मेक्सिको सिटी । ग्वाटेमालामा आएको इटा नामको सामुद्रिक आँधीबाट मृत्यु हुनेको सङ्ख्या ५० नाघेको छ ।
ग्वाटेमालाका राष्ट्रपति अलेक्जान्ड्रो जियामाटीले सो जानकारी दिँदै प्रकोपग्रस्त क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको बताएका छन् ।
उनले बिहीबार अबेर आयोजना गरेको पत्रकार सम्मेलनमा भने– “दुर्भाग्यवश, आजै चार जनाको मृत्यु भएको छ; र, मृत्यु हुने व्यक्तिको सङ्ख्या ५० पुगेको छ ।”
राष्ट्रपति जियामाटीले आँधी प्रभावित क्षेत्रबाट अझै एक हजार ५०० भन्दा बढी व्यक्तिलाई तत्काल उद्धार गर्नुपर्ने अवस्था रहेको जनाउँदै तर यी क्षेत्रमा नदीको बहाव र सतह बढेकाले उद्धारमा कठिनाइ भइरहेकोसमेत जानकारी दिए ।
जलवायु प्रक्षेपणहरूले ग्वाटेमालामा आगामी ४८ घण्टाभित्र भारी वर्षा हुने अनुमान व्यक्त गरेका छन् । देशका नौ वटा सरकारी निकायहरूले यसअघि नै आपतकाल घोषणा गरिसकेका छन् ।
इटा नामको सामुद्रिक आँधी हाल होन्डुरसतर्फ अघि बढ्दै क्यारेबियन क्षेत्रतर्फ लागेको एजेन्सीहरूले दावी गरेका छन् ।