रामबहादुर बुढा ।।
लकडाउनको निरन्तरता
२०७६ चैत्र ११ बाट नेपालमा लकडाउन सुरु भएको थियो । सरकारले पटक–पटक लकडाउन अवधि थप्दै गयो । असार २६ गते सरकारले लकडाउन खुकुलो पार्ने भन्यो । जोर बार जोर नम्बरको र बिजोर बार बिजोर नम्बरको गाडी चलाउने गरी जोरबिजोर प्रणालीबाट यात्रुवाहक यातायात चलाउने, दुई सिटमा एक जना बस्ने, डबल भाडा तिर्ने र गाडीमा रहँदा सेनिटाइजर प्रयोग गर्ने गरी स्थानीय स्तरका छोटो दुरीका गाडी चलाउने, आलोपालो गरी पसल सुचारु गर्ने भन्यो ।
२०७७ साउन ६ गते लकडाउन अवधि समाप्त भएको घोषणा गरियो । तर जिल्लास्तरमा लगाइएका लकडाउन जारी थिए । कोरोना सङ्क्रमण बढिरहेको भनेर सरकारले काठमाडौँ उपत्यकामा भाद्र ४ गतेबाट निषेधाज्ञाको नामबाट दोस्रो लकडाउन सुरु गरेको थियो । लकडाउन खुकुलो बनाउँदै लगे पनि भाद्र महिनाभरि लकडाउन रह्यो । लकडाउन समाप्त भए पनि लकडाउनमा पालना गर्नुपर्ने कैयौँ नियम कोरोना सङ्क्रमणको खतराले गर्दा पालना गर्नुपर्ने बाध्यता कायमै छन् । त्यसकारण यो लेखको शीर्षक ‘तीन महिनाको लकडाउन अनुभव–२’ राख्नु अन्यथा नहोला भन्ने लाग्छ ।
लकडाउन अनुभव–१ (२०७६ चैत्र ११–२०७७ असार ११) मै समेटिनुपर्ने तर त्यसमा छुटेको एउटा अनुभव यहाँ जोड्न चाहान्छु ।
काम विशेषले २०७६ चैत्र २९ गते म राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय कपन पुग्ने गरी ज्ञानेश्वरबाट एकाबिहानै हिँडे । कालोपुलमै प्रहरीले रोक्ला कि भन्ने लागेको थियो । हुन त त्यहाँ प्रहरीहरू बाटोमा हिड्ने मानिसलाई कहाँ हिडेको, किन हिँडेको, लकडाउन भन्ने थाह छैन ? छिटै मर्ने मन छ कि के हो आदिइत्यादि भनेर तर्साइरहेका थिए । तैपनि म कसोकसो प्रहरी अवरोध छिचोलेर अगाडि बढेँ ।
धोबीखोलाको कुलकुल आवाज सुन्दै खोलाको किनारैकिनार हिँडिरहेँ । फाट्टफुट्ट मर्निङ वाकमा निस्किएका मानिस भेटिन्थे । बजार सुनसान थियो । चाबहिल ओम हस्पिटलनजिकै पुगेका बेला माथितिरबाट प्रहरीको एउटा भ्यान आयो । हाइट हुइट गर्दै छोप छोप भन्दै भ्यान रोकेर टाढा टाढाबाट घेरे । म अवाक् भए । हैन छोप्ने नै भए कि क्या हो भन्ने लाग्यो । जहाँको तहीँ उभिन भने । वरपर हल्लिँदा पनि गाली गर्दै चुपचाप खडा हुन भने । मर्निङ वाकमा हिँडेका पनि त्यसरी नै सडकमा ठड्याइए । औषधि खोज्न हिडेका बुढाबुढी पनि प्रहरी घेरामा परे । धोबीखोला किनारमा हिड्ने झण्डै १९ जना समाइए । भ्यानमा अट्नु सम्भव थिएन । लाइन लगाएर प्रहरीले भेडाबाख्रा खेदे झैँ सुकेधारा चौकीमा पुर्यायो । तीमध्ये पनि एकदुई जना पिसाब फेर्छु भन्ने बहानामा टाप कसे ।
सुकेधारा पुर्याएर सडकमा उभ्याइयो । यताउतिबाट जम्मा गरिएका ३४ जनालाई ठड्याइएको थियो । औषधि खाने बेला भयो भनेर केही छुटे । प्रहरीले काम देखाउन पनि होला । लकडाउनमा हिँडे पक्राउ परिन्छ भन्ने सन्देश जाओस् भनेर चुपचाप उभिइयो, तीन घण्टा सुकेधारा प्रहरी चौकीअगाडि सडकमा ।
