काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घले अक्टोबर क्रान्ति दिवसको सन्दर्भ पारेर “विश्व साहित्यमा अक्टोबर क्रान्तिको प्रभाव” विषयमा भर्चुअल अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ । आगामी २०७७ कार्तिक २२ गते, तदनुसार नोभेम्बर ७, २०२० का दिन सो कार्यक्रम हुने भएको हो ।
अखिल नेपाल प्रगतिशील लेखक सङ्घका अध्यक्ष डा. गोविन्द आचार्यले दिनुभएको जानकारीअनुसार “विश्व साहित्यमा अक्टोबर क्रान्तिको प्रभाव” विषयक उपर्युक्त अन्तर्क्रियामा नेकपा (मसाल) का महामन्त्रीसमेत रहनुभएका वरिष्ठ प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहद्वारा लिखित अवधारणा पत्र प्रस्तुत हुने भएको छ ।
“अक्टोबर क्रान्तिले विश्वको साहित्यमा युगान्तकारी प्रभाव पारेको थियो” युगदर्शनसित प्रतिक्रिया दिँदै अध्यक्ष डा. गोविन्द आचार्यले भन्नुभयो– “त्यो प्रभावका बारेमा सङ्क्षिप्तमा चर्चा गर्नका लागि हामीले यो कार्यक्रमको आयोजना गरेका हौँ ।”
त्यस्तै, आगामी दिनमा अखिल नेपाल प्रगतिशील लेखक सङ्घको ब्यानरमा प्रगतिशील÷प्रगतिवादी साहित्यसित सम्बन्धित थप कार्यक्रम गरिने जानकारी उहाँले दिनुभयो ।
उहाँले कार्यक्रमको विस्तृत रूपरेखा दसैँपछि जानकारी दिइने पनि बताउनुभयो ।