तिलक थापा, बागलुङ ।
राष्ट्रिय जनमोर्चा गलकोट नगरपालिका वडा नं. ५ वडा समितिले राजमो नेता एवं समाजसेवी लिल बहादुर खत्रीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । वडा समितिका सदस्य गलकोट नगरपालिका–५, हरिचौर निवासी खत्रीको कात्तिक ४ गते ६२ वर्षको उमेरमा निधन भएको थियो ।
खत्रीको निधन भएको आठौं दिनमा बुधबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार बेदिलाल सापकोटा, राष्ट्रिय जनमोर्चा गलकोटका अध्यक्ष टंक बहादुर केसी, अखिल नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष मित्रदत्त ढकाल, राष्ट्रिय जनमोर्चा गलकोट नपा वडा नं ५ का अध्यक्ष अम्मर बहादुर खत्री लगायतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो।
तत्कालीन हिल गाविस–९ मा राष्ट्रिय जनमोर्चाका तर्फबाट २ कार्यकाल वडा अध्यक्ष तथा काक्राखोर अधारभूत माविका विद्यालय व्यवस्थापन समितिमा २ कार्यकाल अध्यक्ष समेत भईसक्नु भएका खत्रीको उपचारका क्रममा मृत्यु भएको थियो ।
१७ वर्ष भारतीय सेनामा जागिर खाएका खत्री अवकाशपछि पार्टीको काम र सामाजिक कार्यमा अत्यन्तै क्रियाशील हुनुहुन्थ्यो । राष्ट्रिय जनमोर्चाले नेता खत्रीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
मृतक खत्रीका श्रीमती, ३ छोरा, ३ छोरी, १ बुहारी, २ नाति र ३ जना नातिनी रहेका छन् ।
राजमो नेता तथा समाजसेवी खत्रीको निधन