भारतमा भौतिक दुरी कायम राख्न पसलको अगाडि गोलो रेखा बनाएर ग्राहकलाई त्यहाँ उभ्याएको देखियो । त्यो भारतको मौलिक ज्ञान हो वा अरू कसैको नक्कल गरेको हो ? थाह भएन, तर नेपालमा त्यसलाई पछ्याउने काम भयो । नेपाल प्रहरीले घापे सिस्टमको विकास गर्यो । नेपालको पहाडी गाउँमा आटो वा ढिडो ओडाल्दा वा मस्काउँदा भाडोलाई समाएर राख्न प्रयोग गरिने सामग्रीलाई घापे भनिन्छ । त्यसलाई कतै घ्याप्ले भन्ने गरिन्छ । बाटोमा लकडाउनलाई अटेरी गर्नेहरूलाई चिम्टाले सिस्नो टिपे झैँ टिपेर भ्यानमा राख्ने यो तरिका साँच्चिकै नेपालको मौलिक सृजना झैँ लाग्यो, यदि म भ्रमित छैन भने ।
मृत्युको भय
मृत्युसित मानिस डराउँछ; र, डराउँदैन पनि । दुवै चिज हरेक मानिसमा हुन्छ । यत्ति हो कि कसैमा एउटा पक्ष बढी हुन सक्छ भने कसैमा अर्काे पक्ष बढी हुन सक्छ । यसपालिको कोरोना सङ्कट र लकडाउनका बेला मानिसमा अन्तरनिहित डराउने र नडराउने दुवै पक्षलाई थोरैधेरै हेर्ने मौका मिल्यो । डराउने र नडराउनेबारे हरेक मान्छेले अनुभव गरेको हुन्छ र मैले पनि सानैदेखि त्यो अनुभव गर्दै आएको छु । यो कोरोना त्रासकालमा डरबारे मलाई दुई व्यक्तिको याद आएको छ– पेरूका कम्युनिस्ट नेता अविमायल गोन्जालो र अर्को, कार्गिल युद्धमा गएका गोर्खा पल्टनका एक जना साथीको ।
डरबारे गोन्जालोले भनेका थिए कि डराउनु र नडराउनु मानिसमा अन्तरनिहित अन्तरविरोध हो । हरेक मानिसमा डराउने र नडराउने दुवै पक्ष हुन्छ । मानिस डराउँछ र डराउँदैन पनि । गोन्जालोले भने झैँ मानिस सुरु सुरुमा डरायो पनि । जब कोरोनाभन्दा भोक ठुलो बनेर आयो, मानिसहरू ‘भोक लाग्यो, खाना ले’ भन्दै सडकमा लकडाउनको उल्लङ्घन गर्दै विरोधमा उत्रिन बाध्य भए । कैयौँ पुँजीवादी मुलुकमा रोजगारी गुमेका मजदुर आन्दोलनमा आउन बाध्य भए । रोजीरोटीको खोजीमा विदेशी भूमिमा पसिना बेच्न पुगेका कामदार नेपाली मर्न परे आफ्नै माटोमा मरौँला, आफ्नै जहान–परिवारको काखमा मरौँला भनेर हुत्तिँदै नेपाल आएका थिए । दसैँतिहार आउनुभन्दा अलि पहिलेदेखि नै तिनै नेपालीहरू फेरि उधेली लागेर दक्षिणतिर तालचरीहरू माल बाधेर ओरालो लागेजस्तै भारततिर ओरालो लागेको देखियो ।
चाडपर्व आउँदै छ । केटाकेटीको ओइरापोइरा फेर्नुपर्ने, अनि इष्टमित्रसित पर्व मनाउनुपर्ने सामान्य चलन धान्ने आयउपायसमेत नभएर नेपालीहरू गुर्काे लागेर फेरि विदेश दौडिनुपर्यो । जीवन चलाउने समस्या प्रधान बनेर आएपछि मानिसले कोरोनाको डरलाई पर्वाह गर्न छाड्यो ।
कार्गिल युद्धमा गएका भारतीय गोर्खा पल्टनका लाहुरेले भन्नुभाथ्यो– ‘सुरु सुरुमा डर लाग्ने हो । लड्दै जाँदा डर हराउँछ । कोही राइफलको गोली र बमको आक्रमणले मर्न सक्छन् । यताबाट आफूले फायर गर्याे, उताबाट पाकिस्तानी फौजले फायर गर्छ । तिहारमा पटाका पड्काएजस्तो रमाइलो पनि हुन्छ । चिसोमा रम खाएको छ । दुस्मनले फायर खोल्यो भने आफूले पनि पड्काइदियो ।’
ती लाहुरे साथीले मृत्यु र डरलाई कति सजिलै लिएको देखियो । कोरोनाको भय पनि विस्तारै यस्तै हुँदै छ । थाहा छैन, कहिलेसम्म हो यस्तो स्थिति रहने ? कोरोनासित जुध्दै जीवन चलाउँदै गर्नुबाहेक अब अर्काे उपाय छैन । यसको अर्थ लापरबाही गर्ने हैन । सकभर सुरक्षाका उपाय अपनाउँदै जीवनका हरेक पक्षलाई सकृय बनाउँदै जाने बाटो नै अबको मानवजातिको बाटो हुने छ । तर त्यो कहिलेसम्म ? अगाडि भने झैँ अहिले नै समय किटान गर्न कसैले पनि सक्दैन, बढीमा अनुमान गर्ने हो ।
