काठमाडौं । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाइपास गर्दै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् । विवाद उत्कर्षमा पुगेको बेला दाहालले एकल रुपमा धुम्बाराही पार्टी कार्यालयमा सचिवालय बैठक बोलाएका हुन् ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पछिल्लो समय पार्टीमा देखिएका समस्या समाधानका विषयमा छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएका हुन् । बैठकका लागि सचिवालयका सबै सदस्यलाई खबर गरिए पनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने बालुवाटार स्रोतले बतायो ।
बिहीबार मात्रै दुई अध्यक्षबीच भेटवार्ता भएको थियो । तर, उक्त भेटवार्ता सकारात्मक हुन सकेको थिएन । अध्यक्ष दाहालले बैठक बोलाएर सबै समस्याको छलफल त्यहीँ गर्न अडान राखेका थिए । अर्का अध्यक्ष ओली भने बैठक अघि दुई अध्यक्षबीच समझदारी भएपछि मात्रै बैठक बोलाउने अडानमा छन् ।
कर्णालीमा देखिएको विवाद, प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखलाई भेटेको लगायतका विषयले नेकपामा तनाव बढ्दै गएको छ । पछिल्लो समय नेताहरुले एक अर्काविरुद्ध खुला रुपमै पार्टी फुटाउन खोजेको आरोप लगाउँदै आएका छन् ।