काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यतामा अखिल नेपाल प्रगतिशील लेखक सङ्घको भर्चुअल अन्तरक्रिया हुने भएको छ । अक्टोबर क्रान्तिको स्मरणमा आगामी कार्तिक २२ गते हुन गइरहेको कार्यक्रमबारे सङ्घले यस्तो निर्णय गरेको हो ।
सङ्घका अध्यक्ष डा. गोविन्दप्रसाद आचार्यको हस्ताक्षरमा जारी प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको छ । आज बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले सो निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रीय पदाधिकारीको हेरफेर, साहित्यकारहरूको तथ्याङ्क सङ्कलन र केन्द्रीयस्तरको मासिक कार्यक्रमबारे जानकारी दिइएको उक्त प्रेसविज्ञप्तिको पूर्ण पाठ यस्तो छ–
“यही २०७७ कार्तिक १५ गते अखिल नेपाल प्रगतिशील लेखक सङ्घ केन्द्रीय समितिको भर्चुअल बैठक अध्यक्ष डा. गोविन्दप्रसाद आचार्यको अध्यक्षतामा बसी निम्नलिखित निर्णयहरू गरिएको जानकारी गराउँछौँ ।
१. अक्टोबर क्रान्तिको स्मरणमा आगामी २०७७ कार्तिक २२ गते सम्पन्न हुन गइरहेको ‘विश्व साहित्यमा अक्टोबर क्रान्तिको प्रभाव’ विषयक भर्चुअल अन्तरक्रिया मा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई बनाउने निर्णय भयो । कार्यक्रममा अवधारणा पत्र वरिष्ठ साहित्यकार तथा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको रहने छ ।
२. केन्द्रीय समितिका उपाध्यक्ष अपत्य शर्मा र सल्लाहकार शशिधर भण्डारीलाई अन्य सङ्गठनमा रहनुभएकाले केन्द्रीय समितिबाट पदमुक्त गरियो । यसरी उपाध्यक्षमा निवर्तमान कोषाध्यक्ष साधुराम नेपाललाई चयन गरियो भने त्यसपछि रिक्त रहेको कोषाध्यक्षमा प्रकाश थापामगरलाई चयन गरियो ।
३. अखिल नेपाल प्रगतिशील लेखक सङ्घसम्बन्ध देशभरिका साहित्यकारहरूको तथ्याङ्क सङ्कलन गर्ने निर्णय भयो । त्यस कार्य सम्पन्न गर्न सुदूरपश्चिममा बाबुराम आचार्य, कर्णाली प्रदेशमा गिरीप्रसाद बुढामगर, लुम्बिनी प्रदेशमा मीन राना, गण्डकी प्रदेशमा समीर सिंह, बागमती प्रदेशमा प्रकाश थापामगरलाई जिम्मा दिइयो भने १ नं. प्रदेश र २ नं. प्रदेशमा साहित्यकारको तथ्याङ्क तयार पार्ने जिम्मा केन्द्रीय कार्यालयलाई दिइयो ।
४. सङ्घले प्रत्येक महिनाको मसान्तका दिन केन्द्रीयस्तरमा मासिक कार्यक्रम गर्ने निर्णय भयो । त्यसका लागि केन्द्रीय सचिव गिरीप्रसाद बुढाको संयोजकत्वमा मीन राना र मनु विक रहनुभएको उपसमिति गठन गरिएको छ । मासिक कार्यक्रममा सैद्धान्तिक, वैचारिक, साहित्यिक र सांस्कृतिक विषयमा अन्तक्र्रिया, रचना वाचन, पुस्तक समीक्षा, प्रशिक्षणलगायतका विषय समावेश गरिने छन् ।”