रहस्यमय कोरोना
कोरोना कस्तो हुन्छ ? आँखाले देख्न नसकिने सूक्ष्म जीव हो भन्छन् । कसैले अर्धजीव हो भन्छन् । सामान्य माइक्रोस्कोपले देख्न सकिन्न । उच्चस्तरको बिद्युतीय माइक्रोस्कोपबाट मात्र देख्न सकिन्छ । त्यो यति धेरै सानो हुन्छ कि मानिसको टाउकाको रौँभन्दा नौ सय गुणा सानो हुन्छ । यस्तै कुरा त्यसका जानकार भनिनेहरूबाट सुनेको हो । चित्रमा जस्तो आकृतिको कोरोनाको प्रचार गरिएको छ, हामीले त्यसैलाई विश्वास गर्ने हो; किनकि हामीले आँखाले देखेका छैनौँ ।
२०७६ फागुनमा राष्ट्रिय जनमोर्चाको सङ्गठनात्मक अभियान चलिरहेका बेला म पश्चिम नेपालको कञ्चनपुरमा थिएँ । चीनमा फैलिएको कोरोना भाइरसले विश्वव्यापी चर्चा डढेलो फैलिए झैँ फैलिएको थियो । त्यति बेला ३० डिग्री सेल्सियसभन्दा माथिको गर्मीमा कोरोना बाँच्दैन रे भन्ने सुन्नमा आएको थियो । होला त नि भन्ने लाग्यो । स्वास्थ्य केन्द्रका डाक्टरसित कुरा गर्दा अब नेपालमा कोरोनाको डर हुन्न होला; किनभने गर्मी चढ्दै छ भनियो । डाक्टरहरूले पनि हो भन्नुहुन्थ्यो– गर्मी त के गर्मीको बाजे हुर्काे छुट्ने भारतका अति गर्मी हुने शहरमा पनि डढेलो फैलिए झँै कोरोना फैलियो ।
सुरुमा रक्सी खाएपछि कोरोना लाग्दैन रे भन्ने हल्ला आयो । त्यो पनि होला त नि भनियो । कसै कसैलाई लाग्यो, पुर्खाले खाएका, बाजेले खाएका, बाबुले खाएका मैले पनि कोरोनाको निहुले खाइदिउला । तर केही दिनपछि त्यस्तो त हैन रे भन्ने हल्ला आयो । रक्सीले मानिसको इम्युनिटी पावर (रोग प्रतिरोधात्मक क्षमता) ह्रास गराउने हुँदा सेवन गर्नु हुन्न रे ! बलियो बन्न सकिने फलफूल, अन्डा, मासु खानुपर्छ रे भन्ने हल्ला आयो ।
केटाकेटी, बुढाबुढी र दीर्घरोगीलाई मात्र मार्छ रे ! जवान र बलिया मार्दैन रे भन्ने सुनियो । तर यसले जवानलाई पनि लिएर गयो । भ्याक्सिन बन्यो रे भन्ने हल्ला चल्छ । फेरि प्रमाणित भएको छैन रे भन्ने हल्ला आउँछ । अमेरिका भन्छ– चीनले जैविक हतियार बनायो । फेरि सुनिन्छ– जुन कम्पनीबाट चीनले जैविक हतियार बनायो भनेर अमेरिकाले चीनलाई आरोप लगाइरहेको छ, त्यही कम्पनीमा अमेरिकाको पनि लगानी छ भने जैविक हतियार चीनले बनायो भनेर अमेरिकाले दोष दिनु कति उचित हो भन्ने पनि सुनिन्छ ।
कोरोनाको प्रभाव फरक–फरक व्यक्तिमा फरक–फरक देखियो । एक जना व्यक्तिले चार ठाउँमा कोरोना चेक गर्दा फरक–फरक रिपोर्ट आएको पनि सुनियो । भने’सी कोरोना साँच्चिकै रहस्यमय बनेर आएको छ । तर जे भए पनि अनाबश्यक र अप्रमाणित कुरालाई पन्छाउने र सहीलाई पच्छाउने तरिका नै श्रेयस्कर हुने छ ।
अधुरो काम पूरा गर्ने अवसर
प्रकाश थापामगरले आफ्नो पुस्तक “नेपाली राज्यसत्ताको चरित्र : एक बहस” को भूमिका लेख्न मलाई आग्रह गर्नुभएको थियो । थापाजीको आग्रहलाई मैले स्वीकार गरेँ; र, काम सम्पन्न गरियो । यसबिचमा चितवनका रुद्र पौडेल सरको अनुभव पनि सङ्कलन गरिएको छ । अब त्यो पुस्तकाकारमा आउँदै छ । पुराना व्यक्तिहरूको अनुभव हाम्रो लागि मार्गदर्शन हुन सक्छ । पुराना कुराबाट सिकेर नयाँ समस्यासित जुध्दै भविष्यतर्फको बाटो खोज्ने काम मानवजातिले गर्दै आएको छ । अहिले यस धर्तीमा बाचिरहेकाहरूले पनि त्यसै गर्नुछ ।
