काठमाडौं । नेपालका प्रगतिशील लेखकहरुले भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरभणेको नेपाल भ्रमण रद्द गर्न माग गरेका छन् । ९३ जना लेखक तथा साहित्यकारले सोमबार एक विज्ञप्ति जारी गर्दै नरभणेको नेपाल भ्रमण रद्द गर्न माग गरेका हुन् ।
नेपालीलाई होच्याउने र अपमानित गर्ने भारतीय सेनाध्यक्षको नेपाल भ्रमण रद्द गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
‘पदीय मर्यादासमेत ख्याल नगरेर नेपालका प्रधानमन्त्रीले नेपाल र नेपालीहरूको नै अपमान हुनेगरी भारतीय गुप्तचर संस्था रअको प्रमुख सामन्त गोयलसँग रहस्यमय वार्ता गर्नु र हुँदा हुँदै नेपालको अर्को छिमेकी मुलुकलाई अनाहकमा मुछेर तथा नेपाललाई होच्याएर दुर्वचन बोल्ने भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई नेपालमा निम्ता गरेर राष्ट्रपतिबाट मानार्थ महारथीको सम्मान दिने तयारी आपत्तिजनक छ ।’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भारतद्वारा जबर्जस्ती आफ्नो नक्सामा समावेश गरिएको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपाली जनताको व्यापक दवावपश्चात् नेपालको नक्सामा समावेश गरेको नेपाल सरकारले आफ्नो भूमि नक्सामा मात्र नभई यथार्थमै अधिकारमा लिने थप पहल र पैरवी गर्नु पर्ने बेलामा नयाँ नक्साबारे नयाँ पुस्ताका विद्यार्थीहरूका निम्ति तयार पारेको पाठ्यपुस्तक वितरणमा रोक लगाएर उल्टो काम गरेको समेत आरोप छ ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीले दसैँ सन्देश प्रसार गर्दा प्रदर्शित पुरानो नक्सायुक्त निसानको प्रयोग समेतले अहिलेको सरकार छली राष्ट्रवादको अभ्यासमा लिप्त रही मुलुकको सार्वभौमिकतालाई सत्तास्वार्थसँग विनिमय गर्न लागिरहेको बोध हुन थालेको छ ।’
प्रगतिशील साहित्यकार निनु चापागाईं, प्राडा. जगदीशचन्द्र मण्डारी, रोशन जनकपुरी, इस्माली, आहुतीलगायत ९३ जना साहित्कर्मीहरुले आफ्नै देशका समेत प्रतिनिधि संलग्न रहेको ईपीजीले तयार पारेको द्विदेशीय सम्बन्धका विवाद र समाधानसम्बन्धी प्रतिवेदन वर्षदिन बितिसक्दा पनि बुझ्न अस्वीकार गर्ने दम्भी भारतीय नेतृत्वका सामु सरकारले घुँडा टेक्न थालेको समेत आरोप लगाएका छन् ।
विज्ञप्तिमा सहअस्तित्व अस्वीकार गर्ने हेपाहा प्रवृत्तिलाई सम्मान गर्नु भनेको स्वयम् अपमानित हुनु भएको उल्लेख गर्दै नरवणेले बोलेको दुर्वचन फिर्ता नलिएसम्म नेपाल भ्रमण रद्द गर्न माग गरिएको छ ।
यसका साथै नेपाली सेनाको मानार्थ अध्यक्षको सम्मान दिने कार्य अन्त्य गर्न तथा भारतीय सेनामा नेपाली युवाहरूलाई लैजाने गोर्खा भर्ती केन्द्रसमेत सदाका लागि बन्द गर्न उनीहरुले माग गरेका छन् ।