किएका हुन् ।
नेपाल र भारतबीच एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने चलनअनुसार उनी सम्मान ग्रहणका लागि बुधबार नेपाल आएका थिए । नेपाली सेनाको १८औँ मानार्थ महारथी बनेर स्थल सेनाध्यक्ष नरवणे स्वदेश फर्किएका हुन् ।
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा श्रीमती विनासहित बुधबार उनी नेपाल आएका थिए । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी थिइन् ।
बुधबार प्रधानसेनापति थापा र राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका उनी साँझ प्रधानसेनापतिले गरेको रात्रिभोजमा सहभागी भए।
शुक्रबार स्वदेश फर्किनुअघि रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । शुक्रबार माउण्टेन फ्लाइटमार्फत सगरमाथासहित हिमालको अवलोकन गरेका नरवणेले काठमाडौं आएकै दिन पशुपति र कुमारी देवीको दर्शन गरेका थिए।