लकडाउनमा लेख
लेख लेख्नु र इपत्रिकामा लेख पठाउने काम यस अवधिमा पनि गरियो । भारतले लिम्पियाधुरासम्म नेपालको भूभाग स्वीकार गर्ने दिन आउँछ (दैनिक अनलाइन डट कम, २०२० जुन २८), नेकपामा पदीय स्वार्थको राजनीति (समाचार दैनिक डट कम, २०२० जुलाई १०), गङ्गा पौडेलको प्रवास डायरी पढेपछि (युगदर्शन डट कम, २०२० जुलाई २०), तीन महिनाको लकडाउन अनुभव (२०७६ चैत्र ११–२०७७ असार ११), युगदर्शन डट कम, २०२० अगस्ट २६) जस्ता लेख लेखियो । लकडाउनका बेला आफ्ना तमाम समस्या रहे पनि प्रकाशनको निरन्तरता दिने विद्युतीय, प्रिन्ट र श्रव्य वा दृश्य सबै मिडिया धन्यवादका पात्र छन्; किनभने, तिनीहरूले अप्ठ्यारो बेलामा पनि आफ्नो कर्म गरिरहे ।
कोरोनाकालका गीत
कोरोनाकालमा कोरोना सम्बन्धमा नै कलाकारहरूले गीत सृजना गरे । बोमबहादुर कार्की र शिवा आलेले लोकभाकामा ‘कोरोनाले रुवायो धरधरी, संसार सारालाई’ भन्ने गीत, सुदूरपश्चिमको लोकभाकामा गाइएको ‘के छ खबर, के हुनु यही कोरोनाकै डर छ’ भन्ने गीत, पशुपति शर्माको ‘आउन सक्छ कोरोना भाइरस, सचेत होऊँ है मनमा पिर लाइरा’छ’, रेशम सापकोटा र मन्जु गुरुङको ‘के होला ए कोरोना भाइरसबाट बच्ने उपाय’ जस्ता लोकलयमा गाइएका चेतनामूलक एबम सन्देशमूलक गीतहरू समय सान्दर्भिक रहे । “मिर्मीमुनि काली थुनेको’ भाकामा ‘मरिन्छ रे कोरोना भाइरसले, साच्चै हो कि हल्ला सुनेको’ भन्ने गीतमा दोहोरी कार्यक्रमसमेत आयोजना गरिएको पाइयो । ‘मुखमा मास्क लगाऊ, हातमा सेनिटाइजर प्रयोग गर, बेलाबेलामा साबुनपानीले हात धोऊ, बाहिर सकभर ननिस्क, निस्के पनि भौतिक दुरी कायम गर’ यस्तै चेतनामूलक सन्देश दिने गीत गाइएका थिए ।
मजदुरको बिचल्ली भएको अवस्थामा ‘हम मजदुरों को गावों भेज दो सरकार, सुना पडा घरद्वार ! मजबुरीमे हम सब मजदुरी करतेँ है, घरबार छोड करके शहरमे भटकते है, कुछ तो करो सरकार’ मिठो स्वरमा गाइएको हिन्दी भाषाको एक मजदुरको गीत । सामाजिक सन्जालमा निकै भाइरल भयो । सम्भवतः धेरैलाई रुवायो ।
सलह
दशाका दश भाइ हुन्छन् । ती आए भने एकै चोटि ताँती लागेर आउँछन भन्ने नेपाली उखान छ । यसपालि त्यस्तै भयो । एकातिर, कोरोना सङ्कटले नेपालीलाई हैरान पारेको छ भने अर्काेतिर, त्यही पीडामाथि पीडा थप्न सलह आयो । असारको दोस्रो हप्ता नेपालमा दक्षिणतिरबाट सलह आयो । अफ्रिकादेखि उठेको सलह भारतमा झण्डै एक महिनापहिले प्रवेश गरिसकेको थियो । नेपालमा पनि आउँछ भन्ने हल्ला थियो । आयो सारा वनपाखा ढाक्ने गरी आयो । धुवाँ लाउने, थाली ठटाउने, बाजा बजाउने, कराउने, चिच्याउने अनेक कोसिस गरेर धपाउन किसानहरूले प्रयास गरिरहे । पानी पर्यो । मौसम अनुकूल भएन । चिसोमा कठाङ्ग्रिएर नेपाल पसेका सलहको इहलीला करिब सबैको यतै समाप्त भयो । बीचमा वर्षात भएपछि हराएको थियो । असारको ३१–३२ गतेतिर फेरि गाउँमा आयो । धन्न वर्षात भयो, नत्र सारा किसानका खेती समाप्त हुन्थ्यो । ढोरपाटनको चिसोमा कति मरे कति ? हिसाब भएन । उत्तरी प्युठानका गाउँलेले महसुस गरे– लेकमा हुने पोरेको डाला खाँदा गाईगोरुलाई विष लागे झैँ पोरे खाएसी सलह पनि मर्दाे रहेछ । विषालु झार वा डाला खाएर वा चिसोले कठाङ्ग्रिएर सलह मरेपछि सारा वनै गनाउने भयो ।
