काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि बेलायतमा दोस्रोपटक लकडाउन घोषणा गरिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले ‘मेडिकल र नैतिक विपत्’ रोक्न दोस्रो राष्ट्रव्यापी लकडाउन घोषणा गरेका बीबीसले जनाएको छ ।
पबहरू, रेष्टुरेन्ट, जीम र अति आवश्यक सेवामा नपर्ने पसल सबै चार हप्ताका लागि बन्द गरिने उनले बताए । तर यस अघिको लकडाउनमा बन्द गरिएका स्कूल, कलेज र विश्वविद्यालय यस पटक खुला रहन सक्नेछन्।
डिसेम्बर २ देखि प्रतिबन्ध खुकुलो गरिने भएपनि ठाउँ ठाउँमा प्रतिबन्ध भने लागिरहन सक्छ । एप्रिलमा भन्दा नराम्रो सङ्क्रमण दर र मृत्यु दरका कारण ‘कुनै पनि जिम्मेवार प्रधानमन्त्रीले’ त्यसलाई नजरअन्दार गर्न नसक्ने प्रधानमन्त्री जोन्सनको भनाइ छ ।
अहिले सङ्क्रमण तुलनात्मक रूपमा कम रहेको इङ्गल्यान्डको दक्षिण पश्चिमी क्षेत्रका अस्पताल समेत केही दिनमा बिरामीको चाप थेग्न नसक्ने अवस्थामा पुग्ने जोन्सनले बताए ।
मानिसहरूलाई विशेष कारण नभै घर बाहिर ननिस्कन भनिएको छ । बिरामी परेमा घर बाहिर निस्कन पाइनेछ। त्यस्तै खाद्यान्न र अन्य अत्यावश्यक बस्तु किनमेल गर्न र जोखिममा रहेका मानिसलाई सहयोग गर्न वा स्वयम्सेवा गर्न पनि घर बाहिर निस्कन पाइनेछ ।
घरबाहिर वा निजी बगैचामा पनि समूहमा भेटघाट गर्न प्रतिबन्ध छ । तर सार्वजनिक स्थानमा एक अर्कालाई भेट्न पाइनेछ । पब, बार, रेस्टुरेन्ट र अत्यावश्यकमा नपर्ने खुद्रा पसल सबै बन्द रहनेछन् तर टेकअवे जस्ता पसल खोल्न पाइनेछ । जीमहरू लगायत मनोरन्जनस्थलहरू बन्द रहनेछन् । निर्माणस्थल र उद्योगहरू खुला रहन सक्नेछन् ।
यदि छुट्टिएर बसेका बाबुआमा छन् भने छोराछोरी बाबु वा आमाकहाँ जान पाउनेछन् । जोखिममा रहेका मानिसहरूलाई विशेष सावधानी अपनाउन भनिएको छ ।
यसअघि यही वर्षको मार्च २३ देखि पहिलो पटक बन्दाबन्दी गरेर जुलाईमा खुला गरिएको थियो ।