जनजाति सम्मेलनको गतिविधि
प्रत्यक्ष जम्मा भएर बैठक गर्न सम्भव भएन । एक त लकडाउनले यातायातको अभाव, दोस्रो कुरा धेरै व्यक्ति एकै ठाउँमा जम्मा हुँदा कोरोना सर्ने डर । मिल्ने हदसम्म अनलाइनबाट बैठक, अन्तरक्रिया, प्रशिक्षण गर्नु अहिलेको बाध्यता छ ।
असार १३ गते उपलब्ध केन्द्रीय सदस्यहरूसहितको अनलाइन बैठक बसेका थियौँ । असार २० गते “नेपालमा समावेशीकरण र जनजाति अधिकार” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । क्रान्तिकारी–माओवादी सम्बद्ध अखिल नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष प्रा.डा. ओम गुरुङ प्राविधिक समस्याका कारण कार्यक्रममा प्रवेश गर्न सक्नुभएन । ब्राह्मण समाजका अध्यक्ष प्रा.डा. नारायण अधिकारी ढिलो मात्र सम्पर्कमा आउनुभयो, कुरा राख्न पाउनुभएन । त्यसबाहेक राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी, नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध नेपाल आदिवासी जनजाति सङ्घका संयोजक सुरेश आलेमगर, नेपाली काङ्ग्रेस केन्द्रीय नीति प्रशिक्षण प्रतिष्ठानका सदस्य छन्दबहादुर पहराई, क्षेत्री समाज नेपालका अध्यक्ष प्रा.डा. दिलबहादुर क्षेत्रीले आफ्ना भनाइ राख्नुभयो । विभिन्न सहभागीले पनि विचार वा टिप्पणी प्रकट गर्नुभएको थियो । ती सबैलाई अहिले पनि फेसबुक वालमा हेर्न सकिन्छ र वक्ताहरूको भनाईलाइ जम्मा गरिएको छ । जनजाति दृष्टिकोण अङ्क–४ मा प्रकाशित गर्ने योजना छ ।
साउन २ गते मुक्तकमैया दिवसको अवसरमा केन्द्रीय कार्यालय र कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लाबाट मुक्तकमैयालाई शुभकामना दिँदै वक्तव्य प्रकाशित गरिएको थियो । साउन २५ गते (९ अगस्ट) अर्थात् छब्बिसौँ विश्व आदिवासी दिवसको सन्दर्भ पारेर रूपन्देही, बाँकेलगायतका जिल्लामा उक्त दिवस मनाउने कार्यक्रम भएका थिए ।
जातीय हिंसा विरुद्ध सङ्घर्ष
२०७७ जेष्ठ १० गते रुकुम पस्चिमको चौरझारीको जातीय हिंसाको घटनालाई विरोध गर्दै लगातार सडक सङ्घर्ष चल्दै आइरहेको छ । असार १३ गते राजनीतिक दल सम्बद्ध संयुक्त दलित सङ्घर्ष समितिको प्रदर्शन थियो । त्यसमा अन्य दलको जस्तै राष्ट्रिय जनमोर्चाबाट उपस्थिति थियो । त्यो सङ्घर्ष समितिले दलित आन्दोलनलाई कसरी अगाडि बढाउने भन्नेबारे साउन ५ गते नेकपा (क्रान्तिकारी–माओवादी) को कुपन्डोलस्थित कार्यालयमा विभिन्न जनजाति सङ्गठनसित बैठक आयोजना गरेको थियो । खासगरी साउन ९ गते सुर्खेतको उच्च अदालतमा चौरजहारी काण्डको सम्बन्धमा बहस हुने दिन भएकाले त्यही दिन काठमाडौँमा प्रदर्शनको तयारीस्वरूप विभिन्न विभिन्न सङ्घसंस्थासित छलफल गर्ने क्रम्मा ५ गते जनजातिसित छलफल थियो । अखिल नेपाल जनजाति सम्मेलनको तर्फबाट मैले आफ्नो धारणा यसरी राखेँ । आयोजक साथीहरूले दलितका समस्याहरूका सम्बन्धमा छलफल गर्नेभन्दा पनि अहिले चलिरहेको आन्दोलनलाई कसरी ठोस रूपमा अगाडि बढाउन सकिन्छ भन्ने कोणबाट यो कार्यक्रम तय गरिएको मैले महसुस गरेको छु ।
म सिधै विषयवस्तुमा प्रवेश गर्न चाहन्छु । रुकुम घटना घटिसकेपछि मलाई दुई वटा कुरा महसुस भइरहेको छ । अहिले हामी जुन समाजमा बाँचिरहेका छौँ, यस समाजमा अहिले एकै चोटि दुई वटा प्रवृत्ति विद्यमान छ भन्ने देखिन्छ : परम्परागत उच्चजातीय अहङ्कारवाद (अपर कास्ट साउभिनिज्म) र मानवताको पक्षपाती प्रगतिशील विचार (प्रोग्रेसिभ थट) । यो घटनामा फरक जाति वा समुदायसित प्रेम गरेकै आधारमा उसलाई कुट्नुपर्छ; सिध्याउनुपर्छ र मार्नुपर्छ भन्ने हदसम्म मानिसहरू निर्मम भएको देखियो । यो उच्चजातीय अहङ्कारवाद हो ।
दोस्रो कुरा, नवराज विकले आफूले प्रेम गरेकी ठकुरी बाबुसाहेबकी छोरीलाई दुलही बनाएर लिन जाने क्रममा जन्ती बनी मगर, खड्काक्षेत्री र शाही ठाकुरी जातका साथीहरू पनि सँगसँगै जाजरकोटबाट भेरी नदी तरेर पश्चिम रुकुमको चौरजहारी आएका थिए । यदि परम्परागत सोचाइको कुरा गर्नु हुन्छ भने त दलितजातिको विवाहमा कथित उपल्लो जातिका मानिस जन्ती बनेर हिँड्न मिल्दैन नि ! उपल्लो जातिको हुँ भन्नेको मनले मान्दैन नि ! तर त्यहाँ फरक–फरक जातका मानिस कथित तल्लो जातिको भनिएको व्यक्तिसित सँगसँगै जन्ती बनेर हिडेको देखियो । यो घटनाले समाजमा मानिसमा मान्छे मान्छे सबै समान हुन् भन्ने मानवतावादी प्रगतिशील सोचाइ पनि विकास हुँदै गइरहेको स्पष्ट हुन्छ ।
पहिलो प्रवृत्ति पुरानो र हार्ने प्रवृति हो भने दोस्रो प्रवृति नयाँ, उदीयमान र जित्नेवाला प्रवृत्ति हो । यस्तै मानवतावादी प्रगतिशील सोचाइलाई तपाईंहामीले समाजमा स्थापित गरेर नै उच्चजातीय अहङ्कारवादलाई परास्त गर्न सम्भव हुने छ ।
जातीय विभेदको विरुद्धमा कसरी अगाडि बढ्नेबारेमा मलाई लाग्छ, धेरै छलफल भइसकेको छ । कानुनी लडाइँ, सडक सङ्घर्ष र संसदको सङ्घर्ष आफ्ना ठाउँमा जायज छन् । ती सबै सङ्घर्षलाई अगाडि बढाउनुपर्दछ । तर चेतनामा परिवर्तन मुख्य कुरा हो । हामीले समाजमा देखेका छौँ कि एउटा दलितले कथित उपल्लोजातिको मानिसलाई के भन्छ भन्दाखेरि ‘हजुर विष्ट, हजुर बराजु ! हजुरहरू धुरी नै हो, हामी बलेनी हौँ’ । कथित उपल्लो जातको मानिसले आफूलाइ धुरी सम्झन्छ र अरूलाई बलेनी सम्झन्छ । यो सामन्ती चिन्तन हो । दलित वा गैरदलित सबैको दिमागमा युगौँयुगदेखि चिप्किएर बसेको धुरी र बलेनीको असमानतापूर्ण चिन्तन अर्थात् उचनिचको सम्बन्ध हटाएर समानताको सम्बध नबनाउन्जेलसम्म जातीय विभेद रहिरहने छ ।
जहाँसम्म कानुनी व्यवस्थाको कुरा छ, विभेदकारी वर्णव्यवस्थालाई वि.सं. १९१० को मुलुकी ऐनले लिखित रूपमा लिपिबद्ध गरेको थियो । २००७ सालमा राजनीतिक परिवर्तन भयो तर १९१० को मुलुकी ऐन परिवर्तन भएन । २०१५ को पहिलो संसदीय निर्वाचनबाट नेपाली काङ्ग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेको थियो, तर काङ्ग्रेसको सरकारले पनि १९१० को मुलुकी ऐनलाई परिवर्तन गर्ने र जातीय विभेदलाई अपराध भन्न सकेन । अर्काे कानुन बनाउन सकेन । पञ्चायती व्यवस्थामा वि.सं. २०२० मा अर्काे मुलुली ऐन बन्यो । त्यो ऐनले पहिलो पटक जातीय विभेद र छुवाछूत गलत मान्यो । तर त्यस्तो गल्ती गर्नेलाई के सजाय दिनुपर्दछ ? भन्न सकेन ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि पहिलो पटक २०४७ को संविधानले जातीय विभेद र छुवाछूतलाई दण्डनीय अपराध ठान्यो । तर नयाँ कानुन बनाइएन । सर्वाेच्च अदालतले २०४७ को संविधान र २०२० को मुलुकी ऐन बाझिएकाले संविधानअनुसारको कानुन बनाउन भनेको थियो । काङ्ग्रेस सरकारले बेग्लै कानुन बनाउन तयार भएन, बरु २०२० को मुलुकी ऐनलाई संशोधन गरेर २०४९ सालमा जातीय विभेद र छुवाछूत गरेमा तीन हजार रुपियाँसम्म जरिमाना वा एक वर्षसम्म कैद वा दुबै सजाय गर्न सकिने व्यवस्था गरियो ।
राष्ट्रिय जनमोर्चाले छुवाछूत अपराधसम्बन्धी ऐन बनाउन संसदमा पटक–पटक गैरसरकारी विधेयक प्रस्तुत गर्याे, तर कुनै पनि सरकार त्यसलाई छलफल गराउन तयार भएनन् । २०६८ मा मात्र जातीय विभेद तथा छुवाछूत अपराधसम्बन्धी कानुन बन्यो । चौरजहारी काण्डलाई केवल छुवाछूत अपराधको सजायले पुग्दैन, २०७४ को जातीय नरसंहार अपराध संहितानुसार चौरजहारी काण्डका अपराधीलाई आजीवन कैदको दण्ड दिएर ठेगान लगाउनुपर्छ भन्ने लाग्दछ । यसबारेमा आन्दोलनकारी साथीहरूले पक्कै पनि वकिल साथीहरूसित सल्लाह गर्नुभएको होला ।
त्यहाँ त्यसरी सङ्गठनको तर्फबाट मैले आफ्नो कुरा राखेँ । त्यहाँ रङ्गीबिरङ्गी जनजाति सङ्गठन थिए । त्यहाँ कुरा छुवाछूतको विरोधको छ, तर जनजातिहरू असान्दर्भिक पहिचानको कुरा दलितलाई सुनाइरहेका थिए । दलित आन्दोलनको मुद्दा पहिचानको मुद्दा हैन, पिछडा सङ्घका व्यक्तिले बाहुनको चर्काे विरोध गरेर भने– ‘बाहुनले बाटोमा एउटा ढुङ्गा राखेर बस्यो भने पनि बटुवाले देवता भन्दै पूजा गर्दछन्, बाहुनको जिन्दगी चल्छ । तर हामीले जति दुःख गरे पनि बाँच्न नसक्ने यही बाहुनवादी व्यवस्थाले गराएको छ । बाहुन अचम्मको जात हो, जसको चार वटा पाठेघर हुन्छन्– मुखमा, पाखुरामा, जाघमा र पैतालामा । हामीलाई उल्लु बनाएको छ बाहुनवादले ।’ काङ्ग्रेसका जनजातिले पूरा काठमाडौँलाई नाकाबन्दी गर्नुपर्छ भन्ने चर्काे कुरा गरे ।
२०७७ साउन ९ गते माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म जुलुस र त्यहाँ पुगेपछि सभा थियो । मेरो चासोको विषय के थियो भने ५ गते चर्का कुरा गर्नेहरू को को आएका छन् । तर ९ गतेको खास आन्दोलनको दिन ती चर्का कुरा गर्नेहरूमध्ये प्रायः थिएनन् ।
राष्ट्रियताको पक्षमा कार्यक्रम
२०७७ साउन १८ गते डिल्लीबजारको भान्साघरमा माथिल्लो कर्णाली प्रोजेक्टको म्याद थप्नु हुन्न भन्ने विषयलाई लिएर अन्तरक्रिया कार्यक्रम राखिएको थियो । म पुग्दा करिब ३० जना व्यक्तिहरू भौतिक दुरी कायम गरेर बसिरहेका थिए । सबै वक्ताहरूले जिएमआरको अवधि सकिएर पनि बसिरहेकाले छिटो बिदा गर्नुपर्छ भन्ने धारणा थियो ।
कोरोनाकालको तिज
सरकारले कोरोना सङ्कटका बेला घरघरमा बसेर तिज मनाउन भनेको थियो । यसपालिको तिजमा महिलाहरू पार्टी प्यालेसमा दर खाने बहानामा जम्मा हुन पाएनन् । चौर वा सार्वजनिक स्थानमा जम्मा भएर नाच्न गाउन पाएनन् । तैपनि केही कलाकारहरूले गीत निकाल्ने र गाउने; अनि भिजुअल गर्ने काम गरे । ‘बजेन किन तिजैको मादल ? खरी झर्याे कि मैले बजाउँदा खरी झर्याे कि ?’ भन्ने बोलको प्रीती आलेको गीतमा प्रसारित एउटा टिकटक निकै भाइरल भयो । भर्खरकी युवती डाक्टर, डाक्टरकै सेतो पोसाक, घाँटीमा आला भिरेको बजेन किन तिजको मादल गीतमा ती डाक्टर नाच्न थाल्छिन् । हस्पिटलको बेडमा पल्टिइरहेकी बिमारी ब्युँझेर बेडमा बसेर डाक्टरको नाचको तालमा ताली पिट्न थाल्छिन् । साँच्चै यो बिपत्तिका बेलामा त्यो कति हृदयस्पर्शी दृष्य थियो ? त्यो हेरी हेरी धेरै भावुक भएको हुनु पर्छ । बिपत्तिकै बेला भए नि चुप लागेर बस्नु हुन्न भन्ने हिसाबले मनुले केही साथीहरूको तिज गीत सङ्कलन गरिनँ । त्यसको हार्डकपी र सफ्टकपीलाई वितरण गर्न मैले पनि मद्दत गरे ।
सामाजिक कार्य
साउन १३ गते मात्र दुःखद खबर सुन्यौँ । रक्तिम सांस्कृतिक अभियानका कलाकार कमला केसीका दाइ कृष्ण केसीको वीर अस्पतालमा मृत्यु भएछ ।
कञ्चनपुरका लोकेन्द्र लम्सालजीका छोरा निमेष लम्साल करिब १४ दिनसम्म बिमारीसित खटेको पाइयो । कमै मान्छे मात्र त्यसरी खट्न सक्छ । साँच्चै त्यो योगदान कदर गर्नयोग्य छ । दौडिँदै मनु र म वीर अस्पताल पुग्यौँ । निमबहादुर बुढाथोकी, म, रामप्रकाश पुरी, लालबहादुर थापा, नारायण शर्मासहितले शब आर्यघाट पुर्याएर दाहसंस्कार गर्यौं ।
पाल्पा जिल्ला रामपुर नगरपालिका–१० का सुनिता विक (वर्ष ३०) गङ्गालाल अस्पताल बाँसबारीमा उपचार गराउन आएको बेखर्ची अवस्थामा पुगेका बेला साथीभाइलाई हारगुहार गरेर केही रकम जुटाइयो । अन्त्यमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य घनश्याम न्यौपानेजी र म भाद्र १० गते गएर बिमारीको अभिभावकलाई रकम हस्तान्तरण गरेका थियौँ ।
भाद्र १८ गते दाङबाट राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश अचार्यले आर्यघाट जान भन्नुभयो । विमल पोखरेल र म त्यता लाग्यौँ । मानबहादुर ओलीका नातिको अस्पतालमा मृत्यु भएको रहेछ । दाहसंस्कारमा पुग्नुपर्छ भन्ने गणेशजीको भनाइ ठिकै लाग्यो । कोरोना सङ्कटका बेला यस्तै सामाजिक कार्यमा पनि केही समय ब्यतित भयो ।
मजदुरको बिचल्ली
लकडाउनले सबभन्दा बिचल्ली मजदुरको भयो । लगातार काठमाडौँको खुल्लामञ्चतिर खाना वितरण भइरहेको छ । बुटवलमा निजी विद्यालयका शिक्षक मीन रानाले लकडाउनमा शिक्षकले तलब–सुविधा नपाएकोबारेमा एकल व्यक्ति विरोध कार्यक्रम गरेका थिए ।
साहित्यप्रतिको रुचि
अनलाइन साहित्यिक कार्यक्रममा सहभागी भइयो । यसबिचमा प्रगतिशील लेखक सङ्घ रूपन्देहीले अनलाइन प्रशिक्षण कार्यक्रम राख्यो । म त्यसमा पनि सहभागी भएँ । लेखनकार्यमा ध्यान दिनुपर्ने केही टिप्स नोट गरियो । ए, ए, बी, ए को नियमानुसार गठित चार लाइनको रचना मुक्तक हो भन्ने मेरो बुझाइ थियो । तर दुई लाइनदेखि सात लाइनसम्मको रचना मुक्तक हुने कुरा त्यसै प्रशिक्षणमा मुरारी सरबाट सुनेँ । कतिलाई पुरानो कुरा भए पनि मलाई त्यो नयाँ लाग्यो ।